वेद इन्टरनेशनल एजुकेशनलले १४औं वार्षिक उत्सवको अवसरमा कार्यक्रम गर्दै
काठमाडौं । वेद इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले आफ्नो १४औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सन् २०१० देखि परामर्श सेवा प्रदान गर्दै आइरहेको वेद इन्टरनेशनलले आफ्नो वार्षिकोत्सवलाई थप विशेष बनाउने उद्देश्यले ‘वेद फोर इभर’ नामक क्याम्पेन सञ्चालन गर्न लागेको हो । कन्सल्टेन्सीले वार्षिकोत्सवको १५ दिनअघिदेखि नै विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको छ । २६ डिसेम्बरमा वेदले वार्षिकोत्सव मनाउँदैछ । कार्यक्रम अन्तर्गत ‘फोर कन्ट्रिज रिप्रिजेन्टेटिभ मिट–अप’ हुनेछ । बेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियाका प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूलाई भेट्ने अवसर विद्यार्थीले पाउनेछन् । जुन कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रोजाईको देशको शैक्षिक अवसर र प्रक्रियाबारे प्रत्यक्ष जानकारी पाउनेछन् । त्यस्तै ‘फोर फेमिली फेस्ट’ कार्यक्रम अन्तर्गत भिसा पाइसकेका विद्यार्थीको अभिभावकहरूका लागि चिया–पान कार्यक्रम राखिने बताइएको छ । कार्यक्रममा अभिभावकहरूलाई माया र सम्मानस्वरूप विशेष चिनो प्रदान गरिनेछ । ‘फोर फ्री मक टेस्ट’ अन्तर्गत हाल आयल्स तयारी कक्षामा रहेका विद्यार्थीहरूको लागि ४ वटा निःशुल्क मक टेस्टको अफर सार्वजनिक गरिएको छ । त्यसैगरी ‘फोर फन एक्टिभिटिज फोर रिवार्ड’ अन्तर्गत कार्यक्रमलाई थप आकर्षक बनाउन चारवटा रमाइला खेलहरू आयोजना गरिनेछन् । विजेताहरूलाई विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ । बञ्जी जम्पको टिकट, चितवन/सौराहा जाने हवाई टिकट, जिपलाइनको टिकट, परिवारका लागि चलचित्र हेर्ने टिकट लगायत उपहार प्रदान हुनेछ । वार्षिकोत्सवको अवसरमा आयल्स तयारी गर्न चाहने नयाँ विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षाहरू पनि उपलब्ध गराइने जनाइएको छ । यो महिनाभर आयल्स कक्षा निःशुल्क हुने सञ्चालक आशिक कार्कीले जानकारी दिए ।
नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा
काठमाडौं । ब्रिटिश काउन्सिलको आईएलटीएस उपहार सिजन २.० का विजेताहरू १० डिसेम्बर २०२४ मा एक कार्यक्रममा पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ । सन् २०२३ मा आयोजित आईएलटीएस उपहारको सफलताको आधारमा, ब्रिटिश काउन्सिलले आईएलटीएस उपहार सिजन २.० यस पटकको दोस्रो संस्करणमा आएलटिस परीक्षा दिनेहरूलाई धेरै ठूला र आर्कषक पुरस्कारहरू प्रदान गरेको छ । सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटिस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीहरू यस वर्षको प्रस्तावको लागि योग्य थिए । ब्रिटिश काउन्सिल फेसबुक च्यानल मार्फत लक्की ड्र प्रक्रिया अन्तर्गत कुल पाँच विजेताहरूको चयन गरिएको थियो । यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको थियो। सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई भाग्यशाली मासिक विजेताहरूले एप्पल म्याकबुक एर प्राप्त गरेका छन् । दुई भाग्यशाली विजेताले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेताले ब्रिटिश काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन् । एप्पल म्याकबुक एर विजेताहरू मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट विजेताहरू- क्रमशः कनिस्का पौडेल र प्रणय शाक्य, अस्ट्रेलियाको एकतर्फी टिकट विजेता अनमोल खड्का, अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूको उत्कृष्ट प्रयासलाई पनि सम्मान गरिएको छ । प्रत्येक साझेदारलाई उनीहरूको समर्थन र आईएलटीएस प्रवर्द्धन गर्न प्रतिबद्धताको लागि प्रशंसाको प्रतीकको रूपमा आईप्याड प्रदान गरिएको थियो । अर्बिट मेडिकल एन्ट्रेंस (ओएमई), नेपाल शैक्षिक परामर्श संघ (इक्यान), केआइसी