बीमा समितिका अध्यक्षले नै थाहा नपाएको सम्पत्ति बीमा के हो र कसरी गर्ने ?
काठमाडौं । भनिन्छ नि, दुई दिनको जिन्दगी ! भोलि अर्थात भविष्यमा के हुन्छ, कसैले एकिन गर्न सक्दैन । घर किन्ने, व्यापार व्यवसाय शुरु गर्ने सबैको सपना हुन्छ । हरसम्भव खाई नखाई उक्त सपनालाई पुरा गर्ने कोशिस गरेका हुन्छौं र गछौं पनि । तर के हामीले यति ठूलो लगानी गरी जोडिएका सम्पत्तिको सुरक्षा गरिरहेका छौं त ? कहिलेकाँही हामीले उचित सावधानी अपनाउँदा अपनाउँदै पनि जोखिमहरूबाट बच्न नसक्ने अवस्था आइपर्न सक्छ । र, कहिलेकाँही प्राकृतिक आपत्तिसहित विभिन्न जोखिमको कारण ठूलो लगानी गुमाउनु पर्ने अवस्था पनि नआउँला भन्न सकिन्न । हो, भविष्यमा आइपर्न सक्ने यस्ता अनेकौं जोखिमबाट गुम्ने ठूलो लगानी तथा सम्पत्तिलाई सुरक्षण गरि आर्थिक क्षतिपूर्ति दिने उद्देश्यले निर्जीवन बीमा कम्पनीले ल्याएका हुन्, सम्पत्ति बीमा । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पनि बीमाबारे सर्वसाधारणलाई जानकारी नै कम भएको बताएका थिए । सम्पत्तिको बीमाबारे उदाहरण दिदै आफूलाई पनि कम जानकारी भएको बताएर बीमाबारे जनचेतना अभिबृद्धि गर्न जरुरी रहेको उनको भनाई थियो । ‘म जत्तिको मान्छेलाई त सम्पत्ति बीमा कसरी गरिन्छ भन्ने थाहा छैन, मेरो घरको बीमा कसरी गर्ने भन्ने थाहा छैन, किनभने म कहाँ त्यो ‘इन्फरमेसन’ पुगेकै छैन, काठमाडौंमा बस्ने म, अनि तपाईं कल्पना गर्नुस् त, दूरदराजमा बस्ने मान्छेको कसरी हुन्छ बीमा ? त्यसकारण यो अभियान (बीमा सम्बन्धी जनचेतना अभिबृद्धि) लाई बढाउन जरुरी छ,’ केही दिनअघि विकासन्युजसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष सिलवालले भनेका थिए । के हो सम्पत्ति बीमा ? कुनै प्रकारको चल वा अचल सम्पत्ति जुन पैसासँग जोडिएको हुन्छ, त्यसको क्षति विरुद्ध सुरक्षणको लागि गरिने बीमा नै सम्पत्ति बीमा हो । यो बीमालेख बीमाशुल्क भुक्तानी गरेपछि मात्रै शुरु हुन्छ । बीमा क्षेत्रको नियामक निकायय बीमा समितिले २०७५ साल माघ १ गतेदेखि ‘सम्पत्ति बीमा निर्देशिका, २०७५’ शुरु गरेको हो । यससँगै, समितिबाट निर्जीवन बीमा व्यवसाय गर्न अनुमति पाएका कम्पनीले मात्रै उक्त बीमा जारी गर्न पाउने छन् । कम्पनीले जारी गरेको बीमालेख कम्पनी तथा बीमितबीचको द्धिपक्षीय करार हुनेछ । जसमा उल्लेख भएका शर्त व्यवस्था लगायत सम्पूर्ण प्रावधान कम्पनी र बीमित (बीमा गराउने व्यक्ति, संस्था वा कम्पनी) दुबैले पालना गनुपर्ने हुन्छ । कम्पनीले बीमालेख जारी गर्नुअघि बीमितबाट निर्देशिका बमोजिमको पुरा भरेको प्रस्ताव फाराम प्राप्त गनु पर्नेछ । धितोबन्धक वा धरौटी राखिएको सम्पत्तिको हकमा धितोबन्धक वा धरौटी राख्ने व्यक्ति (ऋणी) बीमितले प्रस्ताव फाराम भर्नु पर्नेछ । कम्पनीले बीमा अवधि सकिनुअघि नै बीमितलाई अग्रिम जानकारी सहितको सूचना कम्पनीले पठाउनु पर्नेछ । यदि बीमितले सोही कम्पनीसँग पुनः सोही सम्पत्तिको बीमा गर्न चाहेमा कम्पनीले पठाएको