बीमा कम्पनीहरुले साढे २ अर्बको सहयोग गर्दा पनि उचित मूल्यांकन भएन

कोभिडको–१९ प्रभाव विश्वव्यापी रुपमा नै परिरहेको छ । यस्तो अवस्थामा बीमा कम्पनीको नेतृत्व गरिरहेका हामीहरु समेत अछुतो भने रहेका छैनौं । हाल कोरोना महामारीले पारेको असरको बारेमा म केही विषय राख्न चाहन्छु । बीमा क्षेत्रले देशमा परेको अफ्ठयारोमा सहयोग गर्यो । राज्यले अप्ठेरो महसुस गरेको समयमा बीमा क्षेत्रले सहयोग गरेको छ । बीमा कम्पनीहरुको यसमा सहभागिता रह्यो । बीमा शुल्कमा छुटको रुपमा बीमा कम्पनीहरुले करिब साढे २ अर्ब रुपैयाँ सहयोग गरे । तर, यसरी सहयोग गर्दा पनि त्यसको उचित प्रचार प्रसार नभएको र सरोकारवालाले उचित महत्व नदिएको जस्तो मलाई महसुस भएको छ । बीमा क्षेत्रको वार्षिक कारोबार अर्थात बीमा क्षेत्र नै २५ अर्ब रुपैयाँ बराबरको छ । त्यस्तो उद्योगबाट साढे २ अर्बको सहयोग हुँदा त्यसले पाउनु पर्ने स्थान नपाएको हो कि जस्तो मलाई लाग्छ । संसारमा घटना भइसकेपछि मलाई छुट देउ भनेर माग्ने हो भने त्यस्तो अवस्थामा छुट पाइदैन । तर अहिले लकडाउनको प्रभावका कारण मागिएको छुट भनेको इभेन्ट पछाडीको छुट हो । एआइआरडीसी आवद्ध रहेका मुलुकहरुमा कोरोनाले प्रभाव पार्यो । बीमाको आय आर्जन भनेकै लगानीयोग्य रकमको लगानीबाट प्राप्त हुने प्रतिफल तथा बीमा शुल्क मात्र हो । त्यस्तो आम्दानीबाट बीमा कम्पनीहरुले बिमितलाई दिएको छुटको लागि बीमा कम्पनीहरु धन्यवादको पात्र हुनुपर्नेमा उचित सम्मान र स्मरणसमेत भएन जस्तो मलाई लागेको छ । बीमा कम्पनीको लगानीको प्रतिफल आगामी वर्षमा घट्ने निश्चित छ । अहिले त्यस्तो अवस्था नदेखिए पनि आगामी वर्षमा देखिन्छ । देश समस्यामा परेको बेलामा कहिकतैबाट सबैले योगदान दिने विषय प्राथमिकतामा राख्नु राम्रो पनि हो । (नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा विकासशील देशहरुका बीमा कम्पनी तथा नियमनकारी निकायहरुको साझा संस्था एआईआरडीसीका अध्यक्ष शाहले विकासन्युजडटकमको ६औं वार्षिकोत्सवको अवरमा आयोजित ‘कोरोना महामारीले वित्तीय क्षेत्रमा पारेको प्रभाव’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा व्यक्त गरको धारणाको सम्पादित अंश)

ए रेटिङ प्राप्त गर्दै शिखर इन्स्योरेन्स देशकै उत्कृष्ट बीमा कम्पनी बन्यो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड “ए रेटिङ” प्राप्त गर्दै देशको पहिलो तथा एक मात्र बीमा कम्पानी बनेको छ । शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट सो रेटिङ प्राप्त गरेको हो । “ए रेटिङ”प्राप्त कम्पनीले आफ्नो वित्तीय दायित्वको समयमै भुक्तानी गर्न सक्षम रहने र न्युनकर्जा जोखिम रहने कुराको संकेत गर्दछ । कम्पनीको रेटिङ जारी गर्दा कम्पनीको बजार हिस्सा, दाबी व्यवस्थापन, शाखा संजाल, सोल्भेन्सी स्थिति, व्यवस्थापन पक्ष, पुनर्बीमा व्यवस्थापन, महा विपत्ति जोखिम व्यवस्थापन लगायत