सनराइज बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क २८.५३ प्रतिशतले बढ्यो, १६ करोड नाफा कमाउन सफल
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा २८.५३ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष(आव)को चैत मसान्तमा एक अर्ब ४५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ कमाएको हो । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ५५ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत चैत मसान्तको तुलनामा ४३ करोड ८५ लाख रुपैयाँ बढी हो । त्यस्तै, बीमालेखको धितोमा कर्जाबाट ४ करोड ९५ लाख, अन्य प्रत्यक्ष आय एक करोड ४२ लाख कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो । कम्पनीको तेश्रो त्रैमासिक वित्तीय विवरण अनुसार इन्स्योरेन्सले हालसम्म पुनर्बीमा कमिशनबाट कत्तिपनि आम्दानी गरेको छैन । यस वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था ७६ लाख ९३ हजार रहेको इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सले २०७५ चैतमा १६ करोड ३६ लाख रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको हो । उक्त नाफा गत पुस मसान्तको तुलनामा ७ करोड ७१ लाख रुपैयाँले बढी हो । हाल कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ । गत आवको तेश्रो त्रैमासमा कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको जगेडा कोषमा एक अर्ब ११ करोड, जीवन बीमा कोषमा ८ अर्ब १४ करोड र महाबिपत्ती कोष जगेडामा १० करोड ८३ लाख रुपैयाँ संचित रहेको छ । हालसम्म कम्पनीले १४ अर्ब १३ करोड ८० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कायम रहेको बीमालेखको संख्या ४९ करोड २२ लाख रहेको इन्स्योरेन्सको जारी बीमालेखको संख्या एक अर्ब ६७ करोडभन्दा बढी रहेको छ । समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर ३२ करोड रुपैयाँ पुगेको छ । जुन गत वर्षको चैत मसान्तमा २३ करोड रुपैयाँ रहेको थियो । हालसम्म कम्पनीले १६ लाख दाबी मार्फत कूल ३४ करोड ८६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । त्यस्तै, ४० हजार दाबी बापत १ करोड ४९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १२.२३, प्रतिसेयर नेटवेर्थ १६८.३३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य ६८३.३३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ३७.६२ रहेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक अवधिमा कम्पनीको सेयरको अन्तिम मूल्य प्रतिकित्ता ४६० रुपैयाँ रहेको थियो । सो अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ५२० र न्युनतम ४२० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नेपाल बङ्गलादेश बैँकबाट एसियन लाईफको बीमा सेवा पाइने
काठमाडौँ । नेपाल बङ्गलादेश बैक लि. र एसियन लाईफ ईन्स्योरेन्स कं. लि.बीच आइतबार बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका सम्पूर्ण ग्राहकहरुले बैँकका ८८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।