महँगाे दशैं

बडादशैं २०७६ तपाईँ हाम्रो घरआँगनमा आइसकेको छ । असोज १२ गते फूलपातिदेखि वडा दशैं शुरु भइसकेको छ । फूलपातिदेखि नवमीसम्मका नौ दिनलाई नौरथा भनिन्छ । यो नौ दिनमा देवीका विभिन्न रुपलाई विभिन्न नाम दिएर पूजा आरधना गरिन्छ र दशमीका दिन आफ्ना मान्यजनहरुबाट टीका र जमरा ग्रहण गर्ने सांस्कृतिक परम्परा रहिआएको छ । परापूर्वकालमा असत्य माथि सत्यको विजय भएको, दानव माथि देवताले जीत हासिल गरेको जस्ता किवदन्तीहरु रहेका छन् । परापूर्वकालमा जे जसरी विजयादशमी मनाउन थालिए पनि पछिल्लो समय हिन्दु धर्माबलम्बीहरुकोे महान चाडका रुपमा बडादशैंलाई मनाइदै आएको छ । नेपालमा हिन्दुहरुको जनसंख्या धेरै छ, त्यसकारण पनि यो पर्वलाई नेपालीहरुले महान् पर्वका रुपमा मनाउने गरेका छन् । अहिले विभिन्न कामको शिलशिलामा घर बाहिर रहेकाहरु दशैं मनाउन घरमा भेला हुन थालेका छन् । देशभित्रै रहेका परिवारका सदस्यहरु घर फिर्ने क्रम जारी छ । बैदेशिक रोजगारीको शिलशिलामा रहेकाहरु पनि महान् चाड बडादशैं मनाउन घर आएका छन् । बसपार्क र विमानस्थलहरुमा बडादशैं मान्न घर जानेहरुको भीड देख्न सकिन्छ । एकैपटक धेरै मानिसहरु चाडपर्व मान्न घर जाने हुँदा गाडी र हवाई टिकटको अभाव हुने गर्छ । सामान्य अवस्थामा हुने भाडा भन्दा यो समयमा बढी भाडा लिएर कालोबजारी पनि हुने गरेको छ । अरु बेलाको भन्दा दोब्बर बढी गाडी भाडा तिर्नु पर्ने बाध्यात्मक अवस्था समेत सिर्जना हुने गरेका छन् । यसरी यातायातका क्षेत्रमा हुने गरेको अबैध धन्दा रोक्न राज्यले निगरानी गरिरहेको बताए पनि यात्रु ठगिनेक्रम भने उस्तै देखिन्छ । यसपटक खाद्यान्य र तरकारीको मूल्य पनि आकाशिएको छ । खसीबोका र च्याङ्ग्राको भाउ पनि बढेको छ । भारतबाट आउने प्याजको आयात बन्द हुँदा बजार भाउ आकाशिएको छ र यसपटकको दशैंको भान्सा प्याजरहित हुने संभावना छ । प्याज पाइएपनि धेरै मूल्य तिर्नु पर्ने अवस्था छ । दशैं पर्वमा नयाँ लुगा लगाउने, मीठा मीठा परिकारहरु खाने प्रचलन छ । त्यसकारण यो पर्व मनाउने नेपालीहरुलाई यस समयमा धेरै नै आर्थिक ब्ययभार पर्ने गर्छ । दुर्गा पूजा गर्ने र विजयादशमीका दिन मान्यजनहरुबाट निधारमा टीका र कानमा जमरासहित आशिष ग्रहण गरिन्छ । बडादशैंमा मान्यजनहरुबाट टीका, जमरा र आशिष ग्रहणसँग विभिन्न शिलशिलामा घरबाट टाढा रहेका आफन्तहरु भेला हुने र रमाइलो गर्ने अवसरका रुपमा समेत लिइन्छ । यो दशैं पर्वले हुने खाने भन्दा पनि हुँदा खानेहरुलाई समस्यामा पनि पार्ने गरेको छ । दशैंमा आफ्नै घरमा खसी काट्नै पर्ने, छोराछोरीहरुलाई नयाँ कपडा किनिदिनै पर्ने र समाज अनुसार चल्नु पर्ने नाममा ठूलाबडाको देखासिकी गर्दा हुँदा खानेहरुले आर्थिक ब्ययभार निकै बोक्नु पर्ने हुन्छ । तर, वर्षको एक पटक मनाइने महान् पर्वलाई