जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा विनेश मास्के नियुक्त
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई कामु महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सहायक महाप्रबन्धकको पदमा कार्यरत मास्केले अर्को व्यवस्था नभएसम्म कम्पनीको प्रमुखको रुपमा कार्यभार सम्हाल्ने छन् ।
बीमा अभिकर्ता लाइसेन्स वितरण रोक्न माग, बीमा शुल्क पनि घटाउनु पर्ने
काठमाडौं । बीमा समितिलाई बीमा अभिकर्ता लाइसेन्स वितरण रोक्न माग गरिएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिले कुनै अध्ययन अनुसन्धान नगरी जथाभावी रुपमा अभिकर्ता लाइसेन्स वितरण गरेकोले त्यसलाई रोक्न माग गरेका हुन् । शुक्रबार समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालको पदभार तथा स्वागत कार्यक्रममा आफ्ना धारणा राख्दै संघका अध्यक्ष तिवारीले जथाभावी रुपमा वितरण भइरहेको अभिकर्ता लाइसेन्स तत्काल रोक्न माग गरेका हुन् । ‘बीमा समिति जथाभावी रुपमा अभिकर्ता लाइसेन्स बाँड्ने अखडा नबानाइयोस्, कति जना दक्ष तथा तालिम प्राप्त अभिकर्तालाई समितिले लाइसेन्स दिएको छ ? तालिम के हाे भनेर थाहा नभएकाहरुलाई समितिले जथाभावी लाइसेन्स दिएकाे छ, यसरी जथाभावी रुपमा लाइसेन्स नदिइयोस्,’ अध्यक्ष तिवारीले भने । यस्तै, उनले नेपालमा रहेकाे ३ करोड जनसंख्यामा ५ लाख अभिकर्ताहरु रहेको बताउँदै १ जना अभिकर्ताको भागमा ६० जना पर्ने बताउँदै अब विस्तारै अभिकर्ताकै रोजगारी धरापमा पर्ने बताए । कार्यक्रममा उनले बीमा शुल्क पनि घटाउनु पर्ने धारणा राखेका छन् । यस्तै, उनले निर्जीवन बीमातर्फको बीमा कमिसन अवैज्ञानिक भएकोले निर्जीवन व्यवसायमा पनि काम गर्न सक्ने किसिमको कमिसनको व्यवस्था गर्नु पर्ने धारणा राखे ।
कोरोना बीमाको दावी भुक्तानी डेढ महिना भित्रै हुन्छ: बीमा समिति
काठमाडाैं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अब डेढ महिनामै भइसक्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले समितिका नवनियुक्त अधयक्ष सुर्य प्रसाद सिलवालको पदभार तथा स्वागत कार्यक्रममा आफ्ना धारणा राख्दै कोरोना बीमाको दाबी भुक्तानी फाष्ट ट्रयाकमा भइरहेकोले अब डेढ महिनामै यसको फच्र्यौट भइसक्ने बताए । ‘अहिले कोरोना बीमाको दाबी भुक्तानी फास्ट ट्रयाकमा भइरहेको छ, अबको डेढ महिनामै कोरोना बिमाको दाबी भुक्तानी फच्र्यौट भइसक्छ,’ उनले भने । यस्तै, उनले उनले बिमा ऐन संशोधनमा आवश्यकताअनुसार थप गर्दै जाने पनि बताएका छन् । अहिले ऐन संशोधनका लागि संसदमा भएकोले चाडै नै त्यो संशोधन भएर आउने बताए ।