अग्रिम सूचनमा स्वीकृति जनाई वा छुट्टै पत्र पठाउन सक्नेछ । र, सोही आधारमा कम्पनीले पुनः बीमालेख जारी गर्न सक्ने व्यवस्था छ । यसरी बीमा गरिने सम्पत्तिको विवरण, मूल्य, संख्या वा अन्य कुनै शीर्षकमा फरक पर्न आएमा बीमितले पुनः बीमालेख जारी गर्नुअघि नै उक्त फरक पर्न आएको कुरा खुलाई जानकारी गराउनु पर्नेछ । कसरी जारी गरिन्छ बीमालेख ? सम्पत्ति बीमा गराउनको लागि प्रत्येक कम्पनीले समितिको निर्देशिका बमोजिम बीमालेख जारी गनुपर्ने हुन्छ । जसमा बीमालेखको विषय, अन्तर्वस्तु अर्थात कन्टेन्ट, शब्दावली बीमा समितिले तोकेबमोजिमको नै हुनुपर्छ । बीमालेख कुनै निश्चित स्थानमा भएको जमिन वा स्थलमा आधारित सम्पत्ति वा आवासीय भवनको लागि मात्र लागू हुनेछ । बीमा प्रस्ताव फाराम, तालिका, सम्पुष्टी, बीमालेख तथा बीमालेखसँग संलग्न परिशिष्टलाई समग्र बीमा करारको रुपमा लिइन्छ । कम्पनीले बीमालेख जारी गनुअघि नै बीमालेख जारी गर्नको लागि आवश्यक सम्पूर्ण विवरण हेरी, जाँची बीमा गर्नुपर्ने हुन्छ । मोटामोटी वा अन्दाजी जस्ता भावात्मक शब्द राखेर बीमालेख जारी गर्न पाइदैन । सम्पत्तिको बीमाङ्क रकम खुलाउनै पर्ने बीमालेखमा बीमाशुल्क गणना गर्दा सम्पत्तिको बीमाङ्क रकम छुट्टा छुट्टै खुलाउनु पर्ने हुन्छ । भवन तथा निर्माणाधीन भवन, यन्त्र तथा उपकरण –उद्योग व्यवसाय भए प्रत्येक यन्त्र उपकरणको खरिद तथा जडान मिति समेत खुलाउने), कच्चा पदार्थ, प्रक्रियाको क्रममा रहेको मौज्दात (वर्क इन प्रोग्रेस), तयारी वस्तु, अर्ध तयारी वस्तु, फर्निचर, फिक्चर्स तथा फिटिंग्स, नगद, सुनचाँदी गरगहना तथा हिरा जवाहरत, नक्सा, ढलाईको साँचो, पाण्डुलिपि, चित्रकला, कलात्मक वस्तु तथा दुर्लभ सामग्री र अन्य सरसामानको अलग अलगै बीमाङ्क रकम खुलाउनुपर्ने हुन्छ । अन्य सरसामानको हकमा प्रत्येक एक लाख रुपैयाँभन्दा बढी मूल्यमा पर्ने सम्पत्तिको विवरण खुलाउनु पर्ने व्यवस्था रहेको छ । भवनको आंशिक बीमा सामूहिक बसोबास भएको संयुक्त घर (अपार्टमेन्ट) मा बसोबास गर्ने व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भागको मात्र बीमा गर्न सक्छ । जसलाई भवनको आंशिक बीमा भनिन्छ । यस अन्तर्गत प्रत्येक बीमितले त्यस्तो भवनको आंशिक बीमा गर्दा बीमालेखमा बीमायोग्य हित प्रष्ट रुपमा खुलाउनु पर्छ । निर्माणाधीन भवनको बीमा निर्माणाधीन भवनमा निर्माणको काम शुरु गर्नको लागि बीमा गर्दा यन्त्र तथा उपकरण जडान गरिएको अवस्थामा त्यस्ता सबै यन्त्र तथा उपकरणको बीमा बीमितको इच्छा अनुसार भवनको बीमासँगै वा अलग्गै सम्पत्तिको रुपमा बीमा गर्न सकिन्छ । त्यस्तै, निर्माण शुरु गर्दाको बीमाङ्क रकमलाई निर्माण कामको प्रगति अनुसार वृद्धि गर्दै लान पनि सकिन्छ । सो वृद्धि गर्दा कम्पनीले बीमालेखमा उल्लेख गरी समानुपातिक रुपले थप हुन आउने बाँकी अवधिको बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । यदि बीमा अवधि सकिनु अगाडि नै भवनको निर्माण काम सम्पन्न भएमा बाँकी