कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं
कोरोना भाईसरले नेपाल मात्र नभई विश्व नै आक्रान्त बनेको बेला नेपालमा अहिले सबैभन्दा आकर्षक मानिएको कोरोना बीमा गराउन मानिसहरु निकै उत्साहित बनेका छन् । यस्तो लाग्छ, यो हात खाली नजाने चिट्ठा नै हो र यो छुटायो भने घाटा लाग्छ जस्तो ज्ञान सबैमा पलाएको छ । मान्छेहरु यसैपनि जमघट हुन पाइंदैन । एकदुई जना साथीहरु भेट हुंदा होस् वा मोबाइल वा मेसेञ्जर, भाइबरमा कुरा गर्दा शुरुमा उनीहरु एकअर्काको सञ्चोबिसञ्चोको हालखबर सोध्छन् र दोश्रो कोरोना बीमा गरेको छ कि छैन भनेर सोध्छन् । नगरेको मान्छेलाई कोरोना लागेमा १ लाख पाइने लोभ देखाउंछन् । उनीहरु आफूले त हजुरबा, हजुरआमा, मामा, आमा, दिदी बहिनी, भिनाजु, सालो, श्रीमती, छोराछोरीको बीमा गरिदिएको गफ हान्छन् । यी यस्ता मान्छे हुन्, जसले भूकम्पले आफ्नो घर भत्काएपछि पनि आफ्नो घरको कहिल्यै बीमा गराएनन् । यी यस्ता मान्छेहरु हुन्, जसले मोटरसाइलको व्यापक बीमा गर्दा तिर्नुपर्ने पैसा अलि बढी देखेर ब्लुबुक नविकरणको लागि तेश्रो पक्ष बीमा मात्रै गराउँछन् । कोरोना बीमा गराउनेले बीमा भनेको के हो बुझ्ने कुरा पनि भएन, सरोकारको बिषय पनि भएन । यत्ति हो कि, यो बीमा गरेमा हातहातै लाख रुपैयाँ नगद पाइन्छ र त्यसले अरु गर्जो टार्न पाइन्छ । नेपालमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपालमा चिट्ठा खुलेको छ । अनुदानमा सहभागी हुने भए ३०० र नभए ६०० तिरिपछि कुनै न कुनै दिन १ लाख रुपैयां पाइन्छ । त्यसैले सचेत जनताहरु कोरोना नै लागे पनि कुनै घाटा छैन भन्ने सोचमा छन् । कोरोना लागेमा सरकारले उपचार गरिदिन्छ, लागेको खर्च सरकारले नै गरिदिने भएपछि बीमाले दिने ९९ हजार ४०० रूपैयाँ त चोखो फाइदा हो । त्यसैले कोरोना लागेपनि केहि गुमाउनु नपर्ने र नगदी फाइदा हुने भएपछि मान्छेहरु अहिले हट केकको रुपमा रहेको कोरोना बीमा लिन उत्साहित छन् । किनकी हरेकलाई थाहा छ, अहिलेसम्मको डाटा अनुसार संक्रमण भएकाहरुमध्ये १ प्रतिशत भन्दा कम मान्छे मर्ने गर्दछन् र कुनै पनि मान्छे त्यो १ प्रतिशतभित्र पर्छु भन्ने कल्पना समेत गर्दैन । विश्वभर कहिंकतै नभएको यो कोरोना चिट्ठा नेपालमा खोलिएको कारण पनि पैसामा बढि सम्बेदनशील देखिने नेपालीहरु बढि आकर्षित भएका हुन् । कुनै पनि महामारीको बीमा संसारमै कहिंकतै गरिदैन । बीमा गरिएका पोलिसीहरुमा पनि अपबादको रुपमा माहामारी, गृहयुद्ध, बाह्य युद्ध आदिबाट भएको क्षतिको कभरेज पोलिसीले कभर नगर्ने स्पष्ट लेखिएको हुन्छ । जुन अबस्थामा अन्य पोलिसीहरुले समेत कभर गर्दैन, त्यसैलाई बीमा गर्ने अचम्मको अफर नेपालमा ल्याइएको छ । त्यसमाथि बीमा भनेको क्षतिपूर्तिको सिद्धान्त हो । क्षतिपूर्तिमा बीमितको क्षतिको हिसावकिताब निकालिन्छ, त्यसमा बिल भर्पाइ र भएका खर्च र नोक्सानीको