आईएमई जनरल इन्स्योरेन्सले घोषणा गर्यो हालसम्मकै उच्च लाभांश

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो । फागुन ४ गते बसेको कम्पनी सञ्चालक समितिको गत आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर वापत ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ७ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ६.३१ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गरेको हो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सका अध्यक्ष रमण शर्माले लिए सपथ

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स नव निर्वाचित अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष सपथ ग्रहण लिएका छन् । शर्माले मंगलबार बीमा समितिकाे सभाहलमा सपथ ग्रहण लिएका हुन् । उक्त अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेल, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराइ लगायतकाे उपस्थिति रहेकाे थियाे । उक्त इन्स्योरेन्सको नव निर्वाचित संचालकहरुको साेमबार बसेको बैठकले संचालक  शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको थियाे । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो । सम्बन्धित समाचार महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्ने, सञ्चालकमा ५ जना निर्वाचित

कोरोना बीमा भुक्तानीको लागि पुनर्बीमा कम्पनीले दियो १ अर्ब, १ अर्ब दिने तयारीमा बीमा समिति

काठमाडौं । कोरोना बीमाको लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको छ । पुनर्बीमा कम्पनीले पुलमा १ अर्ब रुपैयाँ दिने भनिएको थियो । दाबी भुक्तानीको लागि रकम कम भएको कारण पनि बिमितले समयमै रकम नपाएपछि समितिले ताकेता गरी पुनर्बीमा कम्पनीलाई रकम हाल्न लगाएको हो । पुनर्बीमा कम्पनीले हाल्नुपर्ने सबै रकम अब हालिसकेको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । यस्तै, समितिले पुलमा हाल्नुपर्ने रकम पनि हाल्ने तयारी थालेको छ । समितिले १ अर्ब रुपैयाँ पुलमा हाल्ने भनिएको छ । कोरोना बीमा पोलिसी ल्याउँदा बीमा शुल्कबाट प्राप्त भएको रकमबाट पहिला दाबी भुक्तानी गर्ने भनिएको छ । समितिले दिएको जानकारी अनुसार अहिलेसम्म बीमा शुल्कबाट करिब १ अर्ब रुपैयाँ उठेको छ । त्यसपछि निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले आफ्नो महावित्ती कोषमा रहेको रकमबाट दाबी भुक्तानी गर्ने भनिएको छ । यस्तो रकम पनि करिब १ अर्ब रुपैयाँ हुने भनिएको छ । त्यसपछिको १ अर्ब रुपैयाँको दाबी भुक्तानीको लागि पुनर्बीमा कम्पनी र त्यसपछिको १ अर्ब रुपैयाँको दाबी भुक्तानीको लागि बीमा समितिले रकम प्रदान गर्ने भनिएको छ । सोभन्दा माथिको दाबी भुक्तानी परेमा नेपाल सरकारले दायित्व व्यहोर्ने भनिएको छ ।