सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुको ४८ अर्ब ३३ करोड लगानी, कसको कति ?
काठमाडौं । पुँजी बजारका संस्थागत लगानीकर्तामध्ये बीमा कम्पनीहरु एक प्रमुख हुन् । कम्पनीहरुले बीमा शुल्कबाट प्राप्त भएको रकम नियामक निकायले तोकेको सीमामा रहेर पुँजी बजारका विभिन्न औजारहरुमा लगानी गर्ने गरेका हुन्छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार अहिले संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयर तथा बैंक वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा गरी ४८ अर्ब ३३ करोड ४५ लाख १२ हजार रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा व्यवसाय गर्ने कम्पनी मेट लाइफले भने यी दुबै क्षेत्रमा लगानी गरेको छैन । जीवन बीमा कम्पनीहरुले यी दुबै क्षेत्रमा गरेको लगानीमध्ये सूचीकृत पब्लिक कम्पनीहरुको सधारण सेयरमा १७ अर्ब ७२ करोड १२ लाख १२ हजार रुपैयाँ र वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा ३० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुले गरेको यो लगानी चालु आर्थिक वर्षको दोस्रो त्रैमास (गत पुस मसान्त) सम्मको हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको अग्राधिकार सेयर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न पाउने सीमा तोकेको छ । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी गर्नेमा सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान अग्रस्थानमा छ । संस्थानले गत पुस मसान्तसम्ममा ५ अर्ब ४५ करोड ६२ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी गर्ने दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३ अर्ब ४३ करोड ८३ लाख ५२ हजार रुपैयाँ लगानी गरेको छ । यस्तै, लाइफ कर्पाेरेसन नेपालले २ अर्ब ५९ करोड ८२ लाख ६१ हजार रुपैयाँ साधारण सेयरमा लगानी गरेको छ ।
ज्योति लाईफका प्रत्येक कर्मचारीले १ हजार १५ कित्ता आईपीओ पाउने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सका प्रत्येक कर्मचारीले १ हजार १५ कित्ता आईपीओ पाउने भएका छन् । कम्पनीले फागुन २१ गते अर्थात शुक्रबारदेखि निष्काशन गर्ने प्राथमिक सेयर (आईपीओ)मा सो कम्पनीमा काम गर्ने कर्मचारीहरुले १ हजार १५ कित्ता सेयर पाउने भएका हुन् । कम्पनीले कर्मचारीका लागि कुल निष्काशित सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सेयर छुट्याएको छ । हाल कम्पनीमा ३ सय २८ जना कर्मचारी रहेका छन् । ३ लाख ३० हजार कित्ता सेयर ३ सय २८ जना कर्मचारीलाई भाग लगाउँदा १ हजार १५ कित्ता सेयर भागमा पर्छ । कम्पनीले शुक्रबार एक सय रुपैयाँ अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामुहिक लगानीकर्तालाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारण नागरिकहरुका लागि निष्काशन गरिएको छ । कम्पनीका अनुसार सर्वसाधारणले ६ दिनभित्र अर्थात फागुन २६ गतेसम्म आवेदन गरिसक्नु पर्नेछ । फागुन २२ गते शनिवार र २४ गते महिला दिवस परेकोले आईपिओको बिक्री ६ दिनसम्म हुने भएको छ । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् । तर सबैलाई पर्न सक्ने सम्भावना भने न्यून छ । आईपीओ बिक्री भइसकेपछि २ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी हुने कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई तोकेको छ । उक्त सेयर निष्काशनको लागि संस्थाले केयर नेपालबाट त्रिबल बी को रेटिङ पाएको छ । सम्बन्धित सामग्री ज्योति लाइफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना
ज्योति लाईफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले फागुन २१ गते अर्थात शुक्रबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्दैछ । सर्वधारणले शक्रबारदेखि आवेदन दिन सक्ने किसिमले कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनका लागि स्वीकृती पाएसँगै कम्पनीले एक सय रुपैयाँ अंकित दरकाे ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीलाई, ३ लाख ३० हजार कित्ता सामुहिक लगानीकर्तालाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि निष्काशन गरिएको हाे । कम्पनीका अनुसार सर्वसाधारणले ६ दिनभित्र अर्थात फागुन २६ गतेसम्म आवेदन गरिसक्नु पर्नेछ । फागुन २२ गते शनिवार र २४ गते महिला दिवस परेकोले आईपीओ भर्ने समय ६ दिनसम्म हुने व्यवस्थाः गरेकाे हाे । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् । तर सबैलाई पर्न सक्ने सम्भावना भने न्यून छ । आईपीओ बिक्री भइसकेपछि २ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी हुने कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई तोकेको छ । उक्त सेयर निष्काशनको लागि संस्थाले केयर रेटिङ नेपालबाट त्रिबल बी को रेटिङ पाएको छ । कम्पनीको परिचय ज्याेति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित भई बीमा ऐन, २०४९, बीमा नियमावली २०४९ बमोजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने इजाजत प्राप्त संस्थाका रुपमा स्थापित भएको हो । यो इन्स्योरेन्स कम्पनी २०७४ बैशाख २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले बीमा समितिबाट बीमा ऐन, २०४९ अनुसार मिति २०७४ असार २० मा बीमकको हैसियतले जीवन बीमा कारोवार गर्न स्वीकृति तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७४ कात्तिक २२ गते कारोबार संचालनको स्वीकृति प्राप्त गरी आफ्नो कारोवार सञ्चालन गर्न गर्दै आएको छ । कम्पनीका संस्थापकहरुमा समाजसेवी, व्यवसायी, उद्योगपति, बीमा क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरुको संलग्नता रहेको छ भने कम्पनीले स्थापनाकालदेखि नै मुनाफा आर्जन गर्न पनि सफल भएको छ । प्रतिष्ठीत बीमा कम्पनीको रुपमा स्थापित भई सबै तह तप्कामा रहेका जनमानसमा जीवन बीमा सेवा उपलब्ध गराउनुका साथै लगानीकर्ताहरुलाई उचित प्रतिफल प्रदान गर्नका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुलाई उचित पारिश्रमिक प्रदान गरी दक्ष कर्मचारीलाई रोजगारीको अवसर प्रदान गर्ने उद्धेश्यका साथ स्थापना भएको ज्योती लाईफ इन्स्योरेन्स नवीनतम बीमा योजनाद्वारा ग्राहकलाई आकर्षक प्रतिफल सहित जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा समेत प्रदान गर्दै आएको छ । यस कम्पनीले क्यालिटी म्यानेज्मेन्ट सिस्टम पालना गरेबापत २०१५ मा नेपाली जीवन बीमा कम्पनीहरुमध्ये आइएसओ सर्टिफिकेट प्राप्त गर्ने पहिलो नेपाली जीवन बीमा कम्पनी रहन सफल भएको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा महानगरपालिका वडा नं. ९ कास्की जिल्लामा रहेको छ । कम्पनीको कारोवार गर्ने मुख्य स्थान काठमाडौंकाे काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा रहेको छ भने आवश्यकता अनुसार बीमा समितिको स्वीकृति लिई नेपालभर तथा विदेशमा आफ्नो शाखा, उपशाखा तथा सम्पर्क कार्यालय खोली कारोबार गर्न सक्ने उल्लेख गरेको छ । हाल यस कम्पनीले देशको विभिन्न ठाउँमा १ सय १८ वटा शाखा तथा उपशाखाहरु विस्तार गरी सेवा प्रवाह गर्दै आएको छ । कम्पनीको उद्धेश्य कम्पनीले देशमा रहेका विभिन्न जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट र नागरिकलाई सहज ढंगले सेवा दिनको लागि विभिन्न उद्धेश्य तथा रणनीतिहरु अघि सारेको छ । प्रचलित बीमा सम्बन्धी कानुनको परिधि भित्र रही सबै किसिमका जीवन बीमा ब्यवसाय गर्ने गराउने, जीवन बीमा व्यवसायको लागि आवश्यक पर्ने पुनर्बीमा व्यवसाय गर्ने गराउने,पुनर्बीमाको व्यवसाय स्वदेश तथा विदेशमा गर्ने गराउने लगायतका उद्धेश्यहरु कम्पनीले लिएको छ । यस्तै, कम्पनीले पूँजी, बीमा, पुनर्बीमा