कोरोना बीमाले पुर्नबीमा कम्पनीमा विवाद, सीईओको भूमिकाप्रति सञ्चालक समिति रुष्ट
काठमाडौं । कोरोना बीमामा करोडौं रुपैयाँ नोक्सान हुने भएपछि नेपाल पुर्नबीमा कम्पनीमा विवाद शुरु भएको छ । कम्पनीलाई ठूलो नोक्सानी हुनेगरी कोरोना बीमामा भाग लिएको, उधारो बीमा गराएको, कार्यप्रगति सञ्चालक समितिमा नबुझाएको भन्दै सञ्चालकहरुले प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझिको आलोचना गर्न थालेका छन् । तर प्रमुख कार्यकारी अधिकृत रायमाझिले भने आफ्नो कुनै गल्ती नभएको बताएका छन् । कोरोना बीमामा २० प्रतिशत बीमा शुल्क लिएर ४० प्रतिशत जोखिम धारण गर्नु पुर्नबीमा कम्पनीको गम्भिर त्रुटी भएको नेपाल पुर्नबीमा कम्पनीले गरेको छ । कोरोना बीमामा कुल बीमा शुल्कको २० प्रतिशत पुर्नबीमा कम्पनीले पाउने र ८० प्रतिशत २० वटा कम्पनीले ४÷४ प्रतिशत पाउने व्यवस्था गरिएको छ । बीमा दावी पर्दा २० वटा बीमा कम्पनीहरुले प्रति कम्पनी ७ करोड ५० लाखको दरले १५० करोड तिर्ने र पुर्नबीमा कम्पनी एक्लैले १०० करोड रुपैयाँ तिर्ने व्यवस्था छ । ‘८० प्रतिशत बीमा शुल्क लिने कम्पनीहरुले ६० प्रतिशत जोखिम लिनु, २० प्रतिशत बीमा शुल्क लिने पुर्नबीमाले ४० प्रतिशत जोखिम लिनु पुर्नबीमा कम्पनीको गल्ती भयो’ नेपाल पुर्नबीमा कम्पनी सम्बद्ध स्रोतले भन्यो,–‘प्रमुख कार्यकारी अधिकृत पनि बीमा नबुझेको मान्छे हुनु, सञ्चालक समितिमा पनि पुनर्बीमाबारे गहिरो ज्ञान भएको व्यक्ति नहुनुले कम्पनीले करोडौं रुपैयाँ गुमाउने भयो ।’ पुनर्बीमा कम्पनी लामो समयदेखि अध्यक्षविहिन छ । विज्ञ सञ्चालकले पनि राजीनामा दिएर हिडेका छन् । कम्पनीमा सर्बसाधारण सेयरधनीको १ अर्ब ६० करोड रुपैयाँ लगानी भएपनि उनीहरुको प्रतिनिधित्व शुन्य छ । प्रमुख कार्यकारी अधिकृतको भूमिकाप्रति सञ्चालक समिति रुष्ट बन्दै गएको छ । जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको, नयाँ विजनेश प्लान बनाउन नसकेको, कम्पनीको कार्यप्रगति सञ्चालक समितिमा पेश नगरेको, उधारो बीमा गरेको तर बीमा शुल्क उठाउन नसकेको, विदेशबाट बीमा व्यवसाय ल्याउन नसकेको, कर्मचारीमा भेदभावपूर्ण व्यवहार गरेको जस्ता आरोप प्रमुख कार्यकारी अधिकृत माथि लागेको छ । ‘सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत रायमाझीसँग गरेको करार सम्झौतामा कम्पनीको प्रगति विवरण ६/६ महिनमा सञ्चालक समितिमा पेश गर्नु पर्ने व्यवस्था गरिएको छ । रायमाझीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएको १० महिना भयो । अहिलेसम्म उनले आफ्नो कार्यप्रगति विवरण सञ्चालक समितिमा पेश गरेका छैनन’ सञ्चालक समिति सम्बद्ध स्रोतले भन्योे–‘अब उनीसँग स्पष्टीकरण सोध्ने बेला भएको छ ।’ कार्यप्रगति विवरण बुझाउन आफूले बिर्सेको रायमाझीले बताए । ‘तपाईले सम्झाइदिनु भयो । धेरै धेरै धन्यवाद’ उनले विकासन्युजसँग भने ‘काम भईरहेकै छ, रिपोटिङ गरौंला ।’ पुनर्बीमा मार्फत बीमा कम्पनीहरुसँग करोडौं रुपैयाँ उठाउन बाँकी रहेको तर त्यस्तो रकम उठाउन प्रमुख कार्यकारी अधिकृत असफल भएको स्रोतले बतायो । ‘कोरोना बीमाको शुल्क पनि कम्पनीको खातामा आएको छैन । काेराेना बीमा पाेलिसीमा पुनर्बीमा कम्पनीले पाउने बीमा शुल्क २५ कराेडभन्दा कम रहेकाे तर तिर्नु पर्ने दाहित्व ५० कराेड रूपैयाँ नाघिसकेकाे छ । अन्य बीमाको बीमा शुल्क पनि धेरै उधारो छ, हिसावमा आम्दानी बढेको छ, खातामा पैसा आएको छैन’ स्रोतले भन्यो । कोरोना बीमाको बीमा शुल्क आउने क्रम जारी रहेको र अरु बीमामा धेरै उधारो नभएको रायमाझिले बताए । कोडिभ बीमा सम्बन्धि सबै निर्णयहरु सञ्चालक समिति मार्फत वा सञ्चालक समितिको सहमति लिएर गर्दै आएको उनले बताए । कोभिड बीमा दावी भुक्तानी प्रक्रिया अगाडि बढाएको पनि उनले बताए ।
निःशुल्क उपचार पाएका बीमितलाई खर्च कटाएर भुक्तानी दिन बीमा समितिकाे निर्देशन
काठमाडौ । काेराेना बीमा गराउने वीमितलाई दाेहाेराे लाभ नदिन बीमा समितिले सम्बन्धित कम्पनीलाई निर्देशन दिएकाे छ । समितिले राज्यबाट निःशुल्क सुविधामा उपचार पाएका नागरिकहरूकाे बीमा दावी भुक्तानी गर्दा उनीहरूकाे उपचारमा राज्यले गरेकाे खर्च कटाैति गरेर मात्र भुक्तानी दिन भनेकाे छ । असाेन १९ गते मन्त्रिपरिषद्ले आर्थिक अवस्था कमजोर भएका, अशक्त, असहाय, अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटने स्वास्थकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, लगायत जाेखिम क्षेत्रमा कार्यरत कर्मचारीकाे हकमा भने कोरोना परिक्षण र उपचार खर्च सरकार निःशुल्क व्यहोर्ने तर उनीहरूले बीमा गराएकाे अवस्थामा उपचार खर्च बीमा रकममा कटाैति गर्ने निर्णय गरेकाे थियाे । साेही निर्णयका अनुसार बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरूलाइ निर्देशन जारी गरेकाे बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । बीमा गराएका र नगराएका छुट्याउन सजिलोे भएकाले दोहोरो लाभ असुल्न नमिल्ने र कोही पनि बीमा कम्पनी र सरकारका सुविधाबाट वञ्चित हुनु नपर्ने उनले बताए ।
एनएलजी इन्स्योरेन्स कार्त्तिक ७ गतेदेखि बन्द हुने, आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न आग्रह
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको कार्यालय आगामी कार्तिक ७ गतेदेखि बन्द हुने भएको छ । दशैंको अवसरमा कार्तिक ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक बिदा भएकोले कम्पनीले साे अवधिसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको हो । यससँगै सो अवधिमा बीमासँग सम्बन्धित अत्यावश्यक सेवाको जानकारीको लागि ग्राहकले कम्पनीका सम्बन्धित कर्मचारीसँग सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । बिमितले बीमा पोलिसी र दावी सम्बन्धी सेवाको लागि कम्पनीले उपलब्ध गराएको सम्बन्धित कर्मचारीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।