लेखाजोखा हुन्छ । भएको खर्चको क्षति बीमितलाई भराइन्छ । तर कोरोना बीमा पोजेटिभ रिपोर्ट आउँदैमा कसैलाई कुनै नोक्सानी भएको हुन्न र भए पनि त्यसको खर्च राज्यले गरिदिन्छ, जसमा अहिलेसम्म करिब १५ अर्ब राज्यले यसबापत खर्च गरिसकेको छ । लकडाउन, निषेधाज्ञाको बेला अरु बीमा नभएपनि नेपालमा २/३ दशक बीमामा बीमामा काम गरेका बीमाका दिग्गजहरु यहि पोलिसी बेच्न अफिस खोलेर बसेका छन् । बीमा भनेको के हो ? कसरी ? किन ? गर्ने भन्ने कुरामा हस्तक्षेपकारी भूमिका निभाएर राज्यलाई सल्लाहा सुझाव दिनुपर्ने यी दिग्गज सिइयोहरुको ध्यान त्यतातिर जानु त कता हो कता, यहि चिट्ठा बेचेर जागिर जोगाउन र टार्गेट पुरा भएको रिपोर्ट बनाउन कस्सिएका छन् । भदौ दोस्राे सातासम्म १० लाखलाई कारोना चिट्ठा बेचिएको छ । दावीतर्फ हेर्ने हो भने यस बीचमा करीब ६०० जना भाग्यमानीहरुले यो चिट्ठा हात पारेका छन् । कोरोनाको संक्रमणको दर हेर्ने हो भने धेरै भाग्यमानीहरु थपिने अनुमान गर्न सकिन्छ । कोरोनाबाट त्यो अवधीसम्म करिब ३८ हजार संक्रमित छन् । यो संक्रमण भनेको जांचिएकाहरुको आंकडा हो, नजांचिएकाहरुमा कोरोनाको संक्रमण कति छ, कसैलाई थाहा छैन । सबैको जाँच गर्ने हो भने योभन्दा दशौं गुणा बढि संक्रमण हुने आंकलन सजिलै गर्न सकिन्छ । अझ नेपालमा संक्रमणको दर निकै उकालो लागेको छ । कमजोर राज्य संयन्त्र, फितलो अनुगमन र यसबारे गम्भीर नभएका जनताहरुको कारण यो समूदायस्तरमा फैलिएर भयावह रुप लिनसक्ने आंकलन गर्न थालिएको छ । छिमेकी देश धपक्कै बलेको छ । यस्तो अबस्थामा संक्रमित थपिंदै जांदा त्यसको असर जनस्वास्थ्यमा त पर्ने नै भयो, त्यसको मार बीमा कम्पनीहरुमा सोझै पर्ने देखिन्छ । त्यहि मान्छेलाई कोरोना पोजेटिभ आउने, अर्को दिन नेगेटिभ आउने र संक्रमित निको भएर घर फर्केको चक्र सबैले देखिएकै कुरा भयो । पोजेटिभ आएपछि त्यहि रिपोर्ट देखाएर १ लाख लिने र नेगेटिभ आएपनि त्यो लिएको १ लाख भूस हुने अचम्मको दृष्य हामी देखिरहेका छौं । अझै १ लाखको लागि रिपोर्ट बन्ने आशंका बढिरहेको बेला यसको अनुगमनको पाटो कसैले नसोचेकै बेस होला । बीमा तिर्ने भनेको संकलित रकमबाटै हो, संसारमा यस्तो अचम्मको अफर कतै नभएकोले यसको रिइन्सुरेन्स हुने कुरा पनि भएन । संक्रमितहरु बढ्दै जाँदा यसको दावी पनि बढ्दै जान्छ र चिट्ठा पाउनेहरु पनि बढ्दै जान्छन् । अनुदानको आशा नगरी ६०० को हिसाव गर्दा पनि १६६ जनाको बीमा गरिएकोमा त्यसमध्ये १ जना मात्रै संक्रमित भयो भने त्यो एकजनाले १६६ जनाले तिरेको प्रिमियिमको पैसा लैजान्छ । संक्रमण दर यहि हिसावले बढ्दै जाँदा कम्पनीहरुले संकलन गरेको प्रिमियमले कतै थेग्न सक्दैन । यो कुन स्राेतबाट तिर्ने भन्ने सम्बन्धमा सरकारले गजबको ट्रिक अपनाएको छ । पहिलो, उठेकोबाटै चलाउने, त्यसले नपुगे नेपालकै पुनर्बीमा कम्पनीबाट तिर्ने, त्यसले नपुगे