सानिमा जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीकाे सो मात्राको सेयर आज (कार्तिक १८ गते) मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर बुधबार (कार्तिक १९ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एसजीआई दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०३.७३ रुपैयाँ र अधिकतम ३११.१९ रुपैयाँ तोकेको छ ।

टिभी, दराज, टेबल, कम्युटर, फोन फुटे वा आगलागी भए क्षतिपूर्ति पाइने गरी बीमा गर्न मिल्छ ? कति लाग्छ शुल्क ?

काठमाडौं । टिभी, दराज, टेबल, कम्प्युटर, ल्यापटप, मोबाइल फोन वा यस्तै सामान आगामी, भुकम्प वा अन्य कुनै कारणबाट टुटफुट वा आगलागीमा परी क्षति भएमा के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने विकल्प छ । कामै नलाग्ने गरी फुटेको, आगलागीमा परी जलेको वा नास भएको सामानको क्षतिपूर्ति पाइने गरी बीमा गर्न पाइने भएकोले यसको विकल्प देखिएको हो । घरायसी तथा विद्युतीय सामाग्रीको बीमा गर्न पाइने व्यवस्था अहिले पनि कार्यान्वयनमा छ । अधिकांश बीमा कम्पनीहरुले यस्तो बीमा गराइरहेका पनि छन् । घरायसी सामानको बीमा गर्दा बीमा शुल्क धेरै बुझाउनु पर्दैन । यस्तै, घरायसी सामानहरुको बीमा प्याकेजमा समेत उपलब्ध हुन्छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले घरायसी सामानको बीमा गर्दा प्राकृतिक जोखिममा र अन्य विपत्तीबाट भएको क्षतिको क्षतिपूर्ति पाइने भएकोले यसको महत्व धेरै रहने बताए । ‘हाउसहोल्ड पोलिसीबाट यस्ता वस्तु तथा उपकरणहरुको बीमा गर्न मिल्छ, घरलगायत घर तथा सम्पत्तीको बीमा एकै पटकमा गर्न मिल्छ, तर त्यसरी बीमा गराउदा आफ्नो सामानको विवरण भने स्पष्ट तरिकाले पेश गर्नुपर्छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्युजसंग भने । हरेक घरहरुमा विभिन्न किसिमका जोखिम हुने भएकाले हाउसहोल्ड बीमाले सबैलाई साथ दिने उनले बताए । नयाँ स्मार्ट टिभीको पनि बीमा गर्न सकिन्छ भने पुरानो टिभीको पनि बीमा हुन्छ । सम्पत्तीको भ्यालुयसन अनुसार बिमांक तोकिन्छ । फाल्ने बेलामा पुगेकाबाहेक अन्य सामानहरुको भने बीमा गर्न मिल्ने बीमा कम्पनी बताउछन् । यस्तो अवस्थामा पाइन्छ दाबी भुक्तानी बाढी, पहिरो, भुइचालो, आगलागी जस्ता प्राकृतिक विपतहरुका कारण टिभी, मोवाइल, कम्प्युटर जस्ता घरायसी सामाग्रीहरुमा क्षति पुगेमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइन्छ । यस्तै, बीमा गरिएका सामान चोरी भएको अवस्थामा पनि बीमा दाबी गर्न पाइन्छ । कति लाग्छ बीमा शुल्क ? हाउसहोल्ड पोलिसीबाट बीमा गराउँदा १ लाखको २ सय रुपैयाँका दरले बीमा गराउन सकिन्छ । यो बीमा पोलिसीले अग्नि, भुकम्प तथा हावाहुरीबाट हुने जोखिमको बीमा हुनेगर्छ । यस्तै, इलेक्ट्रोनिक इक्यूपमेन्ट पोलिसी अनुसार बिजूली सट हुदा, जल्दा विद्युतीय उपकरणहरुको दाबी भुक्तानी लिन सकिन्छ । उक्त इलेक्ट्रोनिक इक्यूपमेन्ट पोलिसी अनुसार सामानको मूल्य अनुसार १ प्रतिशत बीमा शुल्क लाग्छ । अर्थात १ लाख रुपैयाँ मूल्य बराबरको समानको बीमा गराउँदा १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । चट्याङ्को कारण इलेक्ट्रोनिक डिभाइसमा क्षति पुगेको अवस्थामा समेत उक्त बीमालेखबाटै दाबी भुक्तानी पाइन्छ ।

स्वास्थ्य बीमा बोर्डले कोरोना उपचारमा किन भुक्तानी गरेन ?