व्यवसाय, लगानी प्रतिफल तथा अन्य आम्दानीबाट प्राप्त भएको विभिन्न क्षेत्रमा लगानी गर्ने गराउने, जोखिम व्यवस्थापन गर्ने/गराउने तथा जोखिम व्यवस्थापन सम्बन्धी सल्लाह प्रदान गर्ने पनि उद्धेश्यहरु अघि सारेको छ । राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउने, कृषि, औद्योगिक, पर्यटन, वित्तीय, पूर्वाधार निर्माण लगायतका सम्बन्धी सहायक तथा अन्य कम्पनीको स्थापना, प्रबर्द्धन तथा व्यवस्थापन गर्ने गराउने र प्रचलित मान्यता र स्थापित सिद्धान्तको आधारमा जीवन बीमा व्यवसाय गर्नको लागि आवश्यक पर्ने सबै कार्यहरु गर्ने गराउने लगायतका उद्धेश्यहरु लिएर कम्पनी अगाडि बढेकाे छ । यस्ताे छ कम्पनीकाे भावी योजना कम्पनीले समय सापेक्ष नयाँ उत्पादन तथा सेवाको विकास गरी सम्भाव्य ग्राहकहरुको पहिचान गरेर आफ्नो व्यापार गर्ने योजना लिएकाे छ । हाल कम्पनीले ज्योति सुरक्षित बचत जिवन बीमा (सावधिक), ज्योति सुनौलौ भविश्य बाल जीवन बीमा (सावधिक), ज्योति धनलाभ जीवन बीमा (अग्रिम भुक्तानी सवाधिक) र ज्योति सुरक्षित भविश्य जीवन बीमा सवाधिक तथा आजिवन) बीमा कार्यक्रम तथा योजना लिएर बजारमा आएको छ । यस्तै, ज्योति म्यादि जीवन बीमा, ज्योति एकल तथा सिमित अवधि सावधिक जीवन बीमा लेख, ज्योति थ्री ट्वेन्टी धन बहार जीवन बीमा योजना र ज्योति इजि पे जीवन बीमा योजनाहरु सञ्चालन गरिरहेको छ । कम्पनीले हाल सञ्चालनमा रहेका ११८ वटा शाखाहरुबाट प्रदान गरिरहेको सेवाको गुणस्तर समय सापेक्ष सुधार गरी बीमितलाई यथासिघ्र दावी फर्छयौट गरी प्रतिस्पर्धी बीमा सेवा उपलब्ध गराउने रणनीति लिएको छ । कम्पनीले आगामी दिनहरुमा आफ्नो व्यवसाय वृद्धिका लागि बीमा गरेका व्यक्तिहरुलाई उपर्युक्त र समयमा नै सेवा उपलब्ध गराउने, भविश्यमा ग्राहकहरुको माग भए बमोजिमका नयाँ सेवा सुविधाहरु आफ्ना ग्राहकमा ल्याइने, ग्रामिण क्षेत्रमा आर्थिक रुपमा कमजोर रहेका मानिसहरुमा बीमा सेवा पुर्याउने, जीवन बीमा सेवालाई समाजका सबै वर्गलाई समेटिने गरी उपर्युत्त बीमा योजना तर्जुमा गरी गुणस्तरीय बीमा सेवा प्रदान गरिने योजना बनाएको छ । यस्तै, कम्पनीले मानव संसाधन विकास र शाखा कार्यालय विस्तारमा पनि योजनाहरु बनाइरहेको छ । जसअन्तर्गत ७७ वटै जिल्लामा शाखा पुर्याउने रणनीति कम्पनीको छ । यस्तै,बीमक अभिकर्ता तालिम एवम् वृति विकास, संस्थागत शुशासन लगातयमा विषयमा पनि योजनावद्ध तरिकाले अगाडि बढ्ने योजना कम्पनीले बनाएको छ । कम्पनीको पुँजी संरचना यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रहेको छ । जसलाई प्रति सेयर १ सयका दरले ३ करोड साधारण सेयरमा विभाजन गरिनेछ । यस्तै कम्पनीको जारी पुँजी भने २ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीको तत्कालको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । साधारण सेयर निश्कासन भएर बिक्री भइसकेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० कारोड रुपैयाँ हुने बताइएको छ । प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व कम्पनीको संस्थापक शेयरधनीहरुको सेयर ७० प्रतिशत अर्थात १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सेयर बिक्री भइसकेपछि भने शेयरधनीको ७० प्रतिशत अर्थात १ अर्ब ५४ करोड रुपैयाँ र सर्वसाधारणको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ हिस्सा हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५ मा २७ करोड ४२ लाख १९ हजार, आव २०७५/0७६ मा ९७ करोड ८७ लाख ४९ हजार र आव २०७६/७७ मा १ अर्ब ८१ करोड ४३ लाख ६ हजार रुपैयाँ बीमाको प्रिमियमबाट खुद नाफा गरेको छ । यस्तै, आगामी आव २०७७/०७८ मा २ अर्ब ७९ करोड ५३ लाख, आव २०७८/८९ मा ४ अर्ब ३६ करोड ३७ लाख ३० हजार र आव २०७९/८० मा ६ अर्ब १७ करोड २४ लाख ४२ हजार रुपैयाँ बीमाको