‘कन्टेन्ट क्रिएट’मा जम्दै विद्यार्थी, पढ्दै-कमाउँदै
काठमाडौं । ग्रेस चौलागाईं काठमाडौं वर्ल्ड स्कुलमा ए लेभल दोस्रो वर्षमा अध्ययनरत छन् । उनी विज्ञान विषय लिएर अध्ययन गरिरहे पनि उनलाई डिजिटल एड बनाउन खुब मनपर्छ । अहिले पनि फुर्सदको बेला उनी मोबाइलबाटै ब्लगहरू बनाइरहन्छन् । मन पर्ने मात्र होइन, उनलाई भिडियो खिच्न अनि इडिट गर्न पनि आउँछ । तर, कुनै इन्स्टिच्युटमा भने उनले सिकेका छैनन् । युट्युबमै गएर कसरी भिडियो बनाउने भन्ने विषयमा हेर्दै सिकेको उनी बताउँछन् । डिजिटल प्लेटफर्ममा यति पोख्त भइसकेका ग्रेसलाई भिडियो खिच्न इडिट गरी आफै मिक्सिङ गर्न आउँछ । ‘मेरो मार्केटिङ क्षेत्र होइन, साइन्स लिएर पढिरहेको छु,’ ग्रेस भन्छन्, ‘अहिले जमाना प्रविधिको छ, टेक्स्ट, अडियोभन्दा पनि भिडियो त्यो पनि सर्ट भिडियोले कम समयमा धेरै सन्देश दिरहेको छ, यो अहिलेको आवश्यकता पनि हो ।’ ग्रेसले सोंचेका थिएनन्, रहरले सिकेको भिडियो बनाउने तरिकाले एक दिन डिजिटल कन्टेन्ट निर्माण प्रतियोगितामा भाग लिनुपर्ला भनेर । तर उनले यस्तै प्रतियोगितामा भाग लिएर टप थ्रीमै पर्न सफल भए । आजभोलि कुनैपनि वस्तुको प्रचारप्रसार गर्ने थलो भनेको सामाजिक सञ्जाल बनेको छ । अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै अमेरिकामा रहेको वेबस्टर विश्वविद्यालयले नेपाली विद्यार्थीलाई डिजिटल मार्केटिङको विषयमा जानकारी गराइ प्रतिस्पर्धा नै गराएको छ । नेपालमा रहेको सुजिकी नेपाल , सुबिसु र द प्लाजा ब्रान्डसँग समन्वय गर्दै विश्वविद्यालयले विभिन्न ६ वटा विद्यालयका विद्यार्थीलाई डिजिटल मार्केटिङ ‘द कन्टेन्ट मास्टर्सको आयोजना गर्यो । विद्यालयभित्रका विभिन्न समूह बनाएर तीनवटै ब्रान्डको ३० सेकेन्डको भिडियो विज्ञापन गर्न लगायो । भिडियो कसरी बनाउने, कसरी खिच्ने यो विषय विद्यार्थी आफैले खोजे । काठमाडौंमा रहेको जेम्स स्कुल, काठमाडौं वर्ल्ड स्कुल काष्ठमण्डप विद्यालय, मालपी इनटरनेसनल कलेज, प्रिमियर कलेजमा अध्ययनरत विद्यार्थीको समूह बनाएर प्रतिस्पर्धा नै गराएको छ । ६ स्कुलका ६३ वटा समूह, समूहमा ३ सय ७८ विद्यार्थीले डिजिटल एड बनाउन सिकेका छन् । यसका लागि वेबस्टर विश्वविद्यालयले अनलाइनमार्फत् साताकाे २ दिन एक घण्टा कसरी विज्ञापन बनाउने भन्नेबारेमा जानकारी सिकाएको थियो । विद्यार्थीहरूले सुजिकी मोटर्स, सुबिसु र प्लाजाको विज्ञापन बनाएका थिए । ६३ समूहले बनाएका विज्ञापनमध्ये उत्कृष्ट तीन समूहलाई छनोट गरेर प्रथम, द्वितीय र तृतीय छनोट गरी अवार्डसमेत गरेको छ । अहिलेको आवश्यकता कन्टेन्ट मास्टर्स वर्कसपमा सहभागी विद्यार्थी यो विषयमा जानकारी लिन पाउँदा खुसी भएको बताउँछन् । ‘मलाई मार्केटिङको बारेमा थाहा थिएन, यसमा भाग लिने थाहा पाइसकेपछि त यसले अनलाइनमा सिकाउने रहेछ,’ ग्रेस भन्छन्, ‘मलाई यो विषयमा झन् चासो बढ्यो ,के रहेछ भनेर बुझ्दै गएँ, त्यहीअनुसार काम गर्दै गएँ, पहिलो कन्टेन्ट बनाइसकेपछि त टप थ्रीमा परें ।’ काठमाडौंका सोनम घिसिङ तामाङ काठमाडौं वर्ल्ड स्कुलमै अध्ययन गरिरहेका छन् । म्यानेजमेन्टमा अध्ययनरत उनले डिजिटल मार्केटिङका विषयमा अध्ययन गर्नुपर्छ । किताबमा पढेको कुरालाई कसरी प्रयोग गर्ने भन्नेबारे सिकेका थिएनन् । कक्षामा पढाइ भएपनि कसरी वस्तुहरूको डिजिटल मार्केट गर्ने, सबै उपभेक्तालाई आकर्षण गर्ने गरी कसरी विज्ञापन बनाउने भन्ने विषय थाहा थिएन । बजारमा कुनै पनि नयाँ सामग्री ल्याउँदा त्यो सामानबारे जनमानसलाई थाहा हुनुपर्छ । ता कि त्यो सामग्रीको बजार बढोस् । मार्केटिङ विषयमा कसरी आफ्नो वस्तुको मार्केटिङ बढाउने ? यसलाई डिजटल प्रविधिबाट कसरी प्राप्त गर्ने भन्ने विषयमा पढाइन्छ । तर, यसमा कसरी वस्तुको प्रचारप्रसार गर्ने भन्नेबारे विद्यार्थीलाई सिकाइएको हुँदैन । अहिले आफै सर्ट भिडियो बनाउन थालेपछि यो कुरामा सहज भएको उनी बताउँछन् । ‘पढेको कुरालाई प्रयोगमा ल्याउन पाउँदा सहज हुँदो रहेछ । आज हामी आफैले प्रयास गर्दा थाहा भयो,’ उनी भन्छन्, ‘भिडियो सुट कसरी गर्ने, यसको कस्तो पाटोलाई फाल्ने, कस्तो राख्ने, ३० सकेण्डमा एउटा वस्तुको कसरी विज्ञापन गर्ने भन्ने विषयमा थाहा भयो । ’ सुजिकी नेपालका ब्राण्ड एक्सपर्ट करुण शाक्य अहिलेको पुस्तामा डिजिटलाइजेशन भएको बताउँदै कुनै पनि ब्रान्डको जानकारी डिजिटलबाटै दिनुपर्ने बताउँछन् । अहिलेको पुस्ता यो विषयमा निकै अगाडि रहेको बताउँदै उनी मार्केटिङ अध्ययन गर्ने विद्यार्थीमात्र नभइ सबैले यो विषयमा जानकारी लिन आवश्यक रहेको बताए । विद्यार्थीहरूले बनाएको भिडियो हेरिसकेपछि विभिन्न ब्राण्डका एक्सपर्टले सोचेभन्दा राम्रो विज्ञापन विद्यार्थीले बनाएको बताएका थिए । सुबिसु केबल नेटका ब्राण्ड एक्सपर्ट सुजन प्रधानले विद्यार्थीहरूसँग अद्भूत क्षमता रहेको बताउँदै आवश्यक ठाउँ चहिएको बताए । आफूले सोचेको भन्दा बिल्कुल फरक थोरै समयमा धेरै जानकारी दिने विज्ञापन बनाउन सफल भएको बताए । नयाँ किसिमको प्रयास नेपाली विद्यार्थीले पढ्न पाउने भनेको पाठ्यक्रममा रहेको विषय हो । कतिपय कलेजले विद्यालयले पढाएको कुरालाई प्रयोग गरेर देखाउने अवसर दिए पनि धेरै ठाउँमा यो सुविधा छैन । उनीहरूले कुनै सीप सिक्न अथवा पढेको कुरा व्यवहारमा लागू गर्न पाएका हुँदैनन् । यही विषयलाई मध्येनजर गर्दै अमेरिकामा रहेको वेबस्टर विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि डिजिटल मार्केटबारे ज्ञान दिने उद्देश्यले कन्टेन्ट मास्टर्स कार्यक्रम गरेको हो । शिक्षा क्षेत्रमा बिरलै मात्र गरिने यो कार्यक्रमले धेरै विद्यार्थीले डिजिटल मार्केटबारे ज्ञान लिएका छन् । वेबस्टर विश्वविद्यालयकी नेपाल प्रतिनिधि जसवानी राना नेपालमा म्मार्केटिङ पढिरका विद्यार्थीलाई मात्र नभए अहिलेका सबै विद्यार्थीमा यो सीप अनिवार्य रहेको बताउँछिन् । नेपालमा अहिले प्रविधिले निकै फड्को मारेको अवस्थामा कलेजमा म्यानेजमेन्ट र मार्केटिङ लिएर पढ्नेको संख्या धेरै रहेकाले यो कार्यक्रम गरेको बताइन् । ‘अहिले मार्केट डिजिटल र एआएआईमा गइरहेको छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा विद्यार्थीलाई पनि यसमा तयार पर्न आवश्यक देखिएकाले वर्कसप गरिएको हो ।’