अवधिको लागि सम्बन्धित जोखिमको प्रकार अनुसारको समानुपातिक बीमाशुल्क लिई बाँकी अवधिको लागि बीमालेख कायम गर्नुपर्ने व्यवस्था रहेको छ । धितोबन्धक वा धरौटीको व्यवस्था पनि धितोबन्धक वा धरौटी राखिएको सम्पत्तिको बीमालेख बीमित तथा बीमा गरिने सम्पत्तिको धितोबन्धक वा धरौटी लिने संस्थाको संयुक्त नाममा जारी गर्नु पर्नेहुन्छ । त्यसरी राखिएको सम्पत्तिको दावी बापतको रकम धितोबन्धक लिने संस्थालाई दिनुपर्ने हुन्छ । त्यस्तै, धितोबन्धक वा धरौटी लिने संस्थाले बीमितिसँग आफ्नो हिसाव फरफारक गरी सो भए नभएको यकिन गरी कम्पनीले सोको प्रमाण राख्नुपर्छ । यदि दावी सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा धितोबन्धक वा धरौटी लिने संस्थाले गरेको कानूनी प्रक्रिया बीमक तथा बीमित दुबैलाई मान्य हुने छ । सम्पत्ति बीमालेख र घर बीमालेख समितिको सम्पत्ति बीमा निर्देशिका अनुसार दुई प्रकारको बीमालेख जारी गरिन्छ । सम्पत्ति बीमालेख र घर बीमालेख । सम्पत्ति बीमालेख जुनसुकै बीमायोग्य सम्पत्तिको लागि जारी गर्न सकिन्छ । यो बीमालेख जारी गर्दा विभिन्न ७ वटा बीमालेखहरु खुलाउनु पर्ने हुन्छ । सामान्य सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, मूल्यांकित सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, घोषणा सम्पत्ति बीमालेख, फ्लोटिङ घोषणा सम्पत्ति बीमालेख र पुनर्स्थापना सम्पत्ति बीमालेख । तर, घर बीमालेख भने घर वा आवासीय भवनको लागि मात्र जारी गर्न पाइन्छ । यो बीमालेख दुई करोड रुपैयाँ वा सोभन्दा कम रकमको बीमाङ्कको लागि मात्र जारी गर्न पाइने व्यवस्था छ । जोखिमको प्रकृति खुलाउनुपर्छ बीमालेख जारी गर्दा बमिा गरिने सम्पत्तिको प्रकृति के कस्तो हो भनेर खुलाउनु पर्छ । जस्तै, अति सामान्य, जोखिम, सामान्य जोखिम, मध्यम जोखिम, उच्च मध्यम जोखिम, न्यून खतराजन्य जोखिम, मध्यम खतराजन्य जोखिम र उच्च खतराजन्य जोखिममध्ये एउटा खुलाउनुपर्ने हुन्छ । यदि फरक फरक प्रकृतिका सम्पत्तिहरु एउटै बीमालेख अन्तर्गत बीमा गर्ने हो भने बीमालेखमा लागू हुने उच्चतम बीमा भएको वस्तुको प्रकृति खुलाउनु पर्ने व्यवस्था रहेको छ । बजार मूल्य निर्धारण गर्न नसकिने वस्तुको पनि बीमा बजार मूल्य निर्धारण गर्न नसकिने सम्पत्ति तथा वस्तुको लागि मात्र बीमा गर्नु परेमा मूल्यांकित बीमालेख जारी गर्न सकिने छ । जस्तै, पुरातात्विक महत्वका संरचना तथा वस्तुहरु, स्मारक, क्युरियो सामान, कलात्मक वस्तु, पाण्डुलिपि प्रचलनमा नरहेको यन्त्र तथा त्यस्ता प्रकृतिका सामानको बजार मूल्य निर्धारण गर्न सकिँदैन । यस्ता सम्पत्तिको मूल्य निर्धारण प्रमाणपत्रमा उल्लेखित मूल्य वा आपसी सहमतिमा तय गरिएको मूल्यको आधारमा बीमा गरिन्छ । कम्पनीले अनिवार्य रुपमा बीमा गरिने सम्पत्तिको निरीक्षण गरेर मात्रै मूल्यांकित बीमालेख जारी गर्नुपर्छ । यस अन्तर्गत दावी भुक्तानी गर्दा ह्रास कट्टी गर्न पाइदैन । फ्लोटिङ बीमालेख देशका विभिन्न स्थानमा रहेका मौज्दातको लागि एउटै बीमालेख जारी गर्नको लागि फ्लोटिङ बीमालेखको व्यवस्था रहेको छ । मौज्दात रहेको स्थान खुलाउनै पर्ने यो बीमालेख ५ भन्दा बढी स्थानमा रहेको सम्पत्तिको लागि भने जारी गरिदैन । यो बीमालेख जारी गर्दा विभिन्न स्थानमा रहेको मौज्दातमध्ये सबैभन्दा उच्च दरको बीमादर लागू हुने समितिले जनाएको छ । ५ करोडभन्दा बढीको बीमा गर्न ‘घोषणा बीमालेख’ मौज्दातको मात्रामा तलमाथि हुन सक्ने अवस्थामा विभिन्न शर्तमा रही घोषणा बीमालेख जारी गरिने छ । यो बीमालेख जारी गर्नुअघि नै बीमाङ्कको पूरै बीमाशुल्क लिनु पर्ने हुन्छ । र, यो बीमालेख जारी गर्न ५ करोडभन्दा बढी रुपैयाँ बराबरको बीमाङ्क रकम हुनुपर्छ । छोटो अवधिको लागि घोषणा गरिने यो बीमालेख जारी भैसकेपछि बीमाङ्क घटाउन मिल्दैन । यस अन्तर्गत बीमितले प्रत्येक महिना सकिएको ३० दिन भित्र मौज्दातको संख्या र बजार मूल्यको आधारमा मौज्दातको मूल्यको घोषणा गर्नुपर्छ । घोषणा गरिएका रकमको औषत रकम साविक बीमाङ्कभन्दा घटी हुन आउने भएमा त्यसरी घटी हुन आउने बीमाशुल्क रकम बीमितलाई फिर्ता गर्नुपर्ने व्यवस्था छ । फिर्ता गरिने उक्त रकम शुरु बीमाशुल्कको २५ प्रतिशतभन्दा बढी हुन पाउँदैन । जुन बीमालेखको अवधि सकिएको अन्तिम घोषणा प्राप्त भएको १५ दिनभित्र फिर्ता दिइसक्नु पर्ने हुन्छ । पुन:स्थापना बीमालेख पनि क्षति भएको सम्पत्ति यथारुप पुनः स्थापना गर्नका लागि पुनस्र्थापना बीमालेख जारी गर्न सकिनेछ । यो अन्तर्गत कुनै क्षति भएमा कम्पनीले सोही ठाउँ र सो अनुसार उक्त बीमा गरिने सम्पत्तिको पुनस्र्थापना गर्नका लागि लागेको रकम बीमाङ्कको सीमाभित्र रहेर भुक्तानी गनुपर्छ । तर, बीमितले उक्त सम्पत्तिको पुनस्र्थापना भने क्षति भएको एक वर्षभित्रमा गरिसक्नु पर्छ । यदि सो अवधिमा पुनस्र्थापना हुन नसकेको भनी बीमितले समय थप गर्न अनुरोध गरेमा कम्पनीलिे पुनस्र्थापनाका लागि उचित समय थप गरिदिनु पर्ने व्यवस्था छ । साथै, यस अन्तर्गत दावी भुक्तानी गर्दा ह्रास कट्टी गर्न पाइदैन । कति हुन्छ सम्पति बीमालेखको अवधि ? यो बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिको लागि मात्र हुन्छ । अर्थात एक वर्षभन्दा बढी अवधिको लागि बीमालेख जारी गर्न पाइदैन । एक वर्षभन्दा कम समयको लागि गरिने बीमालेखलाई छोटो अवधिको बीमा भनिन्छ, जुन बीमितले अनुरोध गरेमा कम्पनीले जारी गर्छ । तर, एक वर्षभन्दा कम अवधिको बीमालेख भने एकपटक जारी भैसकेपछि पुनः समय बढाउन नपाइने निर्देशिकामा उल्लेख छ । बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम शुरु भएको मिति (घण्टा र मिनेटसहित) उल्लेख गर्नु पर्ने हुन्छ । त्यस्तै, बीमालेख जारी भएको मिति र जोखिम शुरु भएको मितिबीचको अन्तर ३५ दिनभन्दा बढी हुनुहुँदैन । जोखिम शुरु भएको अर्को वर्ष सोही मितिको अघिल्लो मध्यरात १२ बजे बीमा अवधि समाप्त हुन्छ । प्रत्यक्ष बीमा गर्दा १० प्रतिशत छुट बीमा गराउने कम्पनीले समितिको निर्देशिकामा