हाँसीखुशी गरेर मनाउने पर्वका रुपमा मनाउनु पर्छ । अर्काको देखासिकी गरेर भन्दा पनि आफ्नो हैसियत अनुसार मनाउँदा धेरै आर्थिक ब्ययभार बोक्नु पर्दैन । ‘घाँटी हेरी हाड निलौं’ भन्ने कुरालाई मनन् गर्दै आफ्नो हैसियत र क्षमता अनुसार पर्वलाई मनाउन सकियो भने पर्व मनाउँदाको आर्थिक ब्ययभारले लामो समयसम्म पिरोल्ने छैन । पछिल्लो समय बडादशैंमा हुने छुट्टीको अवसरलाई विभिन्न पर्यटकीय र धार्मिक क्षेत्रहरु घुमफिर गर्ने परिपाटी शुरु भएको छ । कत्तिले यो छुट्टीमा राम्रा किताबहरु पढेर, राम्रो सिनेमाहरु हेरेर दशैं बिदालाई सदुपयोग गर्ने गर्छन् । वर्षभरी विभिन्न काममा व्यस्त रहनेहरुले दशैं पर्व हर्षोल्लासका साथ मनाएर आफूलाई पुर्नताजगी बनाउने अवसरका रुपमा समेत लिन्छन् । बडादशैंको यो माहौलमा हामी पनि भन्छौँ, हर्षोल्लासमय वातावरणमा दशैं मनाउनु होला । यो समयमा कसैलाई दुःखद् घटनाले नपिरोलोस् हामी कामना गर्छौँ । अन्त्यमा विकासन्युज परिवारकाे तर्फबाट सम्पूर्ण पाठक, विज्ञापन दाता, शुभेच्छुकसहित सम्पूर्ण नेपालीहरुमा बडादशैं २०७६ को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछ । बडादशैं सबैका लागि शुभ रहोस् ।

थोमस कुकको अन्त्य र एनएसीको भविष्य

निगमकाे जहाजकाे फाइल तस्बिर १७८ वर्ष इतिहास अन्त्य गर्दै विश्वको पहिलो ट्राभल कम्पनी थोमस कुकले गत साता औपचारिक टाट उल्टिएको घोषणा गर्यो । यसले विश्वका १६ देशमा २२ हजार कर्मचारीलाई बेरोजगार बनायो । सन् १९४१ मा बेलायतमा खुलेको उक्त कम्पनीले टुर प्याकेजको योजना ल्याएसँगै सन् १९५५ मा अन्तराष्ट्रिय कम्पनीको रुपमा परिणत भएको थियो । सन् १८९२ मा कम्पनीका संस्थापक थोमस कुकको निधन भएपछि मैसन कुकले उक्त कारोबार सम्हालेका थिए । सन् १९२८ मा उक्त कम्पनी सो परिवारले अर्को मालिकलाई बेचिदिएका थिए । दोस्रो विश्वयुद्धमा सो कम्पनीले आफ्ना यात्रुहरुको राम्रो व्यवस्थापन गर्न सकेन । परिणाम १९४८ मा सो कम्पनीलाई व्रिटिस सरकारले राष्ट्रियकरण गरेको थियो । २४ वर्षपछि सन् १९७२ मा सो कम्पनीलाई फेरि निजी क्षेत्रलाई हस्तान्तरण गरियो जसको शेयर मिडल्याण्ड बैंक, होटलियर ट्रष्ट हाउस फोर्ट र अटोमोबाइल एशोसिएसनले किनेका थिए । सन् १९९२ मा सो कम्पनीलाई जर्मनीको सहवित्तीयकरण गर्ने संस्थाले लगानी गर्यो । फेरि २००१ मा सी एण्ड एन टुरिस्टिक एजी नामक कम्पनीले यसको अधिग्रहण गरेपछि त्यसको नाम थोमस कुक एजी भएको थियो । २००७ मा सो कम्पनीले ले बेलायतकै एउटा ट्राभल कम्पनी माई ट्राभल्सलाई आफूमा गाभ्यो । कम्पनी बन्द हुनुको पछाडि प्रतिस्पर्धालाई नै मुख्य कारणको रुपमा लिइएको छ । इन्टरनेटको माध्यमबाट सस्तो हवाई टिकट बुक गर्ने कम्पनीहरु सक्रिय भएपछि ‘ट्राभल प्याकेज’ गर्ने यसलाई थप अप्ठ्यारो परेको थियो । यो कम्पनी बचाउन अघिल्लो महिना मात्रै चीनको एउटा इन्भेष्टमेन्ट कम्पनीले १.