विविध पक्षहरुको अध्ययन गरिएको हुन्छ । कम्पनीको सबल तथा सक्षम व्यवस्थापन पक्ष तथा कर्मचारी रहेको, सुदृढ बजार हिस्सा तथा शाखा संजाल रहेको, सम्पत्ति, नेटवर्थ, बीमा शुल्कमा अग्रणी कम्पनी रहेको भन्दै इक्रा नेपालले ए रेटिङ दिएकाे हाे । यस्तै, दाबी भुक्तानको लागि प्रयाप्त मात्रामा सोल्भेन्सी तथा तरलता रहेको भुकम्प जस्तो महा विपत्तिको लागि प्रयाप्त मात्रामा महाविपत्ति पुनर्बीमा व्यवस्थापन गरिएको र सबल पुनर्बीमा व्यवस्थापन तथा उत्कृष्ट पुनर्बीमकहरुको साथ प्राप्त भएको भन्दै इक्रा कम्पनीलाई ए रेटिङ दिएकाे हाे ।

रिलायन्स लाईफ इन्स्योरेन्सकाे साधारण सेयरः अवसर कति ? जाेखिम कति ?

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा आएको करिब साढे २ वर्षको अवधिमा सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गरेको छ । ‘खुलेर जिऔं’ भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यस कम्पनी नयाँ जीवन बीमा कम्पनीमध्ये आईपीओ जारी गर्ने पहिलो इन्स्योरेन्स कम्पनी हो । २०७४ साल मंसिर १ गतेदेखि कारोबार शुरु गरेको कम्पनीले गत भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री गरिरहेको छ । ३१औं महिनाको दौरानमा दौडिरहेको यस कम्पनीमा व्यक्तिगत र संस्थागत गरी कूल एक सय १३ जना संस्थापकहरु आवद्ध रहेका छन् । जसमध्ये मुख्य संस्थागत संस्थापकमा सिद्धार्थ बैंक र अग्नी ग्रुप रहेका छन् । जसको सेयर स्वामित्व क्रमशः १७.९६ प्रतिशत र ६.८ प्रतिशत रहेको छ । कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । त्यस्तै, चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ । ६३ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । कम्पनीले गत साउन १६ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिरहेको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । सेयर जारी गर्नुको उद्देश्य कम्पनीले बीमा कम्पनीको सञ्चालनमा सर्वसाधारणहरुलाई संलग्न गराउन सर्वसाधारणमा सेयर जारी गरेको हो । त्यस्तै, संस्थाले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न सेयर जारी गरेको हो । साथै, बीमा कम्पनीले गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पुँजी संकलन गर्न उक्त सेयर निष्काशन गरेको कम्पनीले जनाएको छ । जीवन बीमा कम्पनीहरुले आव २०७५/७६ मा कूल बीमा शुल्क वापत करिब ७७ अर्ब रुपैयाँ संकलन गरेका छन् । जसमध्ये रिलायन्स लाइफले संकलन गरेको बीमा शुल्क कुल बीमा शुल्कको करिब ०.