उल्लेख गरिएको बीमादरको आधारमा बीमाशुल्क गणना गरी सोही बमोजिमको बीमाशुल्क लिनुपर्ने हुन्छ । सम्पत्ति बीमालेखको बीमाशुल्कमा कम्पनीले कुनै पनि प्रकारको छुट (डिस्काउन्ट), रिहायत, कटौति वा सहुलियत दिँदैन । तर, बीमितले बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री अर्थात प्रत्यक्ष बीमा गरेको अवस्थामा हुलदंगा तथा आतांकबाद जोखिम समूह बापतको बीमाशुल्क बाहेक अन्य कूल बीमाशुल्क गणना गरेपछि १० प्रतिशत छुट पाउने छन् । त्यस्तै, एकपटक बीमालेख जारी भएपश्चात बीमा अवधिभर बीमादर बढाउने वा घटाउने केही पनि हुँदैन । एउटा परिसर (अर्थात उक्त सम्पत्तिले ओगटेको क्षेत्र) भित्र रहेको सबै सम्पत्तिको बीमा गर्दा बीमा गरिने ती सबै सम्पत्तिको लागि एउटै बीमादर कायम गरी बीमाशुल्क गणना हुन्छ । कति लाग्छ शुल्क ? हुलदंगा तथा आतंकबाद जोखिम समूहको बीमादर घर बीमालेख अन्तर्गत जारी भएको बीमालेखको हकमा एक करोड रुपैयाँसम्मको आवासीय भवन वा घर, मठ मन्दिर, ध्यान, पूँजा तथा प्रार्थनास्थल तथा त्यसभित्र रहेको सम्पत्ति तथा सामानको लागि जोखिम समूहको बीमादर ०.१० रुपैयाँ प्रतिहजारमा र अन्यको हकमा ०.५० रुपैयाँ प्रतिहजार बीमाशुल्क लाग्छ । कुन अवस्थामा बीमाङ्क बढाउन र घटाउन सकिन्छ ? कम्पनीले विभिन्न तीन अवस्थामा बीमालेखमा उल्लेख भएको बीमाङ्क बढाउन सक्छन् । निर्माणाधीन भवनको निर्माणको काम बढ्दै गई सम्पत्तिको बृद्धि भएमा, घोषणा बीमालेख अन्तर्गत मौज्दातको बृद्धि भएमा र बीमा गरिने सम्पत्तिमा अन्य सम्पत्ति थप गरेमा कम्पनीले बीमाङ्क रकम बढाउन पाउछन् । यो अवस्थामा बीमितले नियमानुसार लाग्ने थप बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । त्यस्तै, बीमा गरिने सम्पत्ति मध्ये केही सम्पत्ति अन्यत्र विस्थापन भएमा वा बिक्री गरिएमा र बीमा गरिने सम्पत्तिमध्ये केही सम्पत्तिको दाबी परेमा कम्पनीले बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम घटाउने छ । यो अवस्था आएमा कम्पनीले बीमितलाई बढी हुन आउने बीमाशुल्क फिर्ता गरिदिन्छ । जुन बीमाङ्क घटाइएको १५ दिनभित्र कम्पनी फिर्ता गरिसक्नुपर्ने नियम छ । बीमा गरिएको सम्पत्ति स्थानान्तरण गर्न पाइन्छ कि पाइदैन ? बीमा गरेको सम्पत्ति कम्पनीलाई जानकारी नदिई उक्त सम्पत्ति स्थानान्तरण अर्थात अर्को ठाउँमा सार्न पाउदैन । यदि गरिएमा उक्त स्थानान्तरण गरिए बराबरको सम्पत्तिको बीमा अन्त हुने छ । र, बाँकी अवधिको बीमाशुल्क कम्पनीले बीमितलाई फिर्ता गराउनुपर्छ । तर, एउटै बीमालेख अन्तर्गत रक्षावरण गरिएको स्थानहरु मध्ये एक स्थानबाट अर्को स्थानमा बीमा गरिएको सम्पत्ति स्थानान्तरण गर्न भने पाइन्छ । बीमाशुल्क कसको कति ? एक करोडसम्मको आवासीय भवन, मठ मन्दिर, ध्यान, पूजा तथा प्रार्थनास्थल तथा त्यसभित्र रहेको सामानको लागि जारी गरिएको घर बीमाको हकमा बीमादर ५० पैसा प्रतिहजारमा लाग्छ । सोभन्दा बढी रकमको लागि १.