कोरोना संक्रमणबाट मृत्यू भएका गिरीको परिवारलाई एलआईसी नेपालले गर्यो १ करोड बीमा दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालले १ करोड रुपैयाँ बराबरको बीमा गराएको एक महिना अवधि नपुग्दै मृत्यु भएका एक बिमितको हकवालालाई बीमा दाबी भुक्तानी गरेको छ । एलआईसी नेपालमा बीमा गराएका सुवासचन्द्र गिरीको कोरोना भाइसर (कोभिड–१९) संक्रमणबाट निधन भएपछि दाबी भुक्तानी गरिएको कम्पनीले जानकारी दिएको छ । गिरी नवलपरासीका नेपाली काँग्रेसको जिल्ला सदस्य समेत थिए । नवलपरासीमा ब्लक उद्योगका संचालन गिरी ३८ वर्षका थिए । गत साउन ४ गते एजेन्सी म्यानेजर प्रभा ज्ञवालीबाट गिरीको बीमा भएको थियो । एक करोड रुपैयाँ बराबरको बीमा गराएका गिरीको बीमा गरेको एक महिना नपुग्दै (२६ दिनमा नै) मृत्यु भएको थियो । बीमा गराउने बेला उनलाई कोरोना संक्रमण देखिएको थिएन । तर साउन अन्तिम सातामा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । गत भदौ १ गते गिरीको निधन भएको कम्पनीले जानकारी दिएको छ । ‘नेपाली कांग्रेस र एलआईसी नेपालको संयुक्त आयोजनामा एक कार्यक्रम गरेर मृतक गिरीको हकवालालाई दाबी भुक्तानीको चेक प्रदान गरियो, बीमाप्रतिको सकारात्मक धारणा वृद्धी हुने भएकोले र नेपाली काँग्रेसले पनि औपचारिक कार्यक्रम गरौं भन्ने आशय व्यक्त गरेकोले यसरी चेक हस्तान्तरण गरिएको हो,’ एलआईसी नेपालको एजेन्सी म्यानेजर ज्ञवालीले भनिन् ।

जनरल इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर मंगलबार (असोज २७ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल जीआईसी दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०१ रुपैयाँदेखि अधिकतम ३०५ रुपैयाँ तोकेको छ । यस कम्पनीले सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि कुमारी क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

पाैने ९ लाख बढीले भरे सानिमा जनरल इन्स्योरेन्सकाे आईपीओ

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा ८ लाख ८२ हजार ७ सय ३ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज(असाेज २५ गते) आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा ८२ हजार ७ सय ३ जनाले एक करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीले माग गरेको भन्दा ६.९५ गुणा बढी हो । कम्पनीले  (असोज २१ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीले असोज ५ गतेमात्र साे मात्राकाे सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः १०९.१ रुपैयाँ र ४.५४ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।