९६ प्रतिशत बजार हिस्सा रहेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७मा १५ वटा क्षेत्रीय कार्यालय/शाखा/उपशाखा कार्यालय थप गरी जम्मा १०३ वटा र आर्थिक वर्ष २०७९/०८० सम्ममा १३३ वटा संजाल पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै, आर्थिक वर्ष ०७६/७७मा २ अर्ब ५७ करोड रुपैयाँ लगानी पुग्ने अनुमान गरेको कम्पनीले उक्त लगानीलाई वृद्धि गरी आर्थिक वर्ष ०७९/८० मा १० अर्ब १२ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै, चालु आवमा एक अर्ब १५ करोड रुपैयाँ जीवन बीमा कोष पुग्ने अनुमान गरेको कम्पनीले आव ०७९/८०मा ८ अर्ब १८ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । लेखा परिक्षण नभएको त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले चालु आवमा ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन आव ०७९/८०मा ३१ करोड ५६ लाख रुपैयाँ पुर्याउने कम्पनीको लक्ष्य रहेको छ । आईपीओ पश्चात कम्पनीको योजना के छ ? कोभिड १९ को महामारीको अवस्था भएकोले बजार विस्तारलाई अगाडि बढाउने तर्फ कम्पनी छैन । हाल रहेका एक सय वटा शाखा/उपशाखाहरुलाई नै मोबिलाइज्ड(परिचालित) गरेर अघि बढ्ने कम्पनीको योजना रहेको छ । त्यस्तै, कम्पनी तथा कम्पनीका कर्मचारीहरुको अहिलेको चुनौतिहरुलाई कसरी अघि बढाउने र ग्राहकलाई दिनुपर्ने इन्स्योरेन्स सेवालाई कसरी निरन्तरता दिने भन्नेमा कम्पनी लागिपर्ने कम्पनीका सीईओ प्रविण रमण पराजुलीले बताए । ‘अहिलेको कम्पनीको फोकस भनेको आधारभूत कुरालाई निरन्तरता दिनु नै हो । यसरी नै कम्पनीलाई बीमा क्षेत्रकै पहिलो स्थानमा कसरी स्थापित गराउने भन्ने तर्फ इन्स्योरेन्स लाग्ने छ’, सीईओ पराजुलीले भने । सञ्चालक समिति कम्पनीको सञ्चालक समितिमा ७ जना सञ्चालक रहनेछन् । जसमध्ये संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने ४ जना, सर्वसाधारणको सेयरधनीको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालकमा एक जना रहने छन् । सबै सञ्चालकहरुको कार्यकाल ४ वर्षको रहेको छ । उक्त समितिमा अध्यक्षमा तारचन्द केडिया तथा संचालकमा जगदीश कुमार अग्रवाल, भरत कुमार तोदी, अमित कुमार बेगानी र सुन्दर प्रसाद कडेल रहेका छन् । जसमध्ये सञ्चालक तोदीको सबैभन्दा बढी अर्थात ३ लाख हजार कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, सञ्चालक अग्रवालको एक लाख ५० हजार कित्ता, अध्यक्ष केडिया र संचालक बेगानीको एक/एक लाख कित्ता र संचालक कडेको २५ हजार कित्ता कम्पनीको सेयर स्वामित्व रहेको छ । व्यवस्थापन टिममा कम्पनीको व्यवस्थापन(म्यानेजमेन्ट) टिममा चार जना रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ) मा निराजन कँडेल, प्रमुख मानव संशाधन अधिकृतमा सन्दिप सिंह र प्रमुख संचालन अधिकृतमा ज्ञान बहादुर रायमाझी गरी चार जना रहेका छन् । एमबीए गरेका सीईओ पराजुलीसँग मर्चेन्ट बैंकिङ/बैंकिंग/बीमा क्षेत्रमा १८ वर्षको अनुभव रहेको छ । यसअघि उनी नबिल बैंकमा आवद्ध रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सीईओ थिए । त्यस्तै, स्नातकोत्तर, व्यवस्थापन (एसिसिएसँग आवद्ध) तहसम्म अध्ययन गरेका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलसँग पनि बैंकिङ्ग क्षेत्रमा राम्रो अनुभव