५० रुपैयाँ प्रतिहजार कायम हुन्छ । न्यूनतम बीमा शुल्क ५ सय रुपैयाँ लाग्छ । त्यस्तै, एक करोडभन्दा बढीको आवासीय भवन, मठ मन्दिर, ध्यान, पूजा तथा प्रार्थनास्थल तथा त्यसभित्र रहेको सामानको लागि मात्र जारी गरिएको सम्पत्ति बीमाको हकमा १.५० रुपैयाँ प्रतिहजार कायम हुनेछ । औद्योगिक जोखिम एउटै उद्योग परिसरभित्र रहेका सम्पूर्ण सम्पत्तिको एउटै बीमादर कायम गरी बीमा गरिन्छ । उक्त परिसरमा एकै बीमितले एकभन्दा बढी वस्तुहरु उत्पादन गर्ने गरेको रहेछ भने त्यस्ता वस्तुमध्ये सबैभन्दा उच्च बीमादर भएको वस्तुको बीमादरमा बीमा गराउँनु पर्छ । त्यस्तै, एउटै औद्योगिक परिसरमा एकभन्दा बढी स्वतन्त्र उद्योगहरु रहेको छ भने त्यस्ता अलग अलग उद्योगहरुको छुट्टा छुट्टै बीमादर लागू हुन्छ । तर, जोडिएर बनेका एउटै वा एकभन्दा बढी भवनमा एकै बीमित वा अलग अलग बीमितको उद्योगहरु रहेछ भने ती उद्योगहरु मध्येको उच्चतम बीमादर सबै उद्योगको लागि लागू हुने व्यवस्था रहेको छ । जोखिमको दुई श्रेणी प्रत्येक बीमा गरिने सम्पत्तिलाई कम्पनीले उक्त सम्पत्तिको जोखिम सम्वेदनशीलताको आधारमा प्रथम वा दोश्रो श्रेणीमध्ये कुनै एक श्रेणीमा वर्गीकरण गर्ने छ । तर जोखिम समूहको लागि भने श्रेणीको वर्गीकरण लागू हुदैन । बीमा गरिने सम्पत्तिको बीमाशुल्क गणना गर्दा कम्पनीलाई प्रथम श्रेणीको जोखिम हो भन्ने लागेमा निर्देशिकामा उल्लेख भएको बीमादर अनुसार बीमाशुल्क गणना गरिन्छ । यदि दोश्रो श्रेणीको जोखिम हो भन्ने लागेमा प्रथम श्रेणीको बीमादरको कम्तीमा डेढ गुणा बढी बीमादर कायम गरी हुन आउने बीमाशुल्क गणना गनुपर्ने हुन्छ । कति छ न्यूनतम बीमादर ? कम्पनीले बीमाशुल्क गणना गर्दा ५ सय रुपैयाँभन्दा कम बीमाशुल्क लिन पाउँदैन । तर, लघुबीमा अन्तर्गत पर्ने सम्पत्ति बीमाको हकमा न्युनतम ५० रुपैयाँसम्मको बीमाशुल्क लिन पाइने छ । यो बीमादर न्युनतम भएकाले कम्पनीले योभन्दा बढी दरमा बीमाशुल्क गणना गरी बीमालेख जारी गर्न सक्ने समितिको निर्देशिकामा उल्लेख छ । तर, अधिकतम कति भनेर निर्देशिकामा उल्लेख छैन । साथै, बीमादर सम्बन्धी अन्य व्यवस्था बीमादर सल्लाहकार समितिको सिफारिसमा समितिले निर्धारण गरे बमोजिम हुन्छ । कम्पनीले अग्नी बीमालेख, ज्वेलरी ब्लक बीमालेख, गार्हस्थ बीमालेख तथा त्यस्ता बीमाको नाममा कुनै पनि बीमालेख जारी गर्न नपाउने समितिले जनाएको छ । नामसारी निःशुल्क बीमितले बीमालेखको नामसारी गर्न अनुरोध गरेको खण्डमा कम्पनीले निःशुल्क उक्त बीमालेखको नामसारी गरिदिन्छ । बीमाशुल्क भुक्तानी कम्पनीको तर्फबाट सहिछाप भएको रसिद जारी नभएसम्म बीमाशुल्क भुक्तानी भएको मानिँदैन । बीमाशुल्क भुक्तानी नभएसम्म कम्पनीले बीमालेख जारी गर्दैन । कुन अवस्थामा भुक्तानी पाइदैन ? झुठ्ठा विवरण दिएर बीमा गराइएको छ भने कम्पनीले दाबी बापतको रकम भुक्तानी गर्दैन । सो अवस्थामा बीमकबाट लिखित समर्थन नजनाएमा, दावी भुक्तानी प्रक्रियामा रहेको वा मुल्तवी रहेको अवस्थामा बाहेक क्षति भएको मितिले ६ महिना व्यत्तित भएमा कम्पनी