मुक्तिनाथ विकास बैंकद्वारा धनगढीका ५ हजार विद्यार्थीको दिवा भोजन कार्यक्रमलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत धनगढीमा सञ्चालित ‘मिड–डे मील (दिवा भोजन)’ कार्यक्रमका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले ‘फुड फर लाइफ नेपाल’मार्फत सञ्चालन भइरहेको उक्त कार्यक्रमलाई सहयोग गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत केन्द्रीकृत भान्सा (सेन्ट्रलाइज्ड किचेन) प्रणालीमार्फत धनगढीका सरकारी विद्यालयमा अध्ययनरत करिब ५ हजार विद्यार्थीलाई दैनिक स्वच्छ, पौष्टिक र सन्तुलित दिवा भोजन उपलब्ध गराइँदै आएको छ । बैंकका अनुसार आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीको पोषण सुधार, विद्यालयमा नियमित उपस्थितिमा वृद्धि तथा शिक्षामा निरन्तरता कायम गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको दिगो विकासमा योगदान पुर्‍याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

शैक्षिक परामर्श तथा भाषा शिक्षण संस्थालाई नवीकरण गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा (कन्सल्टेन्सी) लाई अनिवार्य नवीकरण गर्न निर्देशन दिएको छ । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै पूर्वतयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी अनुमति प्राप्त संस्थाहरूलाई  असार २२ गतेदेखि साउन ४ गतेभित्र मन्त्रालयको अनलाइन प्रणालीमार्फत नवीकरण गर्न भनेको छ ।  मन्त्रालयले तोकिएको समयभित्र आवेदन नदिने संस्थाको निवेदनमाथि कुनै कारबाही नहुने तथा नवीकरण नगरेका संस्थालाई आर्थिक वर्ष २०८३/८४ का लागि सेवा सञ्चालनको अनुमति प्राप्त संस्थाको सूचीमा समावेश नगरिने स्पष्ट गरेको छ । नवीकरणका लागि संस्थाले कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, कम्पनी अद्यावधिक, वार्षिक कार्य विवरण, मन्त्रालयबाट प्राप्त स्वीकृति तथा अघिल्लो नवीकरणपत्र, शाखा कार्यालय सञ्चालनको प्रमाण, घरभाडा सम्झौता, आधिकारिक प्रतिनिधिको विवरण तथा निर्देशिकाले तोकेका अन्य आवश्यक कागजात अनलाइनमार्फत पीडीएफ स्वरूपमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार आवेदन भरेपछि सबै विवरण पुनः जाँच गरी सबमिट गर्नुपर्नेछ । त्यसपछि मन्त्रालयबाट विवरण प्रमाणीकरण भएपछि मात्रै प्रणालीबाट सिर्जना हुने भौचरमार्फत राजस्व बुझाउनुपर्नेछ । अन्य माध्यमबाट तिरेको राजस्व मान्य नहुने मन्त्रालयले जनाएको छ । सूचनाअनुसार नवीकरण शुल्क २० हजार रुपैयाँ कायम गरिएको छ । यसअघि नवीकरण नगरेका आर्थिक वर्षका लागि भने प्रत्येक वर्ष २ हजार रुपैयाँ का दरले थप शुल्क बुझाउनुपर्नेछ । मन्त्रालयले आवेदन फाराममा गलत विवरण प्रविष्ट गर्दा उत्पन्न हुने समस्याको जिम्मेवारी सम्बन्धित संस्था स्वयंले लिनुपर्ने उल्लेख गरेको छ ।  साथै अनलाइन आवेदन भर्ने क्रममा समस्या आए मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने जनाएको छ ।

बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई सिटिजन्स बैंकको शैक्षिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकका अनुसार बाँसगढी शाखामार्फत गरिएको सहयोगले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्य राखेको छ । उक्त विद्यालयमा करिब १ हजार २०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गरिरहेका छन् । आवश्यक शैक्षिक सामग्रीको अभावका कारण उनीहरूको सिकाइमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै सहयोग गरिएको बैंकले जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकले ब्रेल पेपर, ई–ग्रेड ब्रेल स्टाइलस, ई–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला तथा जेएडब्लूएस सफ्टवेयरसहित कम्प्युटरलगायत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारसँगै विभिन्न नवीन सेवा सञ्चालनमा ल्याउँदै आएको छ । हाल बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।