प्रभु इन्स्योरेन्सले घोषणा गर्यो गत वर्षको लाभांश

काठमाडौं । प्रभु इन्स्यारेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत अर्थात १० करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापत ०.५३ प्रतिशत अर्थात ५५ लाख ५९ हजार ३४१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । (सच्याइएकाे)

प्रेस युनियन डाेटीले ग¥यो पत्रकारको दुर्घटना बिमा

डाेटी । नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले भने, “काम गर्ने सिलसिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गरेका छौँ, यसले काम गर्न हौसला मिल्ने छ ।” एशियन लाइफ इन्स्योरेन्स दिपायल शाखामा पत्रकारको एक लाख बराबरको बिमा गरिएको छ । यसअघि युनियनले सङ्गठनमा आबद्ध सदस्यसहित ९२ पत्रकारको कोराना बिमा गरेको थियो । जिल्लामा आफ्नो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गर्ने प्रेस युनियन पहिलो सङ्गठन बनेको छ । प्रेस युनियनमा आबद्ध बिमा गरिएका पत्रकार कुनै दुर्घटनामा परे तत्काल एशियल लाइभ इन्स्योरेन्स दिपायल शाखाबाट बीमित रकम पाउने शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए ।

रिलायन्स लाइफ इन्स्योरेन्सले ९२ प्रतिशतले बढायो खुद बीमाशुल्क, नाफामा पनि सुधार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९२.०६ प्रतिशतले खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५७ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको कम्पनीले चालु आवको सोहि अवधिमा १ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ करोड १३ लाख रुपैयाँले बढी हो । कम्पनीले गत आवको पुस मसान्तसम्म ४ करोड ६५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ, जगेडा कोषमा १९ करोड ८५ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड २० लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ५.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११५ गुणा बढी रहेको छ । समिक्षा अवधिमा कम्पनीले ८ हजार ३९१ वटा बीमालेख जारी गरी कुल १ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै ३९ वटा दाबी वापत १४ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १३ वटा दाबी वापत ३५ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।