भुक्तानी दिन बाध्य हुँदैन । तर, बीमा दाबी भुक्तानी दिन अस्वीकार गनुअघि बीमकले सबै तथ्यहरु प्रमाणित गनु पर्नेछ । कस्तो अवस्थामा बीमालेख खारेज हुन्छ ? बीमितले आफ्नो हकहितमा नरहेको सम्पत्तिको बीमा गराएमा उक्त बीमालेख स्वतः खारेज हुनेछ । स्वामित्व हस्तान्तरण भएको ३० दिनभित्र सम्पत्तिको स्वामित्व प्राप्त गर्ने व्यक्तिको नाममा बीमालेख नामसारी नभएमा बीमालेख खारेज हुन्छ । बीमितले बीमालेख खारेज गर्न अनुरोध गरेमा, बीमा समितिले कारण सहित बीमालेख खारेज गर्न निर्देशन दिएमा र बीमितले गैरकानुनी सम्पत्तिको बीमा गराएको प्रमाणित भएमा कम्पनीले उक्त बीमालेख खारेज गर्न सक्छ । यदि बीमितको अनुरोधमा बीमालेख खारेज गर्नुपरेमा कम्पनीले बाँकी बीमाशुल्क फिर्ता गरिदिन्छ । बीमा गराएको अवधि एक महिनासम्म बाँकी रहेछ भने वार्षिक बीमाशुल्कको १५ प्रतिशत, तीन महिनासम्मको बाँकी भए ४० प्रतिशत, ६ महिनासम्मको बाँकी भए ७० प्रतिशत, ९ महिनासम्मको ८५ प्रतिशत र नौ महिनाभन्दा बढी अवधिको बाँकी भए सबै बीमाशुल्क फिर्ता हुनेछ । तर, बीमालेख खारेज हुनु अघि दाबी परिसकेको रहेछ भने बीमाशुल्क फिर्ता हुँदैन । कम्पनीले आफैले खारेज गर्न परेमा बीमितलाई १५ दिन अघि नै जानकारी गराउँछ । हाल नेपालमा २० वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । जसमध्ये अजोड, एभरेष्ट, जनरल, आईएमई, नेको, नेपाल, एनएलजी, प्रिमियर, प्रुडेन्सियल, राष्ट्रिय बीमा, सगरमाथा, सानिमा, शिखर, सिद्धार्थ र यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले सम्पत्ति बीमा सेवा दिँदै आएका छन् । त्यस्तै, आईएमई जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले अग्नी बीमा सेवा प्रदान गर्दै आएका छन् ।
ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गतेदेखि भर्न पाइने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आगामी फागुन २३ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता अर्थात जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरकाे लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । फागुन २३ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेकाे मध्यमस्तरकाे सुरक्षित कम्पनी जनाउँछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
घातक रोगको उपचारवापत एनआईसी एशिया बैंकले भुक्तानी गर्यो १० लाख रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो । बैंकको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । निजलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउन सक्नेछन् । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३९५ जना भन्दा बढी ग्राहकले बीमा वापतको २ करोड ४८ लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेका कम्पनीले जनाएको छ । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट सर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ ।