रिलायबल नेपाल लाइफद्वारा घातक रोगबाट असक्तलाई बीमा दावी भुक्तानी
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको कारणबाट असक्त भएका बीमित कमल बहादुर थापालाई बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले असोज २१ गते असक्त थापालाई दावी भुक्तानी गरेको हो । थापाले कम्पनीबाट जीवन बीमा गरेका थिए । कार्यक्रममा कम्पनीका बाग्लुङ्ग शाखाका प्रबन्धक प्रेम प्रसाद पौडेलले बीमितहरुलाई समयमा नै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको बताउँदै कम्पनीको नीति अनुरुप यथासिघ्र दावी भुक्तानी गरिएको बताए ।
कोरोना बीमाको दाबी भुक्तानी नपाइने अवस्था आएकै हो ?
काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीलाई लिएर अहिले केही हल्ला र चर्चा चलेका छन् । पुनर्बीमा नभएको कारण कोरोना बीमाको दाबी भुक्तानी नपाइने, सबै बिमितलाई दाबी भुक्तानी दिए कम्पनी टाट पल्टिने भन्नेसम्मका हल्ला पनि बजारमा चलेका छन् । कोरोना बीमा पोलिसीको सन्दर्भमा पछिल्लो समय केही टिकाटिप्पणीहरु भइरहेका छन् । धेरै जनामा संक्रमण देखिएर ठूलो परिमाणको रकम भुक्तानी गर्नुपरे कम्पनीहरुले दाबी भुक्तानी गर्न नसक्ने र बनाइएको कार्यविधि अनुसार सरकारले भुक्तानी नगर्ने जस्ता कारण देखाएर दाबी भुक्तानीमा संसय पैदा गरिएको छ । पीसीआर पद्धतिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएमा १ लाख र ५० हजार रुपैयाँ पाइने गरी ल्याइएको दुई प्रकारको बिमांक रकमको कोरोना बीमा बीमाको सिद्धान्त विपरित भएको टिकाटिप्पणी पनि भएको छ । तर, समितिले भने संक्रमितलाई केही हदसम्मको आर्थिक राहत पुगोस भन्ने अभिप्रायले यस्तो बीमा पोलिसी ल्याएको थियो । तरपनि कोराना महामारी नै आफै विश्वमा नै नौलो किसिमको रोग भएको र यसको फैलावट तिव्र गतिमा छ । वृद्ध अवस्था तथा बिरामी भएका व्यक्तिहरुमा संक्रमण भए ज्यानै जानेसम्मको जोखिम अधिक रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । नेपालमा कोरोना भाइरस एकै पटक तिव्र गतिमा फैलियो भने नेपालमा बीमा कम्पनीहरुले दाबी भुक्तानी दिन सक्लान कि नसक्लान भन्ने चिन्ता र चासो नै अहिले सबैभन्दा प्रमुख भएर आएको छ । कोरोना बीमाको लोकप्रियता अत्याधिक रहेको विक्री भएको पोलिसी संख्याले पनि देखाएको छ । छोटो समयमै यो बीमालेखको लोकप्रियता बढेका कारण पनि दाबी भुक्तानीप्रति शंका गरिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा गराउने भनेकै आर्थिक जोखिम रक्षावरणको लागि भएकोले कोरोना बीमाको दाबी भुक्तानी नपाइने भन्ने कुरै नहुने बताउँछन् । कुनै विशेष कारणले कुनै समयमा सामान्य ढिलाई हुदैमा दाबी भुक्तानी नै नपाइने भयो कि भनेर आत्तिनु नपर्ने उनको भनाइ छ । ‘आफ्नो कागजात र विवरण मिलाएको अवस्था बिमितले दाबी भुक्तानी पाउँछन्, यो बीमाको सिद्धान्त हो, कुनैपनि बीमा प्रोडक्टको लागि यही सिद्धान्त लागू हुन्छ, कोरोना बीमा पनि एउटा प्रोडक्ट भएकाले एकैपटक महामारी फैलियो भने पनि बीमा गराएका सबैले पैसा पाउँछन्, यसमा चिन्ता गर्नु वा