काठमाडाैं  । सरकारले कोरोना संक्रमणको उपचार संक्रमितले आफ्नै खर्चमा अथवा कोरोना बीमाबाट प्राप्त हुने रकमबाट गर्नुपर्ने बताइसकेको छ । तर नेपालमा ६० वटा जिल्लामा स्वास्थ्य बीमा बोर्ड मार्फत आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ । ‘स्वास्थ्य बीमा ऐन, २०७४’ अनुसार स्वास्थ्य बीमा गरेको व्यक्ति कुनैपनि रोगबाट बिरामी भएमा बोर्डले बीमांक रकम सम्मको खर्च व्यहोर्नुपर्छ । तर कोरोना संक्रमणको उपचारको सम्बन्धमा भने बोर्ड अहिले सम्म मौन रहदा बीमा गराएका लाखौं परिवारहरु अन्योलमा परेका छन् । सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्ने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड मार्फत स्वास्थ्य बीमा गर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत बीमा गर्ने परिवारले सबै रोगको उपचारमा आर्थिक सुविधा पाउँछन् । ५ जना सदस्य रहेको एक परिवारले ३५ सय रुपैयाँ भुक्तानी गरेपछि एक वर्षका लागि १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा हुन्छ । अर्थात परिवारको कुनैपनि सदस्य कुनैपनि रोगबाट बिरामी परेमा स्वास्थ्य बीमा बोर्डले एक लाख रुपैयाँ बराबरको आर्थिक भार व्यहोर्दछ । तर अहिलेसम्म कोभिड संक्रमणमा परेका बिरामीको उपचारको कुनैपनि खर्चको भुक्तानी बोर्डले गरेको देखिदैन् । सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गरिदिँदा बोर्डले जोखिम बहन गर्नुपर्ने थिएन । तर अहिले सरकारले कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताइसकेको छ । यस्तो अवस्थामा स्वास्थ्य बीमा गरेका कुनैपनि नागरिकले कोरोना उपचार गराउँदा बोर्डले भुक्तानी दिनुपर्ने देखिन्छ । तर अहिलेसम्म यस सम्बन्धमा बोर्डले कुनैपनि निर्णय गरेको छैन् । स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक डा. राधिका थपलियाले यस सम्बन्धमा बोर्डले अहिले सम्म कुनैपनि निर्णय नगरेको बताए । उनले कोरोनाकै लागि बोर्डले भुक्तानी नगरेपनि संक्रमणमा परेका तर अन्य रोगको समेत उपचार गराईराखेका विरामीको औषधि उपचारको खर्च भने व्यहोरेको बताए । स्वास्थ्य बीमा ऐन, २०७४को दफा ६ मा स्वास्थ्य बीमा कार्यक्रममा समावेश नहुने सेवालाई स्पस्ट गरेको छ । जस अनुसार तोकिएको मूल्य भन्दा बढी रकमका चस्मा, श्रवणयन्त्र लगायतका स्वास्थ्य सम्बन्धी सहायक यन्त्र, प्लाष्टिक सर्जरी, कृत्रिम गर्भाधान सेवामा मात्रै बोर्डले भुक्तानी नगर्ने व्यवस्था छ । ‘स्वास्थ्य बीमा नियमावली २०७५’ को दफा १४ मा वार्षिक रुपमा बोर्डले तोकेभन्दा बढी मूल्यका चस्मा, श्रवण यन्त्र, सेटो छडी र बैशाखी, पोलिएको, गम्भीर अपाङ्गताको लागि गरिने उपचार, ओठ तालु काटिएकोमा गरिने सर्जरी बाहेकको प्लाष्टिक तथा कस्मेटिक सर्जरी, दाँत उखेल्ने, दाँच वा गिंजाबाट पिप निकाल्ने र दाँत सम्बन्धी घाउजोटको प्राथमिक व्यवस्थापन बाहेकको दन्त उपचारहरुमा बीमा कार्यक्रम समावेस हुनेछैन् । तर त्यस बाहेकका कुनैपनि रोगको उपचारमा भुक्तानी गर्नुपर्ने हुन्छ । तर बोर्डले विक्री गरेको बीमा पोलिसी र सरकारको पछिल्लो नीतिले बीमा पोलिसी खरिद गरेका र कोरोना संक्रमणमा परेका व्यक्ति समेत मारमा परेका छन् । निजी क्षेत्रका बीमा कम्पनीहरुले विक्री गरेको पोलिसि अनुसार सुविधा नदिएको भनि कम्पनीहरुलाई कारबाही गर्ने बताइरहेको सरकार आफैले भने स्वास्थ्य बीमा पोलिसि खरिद गरेका जनतालाई ठगि गरेको देखिन्छ । बोर्डले कोरोना संक्रमणमा परेका व्यक्तिको उपचार खर्च व्यहोर्ने हो भने पीसीआर परीक्षण देखि भेन्टिलेटरमा उपचार गराउँदा सम्म पाँच जना सदस्य रहेको एक परिवारका लागि अधिकतम एक लाख रुपैयाँ सम्म जोखिम व्यहोर्नुपर्ने हुन्छ । तर पीसीआर परीक्षणमा मात्रै ठूलो रकम खर्च हुने देखिएका कारण बोर्ड यस सम्बन्धमा कुनैपनि निर्णय नगरी बसिरहेको छ । बोर्डका अनुसार अहिले ६० वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ । जस अनुसार हालसम्म ३१ लख ६५ हजार नागरिकको स्वास्थ्य बीमा भएको छ । स्वास्थ्य बीमा सुविधा पाउन बोर्डमा सुचिकृत भएका देशभरका ३ सय ४९ अस्पतालमा उपचार गराएको हुनुपर्छ ।