शिखर इन्स्योरेन्सको २९% लाभांश र ३०% हकप्रद पारित, सर्वसाधारण सेयरधनीको हिस्सा बढ्यो
काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले प्रस्तावित २९.२३१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पुँजीमा २७.७६९ प्रतिशत हुने बोनस सेयर र साे बोनस सेयरको कर प्रयोजनार्थ आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पुँजीमा १.४६२ प्रतिशत हुने) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हाे । प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा घटेको छ भने सर्वसाधारणको बढेको छ । संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याएको छ । यससँगै कम्पनीको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भएको इन्स्योरेन्सले जनाएको छ । त्यसैगरी, बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । कम्पनीको सभाले अधिकृत पुँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ । कम्पनीले आज (चैत ९ गते) १५औं र १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न गरेको हो । संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । साथै, सभाले दुबै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण उपर छलफल गरी सोलाई समेत पारित गरेको छ । यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट २ जना संचालकका लागि निर्वाचित भएका छन् । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मेगा बैंकले बीमा बापत भुक्तानी गर्याे ७ लाख रुपैयाँ
काठमाडौं । मेगा बैंक नेपालले दुर्घटनामा परि ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बीमा बापतको रकम सात लाख रुपैँया प्रदान गरेको हो । कर्मचारी शर्माको विद्युत लाइन मर्मतका क्रममा २०७७ भदौ २९ गते मृत्यु भएको थियो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशब आचार्य लगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बीमा बापतको रकम हस्तान्तरण गरेका हुन् । न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैंयासम्मको व्यवस्था गरिएको छ ।
काेहलपुरमा महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले शुक्रबार कोहलपुरमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेकाे छ । कम्पनीले सातै प्रदेशमा उक्त तालिम संचालन गर्न क्रममा शुक्रबार कोहलपुरमा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखलाई तालिम प्रदान गरेकाे हाे । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धिकरण सम्बन्धी उक्त तालिम प्रदान गरेकी हुन्। दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ०५गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत श्री कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।