रहेको छ । इन्स्योरेन्समा आउनु भन्दा अघि उनी सिद्धार्थ बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टड बैंकमा कार्यरत थिए । प्रमुख मानव संशाधन सन्दिप सिंह यसअघि हिमालयन बैंकमा मानव संशाधन विभाग अधिकृत, वरिष्ठ अधिकृत, सहायक व्यवस्थापक तहमा रही काम गरेका थिए । उनको शैक्षिक योग्यता एमबीए रहेको छ । त्यस्तै, स्नातकोत्तर, व्यवस्थापन (एफएलएमआई) गरेका प्रमुख संचालन अधिकृत ज्ञान बहादुर रायमाझीले रिलायन्समा आउनु अघि मेटलाइफमा वरिष्ठ अधिकृत तथा सहायक व्यवस्थापक पदमा रही काम गरेका छन् । यस्ता छन् जोखिम नयाँ जीवन कम्पनीहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट जोखिम हुन सक्ने छ । कम्पनीको पुनर्बीमा विदेशी पुनर्बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्न सकिन्छ । जसबाट प्राप्त हुने दावी भुक्तानीमा विदेशी विनिमय दर परिवर्तनको जोखिम रहेको देखिन्छ । त्यस्तै, बीमा समितिले जारी गर्ने नियम निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरु आउने छन् । साथै, नेपाल सरकार तथा अन्य नियमन निकायहरुको आर्थिक तथा वित्तीय नीति नियममा हुने परिवर्तनले पनि कम्पनीमा सम्भावित जोखिम आउन सक्नेछ । त्यसैगरी, प्रविधिको परिवर्तनबाट हुन सक्ने जोखिम, पुँजी बजारमा आउने गिरावटको कारण बीमा कम्पनीको लगानी मूल्यमा ह्रास आउने, कार्यसंचालन तथा कर्जा जोखिमबाट हुन सक्ने हानी नोक्सानी हुने जोखिम रहन्छ । साथै, प्राकृतिक प्रकोप तथा कोभिड १९ जस्ता स्वास्थ्य महामारीको कारणबाट व्यवसायमा आउने प्रभाव तथा बीमा दावीमा वृद्धि हुने जोखिम रहेको छ । कम्पनीमा कोभिड १९ का कारण आर्थिक वृद्धिदरमा आएको ह्रासले बीमाको पहुँच वृद्धिदरमा ह्रास आउनसक्ने जोखिम र नविकरण बीमा शुल्क समयमै उठ्न गाह्रो हुनेसक्ने जोखिम रहेको छ । जाेखिम कसरी न्यून तथा व्यवस्थापन गर्ने कम्पनीले नेपाल पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराएको छ । जसले गर्दा कम्पनीको दायित्व भुक्तानी गने व्यवस्थालाई सुनिश्चित गर्दछ । कम्पनीले अप्रत्याशित रुपमा पर्नसक्ने बीमा दावीको जोखिमलाई न्यूनिकरण गर्न महाविपत्ति बीमाको व्यवस्था समेत गरेको छ । जसले सम्भावित क्षतिलाई न्यूनिकरण गरेको छ । त्यस्तै, बीमा बजारमा हुने प्रतिस्पर्धाको लागि कम्पनीले आवश्यक जनशक्ति विकास, बजार बिकेन्द्रिकरण तथा सेवा गुणस्तरमा ध्यान पुर्याएको छ । त्यसैगरी, कम्पनीको भौतिक सम्पत्तिहरुको विभिन्न कारण तथा प्राकृतिक रुपमा क्षति भएमा जोखिम बहन गर्ने गरी निर्जीवन बीमा कम्पनीबाट बीमा गरिएको छ । साथै, कोभिड १९ का कारण उत्पन्न जोखिम कम गर्न कम्पनीले आफ्नो काम संचालनामा प्रविधि प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ । जसका कारण आजको यस नयाँ संरचनामा समेत कम्पनीले सामाजिक दुरी कायम राखी सुरक्षित ढङ्गले आफ्नो व्यवसाय विस्तार गरिरहेको छ ।