बीमा कम्पनीहरुले जोगाएर जगेडामा राखेको पैसा तान्ने, त्यसले नपुगे रेगुलेटरको रुपमा रहेको बीमा समितिले तिर्ने, त्यो सकिएपछि सरकारले तिर्ने । बीमा कम्पनीहरुको रेगुलेरले आफ्नो कोषबाट बीमा दावी भुक्तानी गर्ने अचम्मको कुरा पनि हामीलाई सामान्य लाग्न थाल्यो । सरकारले दिने भनेको प्रिमियमको अनुदान कसैले हिसाव नगरौं, किनकी १ वर्षभन्दा अघिको कृषि बीमाको अरब हाराहारीको रकम अझैसम्म बीमा कम्पनीले पाएका छैनन् भने, यो महामारीको पैसाको हिसाव गर्नु व्यर्थ छ । समग्रमा देश अनुसारको भेष त गर्नै पर्ने भयो । सबै नागरिकहरुलाई यो बीमाको बारेमा धेरै बुझाउने झंझट नगरौं, यत्ति मात्रै भनौं, रु. ३०० वा ६०० तिरौं, रु. १ लाखको चिट्ठा किनौं । कम्पनीहरुले पनि कोरोनाको पैसा यति उठायौं भनेर टार्गेटमा राखौं, तिरेको पैसाको हिसाव नगरौं । राज्य, कम्पनी, जनता सबैजना यहि खेतीमा लागिरहेको बेला पाखामा बसेर बेकारमा किन किचकिच गर्नु ?
सगरमाथा इन्स्योरेन्सकाे २३औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भदौ १३ गते भर्च्युअल विधिमार्फत सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तूलनामा १८.४३ प्रतिशतले व्यवसाय वृद्धि गरि १ अर्ब १७ करोड रुपैया प्रिमियम आर्जन गरेको छ । एनएफआरएस वित्तीय विरण अनुसार कम्पनीले १९ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सभाबाट कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र सोसँग सम्बन्धित सम्पुर्ण अनुसूचीहरु पारित भएको जानकारी गराउँदै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने अधिकार समेत सेयरधनीका तर्फबाट संचालक समितिलाई प्रदान गरियो । सभामा सेयरधनीले यस्तो विषम परिस्थितिमा कम्पनीले प्रविधिकै प्रयोग गरि बीमालेखहरु पनि जारी गर्ने व्यवस्थालाई अघि बढाउन समेत सुझाव दिएका छन् । कोभिड-१९ को असरका बाबजुद चालु आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले २ अर्ब १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन गत आर्थिक वर्ष २०७५७६ को तुलनामा ०.८३ प्रतिशत अर्थात एक करोड ८१ लाख रुपैयाँले वृद्धि भएको कम्पनीले जनाएको छ ।
कुन उद्योग चल्यो, कुन चलेन भनेर पत्ता लगाउन गाह्रो हुन्छः कम्पनी
काठमाडौ । बीमा समितिले कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको जोखिम समूहको बीमा दरमा छुट दिन भदौ ८ गते निर्देशन जारी गर्यो । तर कुन मोडेलमा बन्द उद्योगहरुको छुट दिने भन्ने अन्योल सिर्जना भएको बीमा कम्पनीहरुले बताएका छन् । सो निर्देशिनलाई आधार मान्ने हो भने बीमा कम्पनीहरुले कोरोना महामारीका कारण बन्द रहेका उद्योगहरुलाई एक तिहाईका दरले बीमा शुल्क छुट दिनुपर्छ । समितिले यसअघि पनि लकडाउनको समयमा नचलेका मोटरहरुको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको थियो । समितिले मोटर बीमामा २ तिहाइका दरले बीमा शुल्क छुट दिन दिएको निर्देशन कार्यान्वयन भइसकेको छ । मोटर बीमाको बीमा शुल्क छुट गर्दा आफूहरुको साढे २ अर्ब रुपैयाँ बीमा शुल्क कम भएको कम्पनीहरुले बताउँदै आएका छन् । लकडाउनको समयमा बन्द रहेका उद्योगको बीमा शुल्कमा छुट दिनु भन्न्रे बीमा समितिकाे उदेश्य राम्राे भएपनि कुन मोडलमा दिने भन्ने टुंगो नलाग्दा अन्योल भएको बीमकहरू बताउँछन् । ‘अहिलेको परिवेशमा बन्द उद्योगलाई छुट दिनु राम्रो कुरा हो तर कसरी छुट दिने भन्ने विषयमा हाम्रो छलफल चलिरहेको, केही दिनमा बिमक संघ र बीमा समितिले यसबारेमा निष्कर्ष निकालेपछि कुन मोडलमा जाने भन्ने तय हुन्छ, समितिको निर्देशन कसरी कार्यान्वयन गर्ने भन्ने पक्षमा हामी स्पष्ट हुन बाँकी छ’, एक बीमा कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतले भने । बीमा शुल्कमा छुट दिन कुन उद्योग चलेको र कुन उद्योग नचलेको पत्ता लगाउन केही कठिनाई हुने बीमकहरूकाे भनाइ छ । अहिलेको विषम परिस्थितिमा कुन उद्योग चल्यो तथा कुन चलेन भन्ने नै विश्वासिलाे जानकारी दिने निकायको अभाव रहेको बीमा कम्पनीहरुको गुनासो छ । तर अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सबै उद्योग, कलकारखानलार्ई छुट दिन नभनिएको उल्लेख गर्दै बन्द उद्योगलाई मात्र छुट दिनु पर्ने निर्देशन आएकोले धेरै समस्या नहुनु बताएका छन् । ‘बीमा समितिले कसलाई छुट दिने र किन छुट दिने कुरा स्पष्ट पारिसकेको छ, बाँकी रहेको कुरा भनेको कुन उद्योग चल्यो, चलेन भन्ने छ, अब त्यसका लागि पनि नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा बाहेकका उद्योगहरुले मात्र छुट पाउँछन्, बाँकी रहेका समस्याका लागि हामीले बीमा समितिसँग छलफल गर्छौं’, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले अहिलेको कोरोना महामारीको अवस्थामा उद्योग तथा बिमितलाई राहात हुने हिसाबले छुट सम्बन्धि निर्देशिका जारी गरेको बताए । ‘केही समयअघि समितिले मोटर बीमा दरमा बीमा शुल्कको २ तिहाईले छुट दिएको थियो भने अहिले बन्द उद्योगमा एक तिहाईका दरले छुट दिन भनिएको छ, यसले महामारीमा सबैलाई राम्रो हुने हाम्रो अनुमान छ’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने । कसरी छुट दिने भन्ने सन्दर्भमा बीमा कम्पनीहरुसँग समितिले आवश्यक सहकार्य गर्ने कार्यकारी निर्देशक पौडेलले बताए । अहिले सरकारले बन्द हुन्छ भनेर तोकेका सबै उद्योगको छुट दिनका लागि निर्देशन दिइएको समितिको भनाइ छ । समितिको निर्देशन अनुसार यस्तो छुट पहिलो पटक लकडाउन सुरु भएदेखि ८३ दिनसम्मलाई लागू हुनेछ । ‘तत्काल चले नचलेको पत्ता लगाउन गाह्रो हुने भएका कारण सबैमा छुट दिन हामीले निर्देशित गरेका हाैं, सो छुट अर्को वर्ष नविकरण गर्दा पाइने हो’, कार्यकारी निर्देशक पौडेलले थप जानकारी दिदै भने ।