प्रिमियमबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ । कम्पनीले २०७४/०७५ मा १२ करोड ८ लाख २३ हजार, आव २०७५/७६ मा १८ करोड २० लाख ३१ हजार रुपैयाँ र आव २०७६/७७ मा १९ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो भने आगामी आव २०७७/७८ मा २६ करोड ८३ लाख ९१ हजार, आव २०७८/७९ मा ३३ करोड ७३ लाख ४७ हजार रुपैयाँ र आव २०७९/८० मा ३९ करोड ३६ लाख ६२ हजार रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ । यस्तै, कम्पनीको आर्थिक वर्ष २०७३/०७४, २०७४/०७५,२०७५/०७६ र आव २०६६/०७७ मा क्रमशः १००.६३, १०८.४७, १२०.२९ र १३२.९४ रुपैयाँ प्रति सयर नेटवर्थ रहेको थियो । आगामी आर्थिक वर्ष २०७७/७८, २०७८/८९ र २०८९/०८० मा क्रमशः १३५.२६, १५०.५९ र १६८.४९ रुपैयाँ प्रतिशेयर नेटवर्थ हुने प्रक्षेपण कम्पनीकाे छ । कम्पनीले आगामी चालु आर्थिक वर्ष २०७७/०७८ मा प्रति शेयर आम्दानी १२.२० रुपैयाँ हुने प्रक्षेपण गरेको छ । यस्तै, चालु आवमा ४२ करोड ३५ लाख ३२ हजार रुपैयाँ नाफा गर्ने अनुमान गरेको छ । यी हुन् सञ्चालक कम्पनीको सञ्चालकमा ५ जना रहेका छन् । २ जनाकाे पद रिक्त अवस्थामा छ । कम्पनीको सञ्चालक समितिको अध्यक्ष नन्द किशोर शर्मा हुन् । सुर्य लाइफ इन्स्योरेन्समा ३ वर्ष संचालकको रुपमा काम गरेका उनी सुर्य लाइफ इन्स्योरेन्समै १ वर्ष महा–प्रवन्धकको रुपमा काम गरिसेका छन् । यस्तै उनले सुर्य लाइफ इन्स्योरेन्समै १ वर्ष प्रबन्धकको रुपमा कार्य गरेको अनुभव र एसीएफसी फाईनान्समा ६ वर्ष संचालकको रुपमा कार्य गरेको अनुभव छ । यस्तै, कम्पनीको सञ्चालक समितिको सदस्यमा आकाश गोल्छा, शर्मिला श्रेष्ठ, जयन्त कुमार अग्रवाल र दीपक कुमार अग्रवाल रहेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री हुन् । उनले पनि विभिन्न बैंक तथा वित्तीय संस्थामा लामो समयसम्म काम गरेको अनुभव छ । हाल कम्पनीमा कुल ३ सय २८ जना कर्मचारी रहेका छन् । जसमध्ये २ सय २४ जना स्थायी, ५५ जना परिक्षण कालमा र ४९ जना अस्थायी कर्मचारीहरु छन् । कम्पनीमा जोखिम कति ? हाल कम्पनीमा विभिन्न जोखिम रहेको पनि बताएको छ । ती जोखिमहरुलाई व्यवस्थापन गर्दै अगाडि बढ्ने उल्लेख कम्पनीले गरेको छ । कम्पनीले निक्षेप, लगानी तथा कर्जाको ब्याजदरमा आउने परिवर्तनबाट हुन सक्ने जोखिम र नेपालको बजारमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिम, कच्चा पदार्थको अभावबाट हुने जोखिम, उत्पादन तथा सेवाको बजार स्थिति र यसमा आउने परिवर्तनबाट हुने जोखिम, वित्तीय साधनको अभावबाट हुने जोखिमलाई न्युनिकरण गर्दै जाने बताएको छ । देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट हुन सक्ने जोखिम, पूनर्बीमा कम्पनीको कम्पनी/नेपालको बीमा बजार प्रतिको विश्लेषणमा हुने जोखिम, आयोजना सम्पन्न हुन ढिलाई हुने सम्भावना र त्यसबाट हुने मूल्य अभिवृद्धि कष्टओभररनको जोखिम, विदेशी विनिमयको जोखिम, क्षेत्रीयकरण र विश्वव्यापीकरणका कारणबाट उत्पन्न हुन सक्ने जोखीम, अन्तर्राष्ट्रिय बजारमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरु पनि रहेकाे उल्लेख गरेकाे छ । यस्तै, कम्पनीले उचित जोखिम मुल्याङ्कन गरी कुशल जोखिम व्यवस्थापन गर्ने, अनुभवि तथा दक्ष जनशक्तिद्वारा उचित दावी व्यवस्थापन गर्ने, बीमा समितीद्धारा जारी लगानी निर्देशिका अनुरुप लगानी गर्ने, आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाई लेखा परिक्षकले औल्याएका कैफियतहरु सुधार गर्दै लैजाने बताएकाे छ । यस्तै, कोभिड –१९ को महामारीबाट उत्पन्न कुनै जोखिम भए सो सम्बन्धमा यसबाट उत्पन्न जोखिमको सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवलम्बन भए गरेका जोखिम न्युनिकरणका उपायहरुको अवलोकन तथा अध्ययन गरी सोहि अनुरुप उपयुक्त व्यवसायिक रणनीति अनुशरण गर्ने पनि उल्लेख गरेको छ ।