करिब डेढ महिनापछि खुल्यो राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार, मूल्य बढ्यो
काठमाडौं । करिब डेढ महिनापछि राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार खुलेको छ । गत माघ १८ गतेदेखि रोकिएको कम्पनीको सेयर कारोबार आज (चैत ३ गते)देखि मात्रै खुलेको हो । वार्षिक वित्तीय विवरण लेखापरीक्षण नगरेको र त्रैमासिक वित्तीय विवरण पनि नियमित रुपमा नबुझाएको भन्दै नेपाल स्टक एक्स्चेञ्जले गत माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार बन्द गरिदिएको थियाे । यससँगै, कम्पनीले आफ्नो वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु लगानीकर्ता तथा अन्य सरोकारवालाले हेर्न मिल्ने गरी नेप्सेको वेवसाइटमा अपलोड गरिएसँगै नेप्सेले कम्पनीको सेयर कारोबार खुला गरिदिएको हो । साथै, अबका दिनमा माग भएबमोजिमका वित्तीय विवरणहरु पठाउने कम्पनीले प्रतिवद्धता गरेको छ । कारोबार खुलेसँगै कम्पनीको सेयर मूल्य पनि बढेको छ । यो समाचार तयार पार्दा (१२ बजेर ४२ मिनेट जाँदा)सम्म कम्पनीको सेयर मूल्य ४८० रुपैयाँले बढेर प्रतिकित्ता १७ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । जुन कारोबार खुल्दाकाे मूल्यको तुलनामा २.८८ प्रतिशतले बढेको हो । (चैत २ गते) सोमबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ हजार ६७० रुपैयाँमा खुलेको थियो । सम्बन्धित समाचार राष्ट्रिय बीमा कम्पनीकाे ४४ अर्ब ४४ कराेडकाे सेयर काराेबार राेक्का, कसकाे नियत के ?
ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा ऐतिहासिक रेकर्ड, १८ लाख बढीले भरे सेयर
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर ( आईपीओ)मा १८ लाखभन्दा बढीले आवेदन दिएका छन् । जुन नेपालको इतिहासमै हालसम्मकै उच्च आवेदन हो । आईपीओ निष्काशन गरेको अन्तिम दिन अर्थात फागुन २६ गते साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४ हजार ३४८ जना आवेदकले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकोभन्दा ६.४० गुणा बढी आवेदन हो । हालसम्म सबै सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सम्पूर्ण डाटा अपडेट नभइसकेकाेले यसमा बृद्धि हुन सक्ने छ । कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेकाे हाे । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेकाे मध्यमस्तरकाे सुरक्षित कम्पनी जनाउँछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।
वैदेशिक रोजगारीमा जानेहरूले बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सक्ने
काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्योति लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको छ । यसरी बीमा गरेपछि रोजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहोनेर्छ । म्यानपावर कम्पनी र रोजगारीमा जाने व्यक्तिहरु यस्तो बीमा रकम स्वयंले गर्नुपर्छ । सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामुहिक रुपमा जीवनको बीमा गर्छन् । बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेको वैदेशिक रोजगार विभाग बीमामा ट्याप गरेर आफ्नो पासपोर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ । मागेको विवरण सबै भरेपछि तोकिएको शुल्क खल्ती एपबाट भुक्तानी गर्न सकिन्छ । शुल्क भुक्तानी गरेपछि व्यक्तिको बीमा पोलिसी तयार हुन्छ र त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सकिनेछ । यसले वैदेशिक रोजगारीमा जानेहरूलाई निकै सहज हुने कम्पनी बताउँछ ।