बोनसपछि गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । बिहीबार गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७६.७२ रुपैयाँ रहेको छ । यसअघि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार कारोबार खुलेको एक घण्टाको अवधिमा कम्पनीको सेयर मूल्य १३ रुपैयाँले बढेर प्रतिकित्ता ५९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट, दुई दिनमै ६५ रुपैयाँले बढ्यो भाउ
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारदेखि दोश्रो बजारमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा दोश्रो दिन पनि सर्किट लागेको हो । बिहीबारको बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर सर्किट लागेको छ । प्रतिकित्ता ३४२ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३७६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढी हो । अघिल्लो दिन अर्थात कार्तिक १९ गते भएको कम्पनीको पहिलो कारोबारमा पनि सेयर मूल्यमा सर्किट लागेको थियो । सो दिनको बजारमा कम्पनीको सेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँदेखि शुरु भएको थियो । आजसम्म अर्थात कारोबार शुरु भएको दुई दिनको अवधिमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ३७६ रुपैयाँ पुगेको छ । यो समाचार तयार पार्दासम्म बिहीबारको बजारमा कम्पनीको ८ लाख ४१ हजार ९ सय २२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने बेच्ने कोही पनि छैनन् ।
२ हजारले पाए २० करोड रुपैयाँ बराबरको कोरोना बीमाको दावी भुक्तानी
काठमाडाैं । नेपालमा करिब २ हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको दावी भुक्तानी पाइसकेका छन् । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंका अनुसार अहिलेसम्म साे मात्राले कोरोना बीमाको दावी भुक्तानी पाएका हुन् । अहिले पनि बीमा कम्पनीहरुमा करिब १३ हजार दावी परेको बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बताए । बीमा समितिले हिजाे मात्रै कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्र दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीहरुलाई दावी परेको सात दिन भित्रै भुक्तानी दिन निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले अर्थमन्त्रालयसँगको छलफल पछि सबै प्रक्रिया सात दिन भित्र पुरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताए । यसअघि बिमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणिकरण गर्न समय लाग्दा दावी भुक्तानीमा ढिलाई भएको पनि अध्यक्ष चापागाईंले बताए । तर अवदेखि प्रमाणिकरणका सबै प्रक्रियाहरु एक साता भित्र पुरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उनले बताए । कुनैपनि बिमितले बीमा दावी गर्दा पीसीआर परीक्षणमा पोजेटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजात सहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने पनि अध्यक्ष चापागाईंले बताए ।