१ अर्ब डलर लगानी गर्यो तर त्यसले पनि कम्पनीलाई बचाउन सकेन थोमक कुकको अन्त्यले के प्रष्ट पारेको छ भने कम्पनी पुरानो र ब्राण्ड पुरानो हुँदैमा कम्पनी बलियो हुँदैन । यो सत्यतालाई नेपाल वायुसेवा निगमले आत्मसाथ गर्नु जरुरी छ । निगमको सुधारका लागि सरकारले गठन गरेको एक कार्यदलले निगम सुधारको लागि विभिन्न सुझाव प्रस्तुत गरेको छ । निगम करिव ४० अर्ब रुपैयाँ ऋणमा डुबेको छ । असार मसान्तसम्म ५ अर्ब २१ करोड ७६ लाख सञ्चित नोक्सानीमा रहेको छ । निगमको आर्थिक व्यवस्थापनका लागि नेपाल वित्तिय प्रतिवेदन मान(एनएफआरएस) अनुसार बनेको छैन । कर्मचारीहरुलाई तलव भुक्तान गर्न पनि समस्या हुने अवस्था देखिएको छ । एकातिर निगममा दक्ष जनशक्ति छैनन् । निगमको सञ्चालन खर्च धान्न आवश्यक विमान समेत छैनन् । निगम सुधारका लागि थप २ वटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको छ । समयानुकुल प्रतिस्पर्धामक क्षमता अभिबृद्धि गर्न जहाजको कमि, व्यवस्थापनमा राजनीतिक हस्तक्षेप, परम्परागत र अपारदर्शी निर्णय र प्रक्रिया, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्ने दक्ष जनशक्तिको अभाव लगायतका निगमका कमजोरी रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । बहुपक्षीय लगानीकर्ता भित्र्याउँदै कम्पनी मोडलमा लैजानुपर्ने लगायत १३ सुझाब दिएको छ । उक्त सुझावलाई कार्यान्वन गर्दै निगम बचाउने दिशामा तत्काल काम थाल्नुपर्ने देखिएको छ ।

बैंकका लगानीकर्ता माथि राष्ट्र बैंकको ‘कु’

नेपाली समाजमा सबैभन्दा बढी पिल्सिएको वर्ग हो लगानीकर्ता । बुद्धिजीवि मान्छे नपढी बस्न सक्दैन । परिश्रमिलाई काम नगरी हुँदैन । खेलाडीलाई नियमित खेल्नै पर्छ । गायक नगाई बस्न सक्दैन । उल्लेखित वर्ग समूहलाई जस्तै, लगानीकर्तालाई पनि पैसा कमाउने लत हुन्छ । आर्थिक विकास र समृद्धिका लागि सबैभन्दा राम्रो लत हो ‘पैसा कमाउने लत’ । कानुन अनुसार लगानी गर्नु, उद्योग व्यवसाय सञ्चालन गर्नु, मानिसका आवश्यकता अनुसार बस्तु तथा सेवा उत्पादन गर्नु, रोजगारी सिर्जना गर्नु, नियमअनुसार कर तिर्नु र आफूले पनि केही लाभांश लिनु लगानीकर्ताकाे कर्म हाे । संसारमा सबैभन्दा बढी सम्मानित पेशा नै उद्यमशीलता हो । तर नेपालमा उद्यमी बन्नु, लगानी गर्नु, रोजगारी सिर्जना गर्नु, राज्यलाई कर तिर्नु सबैभन्दा चुत्थ्यिा काम बन्दैछ, त्यो पनि राजनीति गर्ने र सरकारी जागिर खाने वर्गको नजरमा । उनीहरुले व्यवसायीलाई लगाउने आरोप हुन् कर चोर, शोषक, घटिया व्यापारी आदि-इत्यादि । शासक वर्गको यहि मनोवृत्तिलाई अनुसरण गर्दै पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका लगानीकर्ता माथि ‘कु’ गरेको छ । लगानीकर्ताको अधिकार खोसेको छ । नियामकले वित्तीय क्षेत्रलाई प्रतिगमनतिर लगेको छ । गत साता राष्ट्र बैंकले बैंकको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने र पदमुक्त गराउने जुन काम गरेको छ त्यो घोर अन्यायपूर्ण छ । यो नीति राष्ट्र बैंकको नेतृत्वको पूर्वाग्रह र दुरासयबाट प्रेरित नीति हो । राष्ट्र बैंकको उक्त नीतिका कारण बैंकका सेयरधनीले चुनेर निश्चित अवधिका लागि बनाएका सञ्चालकको पद गुमेको छ । लगानीकर्ताको अधिकार राष्ट्र बैंकले खोसेको छ । बेलायतमा सन् २०२५ देखि चिनीमा लाग्ने करको दर वृद्धि गरिदैछ । उक्त घोषणा सरकारले सन् २०१६ मा गरेको हो । नीति भनेको यस्तो हुनुपर्छ जुन सरोकारवालाले पूर्व जानकारी पाउनुपर्छ र उनीहरूलाइ तयारी गर्न उचित समय दिनुपर्छ । जहाँ यस्तो अवसर हुँदैन, त्यहाँ प्रजातन्त्र हुँदैन, हुकुमी शासन हुन्छ । नेपालको बैकिङ क्षेत्रमा उत्कृष्ट योगदान गरेको भनी छ महिनाअघि अर्थमन्त्री र गभर्नरले खादा लगाएर सम्मान गरेका व्यक्ति हुने एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठ । आज तिनैलाई आज राष्ट्र बैंकले लात हानेको छ । एक वर्षअघि बैकिङ क्षेत्रमा उत्कृष्ट काम गरेको भनेर सम्मान गरको शम्भु पौडेललाई नविल बैंकमा छिर्न निषेध गरिएको छ । ५० वर्षसम्म बैकिङ क्षेत्रका काम गरेर महत्वपूर्ण योगदान गरेका नायरणदाश मानन्धरलाई अपमान जनक ढंगले घर पठाईएको छ । के विके श्रेष्ठ, शम्भु पौडेल र नारायणदास मानन्धरले चलाएको बैंक खराव हुन् ? उमेरले बुढो हुन् अपराध हो ? अदालतले दोषी ठहर गरेको अपराधीलाई समातेर झेल निश्चित समय दिइएको हुन्छ । के श्रेष्ठ, पौडेल र मानन्धरले अपराधीको भन्दा खराव काम गरेर उनीहरुमाथि राष्ट्र बैंक यतिसारो निर्दयी बन्नुपर्यो ? आज राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सीईओ नियुक्ती गर्ने अधिकार लगानीकर्ताबाट खोसेको छ । लगानीकर्तालाई धेरै कोणबाट हातबाध्ने काम गरिएको छ । लगानीमा नियन्त्रण गरिएको छ । नाफामा नियन्त्रण गरिएको छ । नाफाको वितरणमा नियन्त्रण गरिएको छ । एनसेलमा लगानी गर्ने विदेशी लगानीकर्तालाई १८००० प्रतिशत लाभांश लैजान स्वीकृत दिने राष्ट्र बैंक नेतृत्व बैंकका सेयरधनीले औषतमा करिव १५ प्रतिशत लाभांश पाउँदै आएकोमा त्यसप्रति प्रतिशोधपूर्ण भावले आगोको भूङ्ग्रो बनेको छ । उनीहरुले पाउने लाभांश नियन्त्रण गर्न स्प्रेडदरमा नियन्त्रणदेखि पुँजीकोष अनुपात वृद्धिसम्ममा कठोर कदम लिएको देखिन्छ । लगानीकर्ताको विकेक, सिर्जनात्मक पक्ष सबै हरण गरिएको छ र बैंकिङ सिस्टममा राणा शासन भन्दा कडा र हुकुमी शैली शुरु भएको छ । कुन दिन राष्ट्र बैंकले के निर्देशन दिन्छ र त्यसको पालना गर्न सबैलाई बाध्य बनाईन्छ, कसैलाई थाहा हुँदैन । (देशविकास साप्ताहिकबाट)