राष्ट्रिय बीमा कम्पनीकाे ४४ अर्ब ४४ कराेडकाे सेयर काराेबार राेक्का, कसकाे नियत के ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले आफ्नो ४४ अर्ब ४४ कराेड रूपैयाँ भन्दा बढीकाे सम्पत्ति भाेगचलन गर्न पाएका छैनन् । कम्पनीले पुरा गर्नु पर्ने कानुनी प्रकृया पुरा नभएकाे भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले साे कम्पनीकाे काराेबार बन्द गरिदिएकाे छ । वार्षिक वित्तीय विवरण लेखापरीक्षण नगरेको र त्रैमासिक वित्तीय विवरण पनि नियमित रुपमा नबुझाएको भन्दै नेपाल स्टक एक्स्चेञ्जले गत माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार बन्द गरिदिएको हाे । गत आर्थिक वर्षसम्मको लेखापरिक्षण भएको वार्षिक प्रतिवेदन नबुझाएसम्म सेयर कारोबार बन्द गरिने नेप्सेले जनाएको छ । तर राष्ट्रिय बीमा कम्पनी तत्काल लेखापरिक्षण प्रतिवेदन बुझाउन सक्ने अवस्थामा छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालका अनुसार आर्थिक वर्ष २०७२/७३ सम्मको मात्र लेखापरीक्षण भएको छ । तर आर्थिक वर्ष २०७३/७४ देखि यता अर्थात आर्थिक वर्ष २०७६/७७ सम्म ४ आर्थिक वर्षको आर्थिक प्रतिवेदन लेखापरीक्षण भएको छैन । ‘आर्थिक वर्ष २०७५/७६ सम्मको लेखापरीक्षणकाे धेरै काम सकिएको छ । आर्थिक वर्ष २०७६/७७ को पनि लेखापरीक्षण सक्दैछौं । केही प्राविधिक विषय मिलाउन बाँकी छ । २ महिनाभित्रमा लेखापरीक्षण काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौं’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । कम्पनीको सेयर कारोबार तत्काल फुकुवा गरिदिन नेप्सेलाई अनुरोध गरिएको उनले बताए । ‘पहिला नै गर्नुपर्ने काम बाँकी रहँदै आएको छ । कम्पनीमा नयाँ समस्या आएको होइन । पहिला समस्या हुँदा हुँदै पनि सेयर कारोबार खुला नै थियो । अहिले समस्या समाधानको प्रयास भैरहेको बेलामा कारोबार बन्द गरेर कसैको पनि हित हुँदैन’ अर्यालले भने ‘काराेबार बन्द गर्नुकाे नियत के हाे ? भन्ने पश्न उब्जिएकाे छ।’ ‘सेयरको मूल्य बढिरहेको छ । यो बेलामा लगानीकर्ताले सेयर बेच्न खोज्छन् । उनीहरुलाई समस्या हुनेगरी कारोबार बन्द गर्नु हुँदैन थियो’ उनले विकासन्युजसँग भने । सेयर कारोबार बन्द गर्दा कम्पनीको व्यवसायिक गतिविधिमा कुनै असर नगर्ने तर लगानीकर्तालाई समस्या हुने उनले बताए । उता नेप्सेले भने कम्पनीकाे सम्पूर्ण विवरण आएपछि मात्रै कम्पनीको सेयर कारोबार फुकुवा गर्ने बताएको छ । ‘हालसम्म कम्पनीकाे पुरै विवरण आइसकेकाे छैन । त्यसैले सम्पूर्ण विवरण आएपछि मात्र कम्पनीकाे सेयर काराेबार खुल्ने छ’, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकासन्युजसँग भने । कम्पनीले तत्काल काराेबार फुकुवा गरिदिन अनुरोध गरिरहेकाे आधारमा खुल्छ कि खुल्दैन भन्ने विकासन्युजकाे प्रश्नमा सीईओ साउदले भने- ‘राष्ट्रिय बीमा कम्पनीले मात्रै हाेइन कुनै पनि कम्पनीले अनुराेध गरेकाे भरमा राेक्का गरिएकाे सेयर काराेबार फुकुवा हुँदैन । काराेबार फुकुवा गर्नकाे लागि कम्पनीले सम्पूर्ण विवरण पेश गर्नै पर्छ । हामीले विवरण मागेका हाैं । हामी ऐन नियम अनुसार जान्छाैं । त्यसैले अनुराेध गर्दैमा काराेबार खुल्दैन ।’ कम्पनीले लेखापरिक्षणकाे काम गर्न पहल गरेकाे भएपनि त्यसकाे परिणाम भने देखिएकाे छैन । कम्पनीले दिएकाे जानकारी अनुसार कम्पनीले २ महिनाभित्रमा लेखापरीक्षण काम सक्ने गर्ने लक्ष्य लिएर काम गरिरहेकाे छ । यससँगै साे अवधिमा सबै काम सकेर नेप्सेमा सम्पूर्ण विवरण बुझाएमा कम्पनीकाे सेयर काराेबार २ महिना पछि मात्रै खुल्ने देखिन्छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १६ हजार ६७० रुपैयाँमा किनबेच भएको थियो । कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ मात्र छ । निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा १०० करोड हुनुपर्ने मापदण्ड बीमा कम्पनीहरुको नियामक बीमा समितिले तोकेर २०७५ असार मसान्तसम्म न्युनतम पुँजी कायम गर्न निर्देशन दिएको थियो । निजी लगानीको कम्पनीहरुले मापदण्डअनुसार पुँजी वृद्धि गरिसकेको छन् तर सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको पुँजी भने अझै न्युनतमको पनि एक चौथाई मात्र रहेको छ । लेखापरिक्षण नगरेकाे र वार्षिक साधारणासभा नगरकाे भन्दै बीमा समितिले पनि राष्ट्रिय बीमा कम्पनीकाे लाइसेन्स नविकरणा गरेकाे छैन । समितिले कम्पनीमाथि कानुनकाे परिपालनामा जाेड दिदै विभिन्न किसिमकाे दवाव दिदै आएकाे छ ।
अजोड इन्स्योरेन्सबाट मिग होल्डिङसका कर्मचारीहरु तथा लगानीकर्ताले बीमा सेवा पाउने
काठमाडाैं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङसका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । याे सहमतिसँगै अजोड इन्स्योरेन्सबाट मिग होल्डिङसका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सेवा लिन सक्नेछन् ।
बीमा समितिकाे अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त
काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । पूर्व गृहसचिव सिलवाललाई सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गर्ने निर्णय हाे । उनकाे कार्यकाल चार वर्ष हुनेछ । गृह सचिवबाट अवकाश भए पनि सिलवाल लामाे समय उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । सिलवालकाे लागि बीमा नयाँ क्षेत्र हाे । बीमा क्षेत्रकाे नियामक निकायमा बीमा क्षेत्रकै व्यक्ति नियुक्तीकाे अपेक्षा बजारबाट भएकाे थियाे । तर सरकारले अन्य राजनीतिक नियुक्तीमा झै बीमा समितिकाे अध्यक्षमा पनि पूर्व प्रशासक छनाैट गरेकाे छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिकाे अध्यक्ष पद गत एक महिनायता रिक्त रहेकाे थियाे । यसअघि समितिको अध्यक्षको कार्यभार चिरञ्जीबी चापागाईंले सम्हालेका थिए । आफ्नो चार वर्षे कार्यकाल पूरा भएपछि उनी गत पुस २३ गतेदेखि बाहिरीएका थिए ।