शंका गर्नुपर्ने केही कारण छैन,’ कार्यकारी निर्देशक पौडेलले भने । जुन प्रकारको जोखिमको आर्थिक रक्षावरणका लागि बीमा गराइएको हुन्छ, त्यस्तो जोखिम आइपर्ने वित्तिकै प्रक्रिया पुर्याएर दाबी भुक्तानी पाइन्छ भनेर बीमा गराइने भएकोले पैसा नपाउने भन्ने कुनै नहुने उनको भनाइ छ । तर, प्रकृयागत रुपमा जादा, धेरै संख्यामा दाबी पर्दा कुनै बेला २/४ दिन ढिलो/चाडो हुनसक्ने भएपछि सकेसम्म चाढो भुक्तानीको लागि सबै बीमा कम्पनीहरुलाई निर्देशन दिने गरिएको कार्यकारी निर्देशक पौडेलको भनाइ छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कोरोना बीमा गराइसकेका बिमितहरुले दाबी भुक्तानी पाउँन कुनै समस्या नभएको बताए । कोरोना महामारी तिव्र रुपमा फैलिएर ठूलो परिमाणको दाबी भुक्तानी गर्नु पर्ने अवस्थामा कम्पनीहरुले मात्रै नसक्ने अनुमान गर्दै पुनर्बीमा कम्पनी, बीमा समिति तथा सरकारले रकम भुक्तानी गर्ने गरी सीमा नै कायम गरिएको उनको भनाइ छ । ‘महामारीको समयमा बिमितलाई समस्या पर्ला भनेर नेपाल सरकार, बीमा समिति, अर्थ मन्त्रालय तथा बीमा कम्पनीहरुको समन्वयमा दाबी भुक्तानी गर्ने सीमा र दायित्व निर्धारण गरिएको छ, राज्यले अन्तिम दायित्व व्यहोर्ने भनेकै छ, यति तयारी गरेर ल्याइएको कोरोना बीमाको पनि दाबी भुक्तानी पाइदैन भनेर शंका गर्नु आवश्यक छैन,’ बिमक संघका महासचिव समेत रहेका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।
बीमा समितिको अध्यक्ष बन्न दौडधूप शुरु, प्रतिस्पर्धीलाई खुइल्याउन उजुरबाजुर
काठमाडौं । बीमा समितिको अध्यक्ष पद खाली हुन ३ महिना बाँकी छ । उक्त पदका आकांक्षीहरु प्रतिस्पर्धामा उत्रेका छन् । बीमा कम्पनीहरुको नियामक संस्थाको कार्यकारी अध्यक्ष पदमा पुग्न आकांक्षीहरु नेताहरुलाई खुशी बनाउनेदेखि आफ्ना प्रतिस्पर्धीलाई खुइल्याउने खेलमा लागेका छन् । अध्यक्ष पदका लागि चिरञ्जीवि चापागाईसहित नेपाल पुर्नबीमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाँई, बीमा विज्ञ डा.रविन्द्र घिमिरे, नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह, नेपाल राष्ट्र बैंकका निर्देशक रामशरण खरेल, पुर्नबीमा कम्पनीका सञ्चालक रमेश लम्साल, बीमा समितिकाे कामु कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान कार्की, नेपाल स्टक एक्स्चेञ्जका पूर्व अध्यक्ष टंक पनेरु लगायत दौडधूपमा छन् । सरकारले जिम्मेवारी दिए आफू दोस्रो कार्यकालको लागि काम गर्न इच्छुक रहेको अध्यक्ष चापागाईले बताउँदै आएका छन् । गतिहिन अवस्थाको बीमा क्षेत्रलाई गतिशिल बनाएको, बीमाको पहुँचमा उल्लेख्य वृद्धि गराएको, जीवन बीमा क्षेत्रलाई सही ट्रयाकमा ल्याउन सफल भएको तर निर्जीवन बीमा बजारमा उल्लेख्य सुधार गर्न नसकिएको उनको भनाई छ । क्यानका पूर्व अध्यक्ष तथा चाटर्ड एकाउन्टेन्ट महेश गुरागाँई पनि समितिको अध्यक्षको आकांक्षी हुन् । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नजिक छन् । मन्त्री अध्यक्ष रहेको नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा गुरागाई सदस्य छन् । उनी नेकपाभित्र पनि पूर्व एमाले निकट हुन् । ‘अहिले बेला भएको पनि छैन, दौडधूप गर्नु पर्ने मान्छे पनि म होइन’ गुरागाँईले विकासन्युजसँग भने । पोखरा विश्वविद्यालयका एशोसिएट प्रोफेसर डा रविन्द्र घिमिरे पनि बीमा समितिको अध्यक्षका आकांक्षी हुन् । बीमा विषयमा विद्यावारिधि गरेका, बीमा विषय नै अध्यापन गर्ने, बीमाको विषयमा अनुसन्धान गर्ने कार्य गर्दै आएका डा. घिमिरे यसअघि पनि बीमा समितिको अध्यक्षको रेशमा रहेका थिए । नेपाल बीमक संघको पूर्व अध्यक्ष तथा नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह पनि बीमा समितिको अध्यक्षको आकांक्षी हुन् । ‘बीमा बुझेको र काम गर्न सक्ने मान्छे बीमा समितिको अध्यक्ष भए हुन्थ्यो भन्ने चाहानेले मलाई योग्य देखेका होलान । मेरो नाम लिएका होलान् । तर म दौडधूपमा लागेको छैन’ शाहले भने । नेपाल राष्ट्र बैंकका निर्देशक डा रामशरण खरेल पनि बीमा समितिकाे अध्यक्षकाे आंकाक्षी हुन् । यसअघि पनि राष्ट्र बैंकका निर्देशक पदमा कार्यरत चिरञ्जीवी बीमा समितिकाे अध्यक्षमा नियुक्त भएका थिए । प्रधानमन्त्रीकाे विश्वासपात्र डा युवराज खतिवडाकाे ज्वाइ भएकाेले खरेलकाे सम्भावना निकै छ । अमेरिकाकाे लागि राजदूत भएर जानुपूर्व खतिवडा आफ्ना ज्वाइलाई कार्यकारी प्रमुख पदमा नियुक्ती दिलाउने साेचमा रहेकाे स्राेतले बतायाे । संस्थापक सीईओ समेत रहेका नेपाल पुर्नबीमा कम्पनीका सञ्चालक रमेश लम्साल पनि बीमा समितिको अध्यक्षका आंकाक्षी हुन् । बीमा क्षेत्रमा झण्डै तीन दशक काम गरेका उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता बामदेव गौतम लगायत राजनीतिक नेतृत्वसँग निकट छन् । हाल नयाँ बीमा कम्पनी खोल्ने कार्य अगाडि बढाई रहेका श्रीमान कार्की पनि बीमा समितिको अध्यक्षको आकांक्षी हुन् । उनी बीमा समितिमा कामु कार्यकारी निर्देशकबाट ३ वर्षअघि अवकाश भएका थिए । उनी स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नजिक रहेर नेकपामा सक्रिय रहेको जानकारहरु बताउँछन् । नेपाल स्टक एक्सचेञ्चका पूर्व अध्यक्ष तथा सीए टंक पनेरु पनि बीमा समितिको अध्यक्षको आकांक्षी हुन् । घर पूर्वी नेपाल, पार्टी पूर्व एमाले, निकटता पूर्व प्रधानमन्त्री झलनाथ खनाल भएकोले उनलाई पनि बलियो आकांक्षीको रुपमा हेरिएको छ । यसअघि धितोबोर्डको अध्यक्ष पद खाली हुँदा पनि उनको नाम आएको थियो । समितिको अध्यक्ष पद आगामी पुसको अन्तिम साता खाली हुँदैछ । वर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईले पुनः सोही पदमा दोहोरिने चाहाना राखेको सुइको पाएपछि प्रतिस्पर्धीहरु उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्नेदेखि अदालतसम्म मुद्दा हाल्ने, वर्तमान अध्यक्ष विरुद्ध प्रचारप्रसार गर्ने कार्यमा, गतिविधिमा जोड दिएका छन् । ‘केही पुराना र असान्दर्भिक विषयहरु उठाएर बीमा समिति र अध्यक्षबारे गलत सन्देश प्रवाह भएका छन् । चुनावका प्रतिस्पर्धीलाई खुइल्याउने राजनीतिक अभ्यास जस्तै देखिएको छ । यो राम्रो भएन’ प्रतिस्पर्धीमध्ये एकले भने ।