लर्निङ सेन्टर, कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, ‘परीक्षा दिन चाहनेहरुका लागि आगामी अवसरहरु मनाउन पाउनु सौभाग्यको कुरा हो । सरल भाषामा भन्नुपर्दा, आईएलटीएस परीक्षा मात्र होइन । यो विश्वव्यापी शिक्षा, विशेष प्रशिक्षण, र आशाजनक क्यारियरको लागी एक प्रवेश द्वारको रुपमा रहेको छ। धेरै वर्षदेखि, ब्रिटिस काउन्सिलले हाम्रा विश्वसनीय साझेदारहरू र एजेन्टहरूद्वारा समर्थित नेपालभर परीक्षाहरू गर्वका साथ प्रदान गर्दै आएको छ । सँगै, हामी युवाहरूलाई थप अध्ययन, व्यावसायिक प्रशिक्षण, वा विदेशमा क्यारियरहरू पछ्याउन सशक्त गर्दैछौं। आएलटिस उपहार अभियानका विजेताहरूलाई बधाइ छ, र तपाईंले गुणस्तरीय शिक्षातर्फको यात्रामा अघि बढिरहनु भएकोमा शुभकामना ।’ प्रतिष्ठा थापा रायमाझी, परीक्षा निर्देशक, ब्रिटिस काउन्सिल नेपालले कार्यक्रममा टिप्पणी गर्दै भनिन् ‘आईएलटीएस उपहार अभियानका सबै विजेताहरूलाई बधाई! हामी आशा गर्दछौं कि यी पुरस्कारहरूले तपाईंलाई थप शिक्षाको तपाईंको सपनाहरू प्राप्त गर्न नजिक ल्याउनेछन् । नेपालमा आईईएलटीएस लाई अझ किफायती र पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं, त्यसै अनुरुप हामीले चितवन र बुटवलमा कम्प्युटर सुविधाहरू सहित हाम्रा परीक्षा केन्द्रहरू विस्तार गर्दैछौं। आजको डिजिटल संसारमा, हामी परीक्षार्थीहरूलाई कम्प्युटरमा आईएलटीएस को लागि फाइदा लिन अनुरोध गर्छौं। हाम्रा आईएलटीएस साझेदारहरूलाई यहांहरूको निरन्तर सहयोगको लागि धन्यवाद।’
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ्ने बताए । ‘अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढंगले जब दिने शिक्षातर्फ अघि बढ्ने छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्’ केयूका कुलपतिसमेत रहेका ओलीले भने । उनले विद्यार्थीलाई पढाई सँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे । प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रस्ट्याउने बताए । उनले भने, ‘सर्टिफिकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।’ प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताए । ‘विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ’ उनले दीक्षित विद्यार्थीतर्फ इंगित गर्दै भने, ‘विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफलताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ ।’ विश्वविद्यालय शिक्षाको मन्दिर र ज्ञानको आधार हो भन्दै उनले व्यवहारत असाधारण सीमामुक्त शिक्षालाई जीवनभर ग्रहण गरिरहनु पर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले धर्तीको २१ प्रतिशत हिमाल ‘कालापत्थर’ बन्न लागेकोमा दुःखेसो पोख्दै अन्य भूभागसमेत मरुभूमि बन्ने खतरा बढेकोमा चिन्ता व्यक्त गरे । ‘अरूका गल्तीले धर्तीका भूभाग मरुभूमि बन्दैछ, यसका लागि हामी वातावरणीय न्यायका लागि लडिरहेका छौँ, काला पत्थरमा परिणत हुँदै गएका हिमालको पुरानो स्वरूपमा ल्याउने विषयप्रति गम्भीर हुँदै जलवायु परिवर्तनका विषयमा पनि ध्यान दिन आवश्यक छ’ उनले भने । उनले पुर्खाले वरपीपल र तुलसी धेरैभन्दा धेरै रोपेर अक्सिजनका लागि ‘ब्यालन्स’ मिलाएको उल्लेख गर्दै पारिस्थितिक चक्रलाई नबिगार्न त्यसो गरिएकाले ‘क्लाइमेट मेन्टेन’ हुनुपर्दछ भन्ने विषयमा आफूले जोड दिँदै आएको बताए । कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेकाले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दिगो विकासका मार्ग प्रशस्त गरेको बताए । उनले भने, ‘दुई देशबीचका उदाहरणीय परियोजनाले पनि राष्ट्रबीचको विश्वास र साझेदारीको गहिरो भावनालाई पनि उत्प्रेरित गर्न सक्छ भन्न सकिन्छ ।’ समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेको थियो । आज विश्वविद्यालयका विभिन्न संकायका एक हजार दुई सय ६५ जना विद्यार्थी दीक्षित भएका छन् ।