तनहुँमा पशु बीमामा कृषकको आकर्षण: ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको बीमा

दमाैली । तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङ्ख्या बढेको छ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङ्ख्या पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १० हजार ७९५ पशुको बीमा गरिएकामा आव २०७६/७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार जिल्लामा ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बीमा गरिएको छ । बीमावापत सरकारले एक करोड ९० लाख ८२ हजार २५० प्रिमियम शुल्क सहयोग गरेको छ भने सम्बन्धित कृषकले ४७ लाख ७० हजार ५६२ भुक्तानी गरेका छन् । गत आर्थिक वर्षसम्म पशु बीमाका लागि सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत भुक्तानी गर्नुपर्ने प्रावधान रहेको थियो । जिल्लामा सबैभन्दा बढी कुखुरामा बीमा गरिएको छ । एक करोड ३३ लाख २० हजार मूल्य बराबरका २२ हजार २०० कुखुरा, पाँच करोड ३९ लाख ९० हजार मूल्य बराबरका पाँच हजार ३९९ बाख्रा, १२ लाख ५० हजार मूल्य बराबरका पाँच हजार माछा, १७ करोड ५० लाख मूल्य बराबरका दुई हजार गाई, १३ करोड तीन लाख मूल्य बराबरका एक हजार ३०३ भैँसी र ७७ लाख ८५ हजार मूल्य बराबरका ५१९ बङ्गुरको बीमा गरिएको केन्द्रले जनाएको छ । त्यसमध्ये गाईको बीमामा कृषकले २१ लाख ८७ हजार ५००, भैंसीको बीमामा १६ लाख २८ हजार ७५०, बाख्राको बीमामा छ लाख ७४ हजार ८७५, बङ्गुरको बीमामा रु ९७ हजार ३१२, कुखुराको बीमामा एक लाख ६६ हजार ५०० र माछाको बीमामा १५ हजार ६२५ तिरेका छन् । तनहुँ जिल्लामा एनएलजी, सगरमाथा, प्रुडेन्सियल र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पशु बीमाको सेवा दिँदै आएका छन् । बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । “पशुको मृत्यु भएको खण्डमा कृषकले बीमामार्फत राहत पाउँछन्”, उनले भने, “मैले सात वर्षदेखि गाईको बीमा गराउँदै आएको छु ।” यस अवधिमा उनले १२ वटा गाईको मृत्यु भएपछि बीमाबाट भुक्तानी लिएका छन् । चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषक उत्साहित भएको भट्टराईले बताए । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले बीमा कार्यक्रम राम्रो भए पनि दाबी भुक्तानी लिने बेलामा इन्स्योरेन्स कम्पनीले दुःख दिने गरेको बताए । “मैले भैँसीको बीमा गराएको थिएँ, भैँसी मरेपछि भुक्तानी दाबी गर्न जाँदा चार महिनासम्म झुलाउने काम भयो”, पौडेलले भने । व्यास नगरपालिका–१ का कुखुरापालक कृषक खेमराज अधिकारीले पनि भुक्तानी प्रक्रिया झण्झटिलो भएकाले सहज बनाउनुपर्ने बताए । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएको छ । रासस

भदौमा निर्जीवन बीमा शुल्कमा देखियो कोरोना असर, साउनको भन्दा ६२ करोड कम

काठमाडौ । साउनको तुलनामा गत भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क ६२ करोड रुपैयाँले घटेको छ । गत साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । भदौ महिनामा भने २ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको बीमा समितिले जानकारी दिएको छ । भदौ महिनामा २९ करोड बीमा शुल्क संकलन गरेर शिखर इन्स्योरेन्स कम्पनी अग्र स्थानमा रहेको छ । साउनमा शिखरले २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । भदौ महिनामा सगरमाथा इन्स्यारेन्स कम्पनीले १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत साउन महिनामा भने ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेर सगरमाथा इन्स्योरेन्स कम्पनी अग्र स्थानमा थियो । भदौ महिनामा सिद्धार्थ इन्स्यारेन्स कम्पनीले १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थले गत साउनमा २३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । भदौ महिनामा नेको इन्स्यारेसन्स कम्पनीले १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउनमा सो कम्पनीले २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । एनएलजी इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो कम्पनीले साउन महिनामा १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बिमक संघका सचिव चंकी क्षेत्रीका अनुसार कोरोना महामारीका कारण निर्जीवन बीमा क्षेत्रको बीमा शुल्कमा प्रभाव देखिएको होे । ‘बीमा कम्पनीहरुले कोरोना महामारीको कारण भएको लकडाउनका लागि यातायात बीमा शुल्कलगायत विभिन्न किसिमका छुटहरु प्रदान गरेका थिए, त्यही डिस्काउन्ट तथा बीमा कम्पनीहरुमा कोरोना महामारीले पारेका अन्य प्रभावहरु तथ्यांकले देखाएको हो, विश्वव्यापी रुपमा कोरोना महामारीको प्रभाव देखिएको बेला नेपाली बीमा क्षेत्रमा त्यसको असर देखियो’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैतदेखिकाे जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले असोज मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भएबापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । कोभिड-१९ को कारण आवागमन र आर्थिक मारमा परेर समयमा पोलिसीको नविकरण बीमा शुल्क तिर्न नसकेका बीमितहरुलाई मध्यनजर गर्दै कम्पनीले उक्त छुटको घोषणा गरेको हो । समयमा तिर्नु पर्ने नविकरण बीमाशुल्क नतिरेको कारण लाग्ने बिलम्ब शुल्क असोज १५ गतेदेखि ३० गतेभित्र नविकरण बीमाशुल्क भुक्तान गरेमा बन्दाबन्दी शुरु अवधि अर्थात २०७६ चैत ११ गतेदेखिको बिलम्ब शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ-आफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले आफुसँग आवद्ध सबै बीमितहरुलाई आग्रह गरेको छ । साथै, बीमितहरुले आफुलाई पायक पर्ने समयमा घरबाटै इसेवा मार्फत नै बीमाशुल्क भुक्तानी गर्न सक्ने छन् ।