आइएमई जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई तालिम दिएकाे छ । माघ ११ देखि १४ गते सम्म संचालन भएकाे उक्त तालिममा देश भरका ८० जना व्यक्तिहरुको सहभागीता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेल्ने अपेक्षा कम्पनीले गरेकाे जनाएकाे छ ।
बोनसपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । आज (माघ १४ गते) बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको ३१ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २१९२ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २८७२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता २१९२ रुपैयाँदेखि शुरु हुने छ ।
एशियन लाईफ इन्स्योरेन्सकाे नयाँ शाखा दैलेखमा, अध्यक्ष श्रेष्ठले गरे उद्घाटन
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको दैलेखमा ४०औं शाखा संचालनमा ल्याएको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले माघ १३ गतेदेखि उक्त स्थानकाे उपशाखा कार्यालयलाई शाखाको रुपमा स्तरोन्नती गरी संचालनमा ल्याएको हो । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र सहायक महाप्रबन्धक विजय पराजुलीको समेत उपस्थिति रहेको थियो । दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा संचालनमा ल्याएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु विस्तार गर्दै लैजाने कम्पनीले जनाएकाे छ । कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादी सहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पुँजी रहेको यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष २३ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।