विद्यालयमा सहकारी शिक्षा, विद्यार्थीमार्फत अभिभावकलाई सचेत गराउने
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका ६ विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो । उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखाका प्रमुख प्रवीण रानाले बुधबार महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई सहकारी शिक्षा दिएसँगै अभियान सुरु भएको जानकारी दिए । उनले यस वर्ष नेपालगञ्जका छ विद्यालयमा सहकारी शिक्षा प्रदान गरिने जानकारी दिए । महेन्द्र मावि, आदर्श मावि, मङ्गलप्रसाद मावि, धम्बोझी मावि, सरस्वती र जयजनता माविमा सहकारी शिक्षा कार्यक्रम दिइने रानाले बताए । ‘सहकारीको अवधारणा, सहकारी दर्ता र अहिले सहकारीमा देखिएका समस्या र अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ । विद्यार्थीमार्फत अभिभावक पनि सहकारीका बारेमा सचेत हुने हाम्रो बुझाइ छ,’ उनले भने । हरेक वर्ष सञ्चालन भइरहेको सो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको सहकारी उल्लेख उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले विगत वर्षमा पनि यस्तो कार्यक्रम गर्दै आएको थियो । अघिल्लो वर्ष उपमहानगरका २४ विद्यालयका प्रतिनिधिको सहभागितामा सहकारी शिक्षा प्रदान गरिएको सहकारी शाखा प्रमुख रानाले जानकारी दिए । उपमहानगरपालिकाले सहकारीलाई व्यवस्थित र विश्वसनीय बनाउन सूचना प्रविधि तालिमसमेत दिएको छ । दुईदिने तालिममा सहकारीको सफ्टवेयर वा इन्टरनेट चलाउँदा हुने समस्या, त्यसबाट जोगिने तरिका, साइबर सेक्युरिटी, सहकारीको डिजिटल फर्म्याटमा उपस्थिति देखाउनेलगायत विषयमा प्रशिक्षित गरिएको जनाइएको छ ।
शिक्षकलाई मासिक रुपमा तलब दिन निर्देशन दिएका छौं : शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छिन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताइन् । ‘३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो’, उनले भनिन्, ‘हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ ।’ उनले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताइन् । बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन अपूर्ण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः छानबिन गर्नुपर्नेमा जोड दिएको बताइन् । ‘आयोगको म्याद हामीले दुई पटक थप गर्यौँ । तर आयोगले बुझाएको प्रतिवेदनमा अझ धेरै काम गर्न बाँकी रहेको देखिएको छ’, उनले भनिन्, ‘आयोगको प्रतिवेदनका आधारमा धेरै जग्गा खोज्नुपर्ने स्थिति छ ।’