जग विकासका लागि बाल विकास शिक्षामा महानगरको प्राथमिक लगानी छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काठमाडौं महानगरपालिकाले थालेका कार्यक्रममध्ये प्रारम्भिक बाल विकास कार्यक्रम महत्वपूर्ण रहेको बताएकी छन् । मंसिर २१ र २२ गते विराटनगरमा आयोजना हुने ‘इन्टरनेशनल कन्फरेन्स अन : इनभिजनिङ् अर्लि चाइल्डहुड डिभलपमेन्ट इकोसिस्टम’ कार्यक्रममा सहभागी हुने क्रममा शिक्षाविद्हरू काठमाडौं महानगरपालिकासँग ज्ञान, सिप र अनुभव आदानप्रदान गर्न काठमाडौं आएका थिए । त्यस क्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रियात्मक संवाद गरिएको थियो । संवादका क्रममा उपप्रमुख डंगोलले, महानगरपालिकाले शिक्षा नीति, शैक्षिक कार्यक्रम, पूर्वाधार विकास, मानव पुँजी विकास, शिक्षक-विद्यार्थी, विद्यालय र अभिभावकको सम्बन्धमा जोड दिएको बताएकी हुन् । शैक्षिक सामग्री बनाउँदा स्थानीय स्रोत र उपलब्ध बस्तुको प्रयोग, एकीकृत र सिर्जनात्मक सिकाइ, शिक्षामा सिप कार्यक्रमबाट प्राप्त भएको नतिजा सकारात्मक भएको उल्लेख गर्दै उनले, आफ्नो संस्कृति, आफ्नै परिवेश अनुरूपको सिकाइबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा जोड दिएको बताएकी छन् । छलफलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार प्रारम्भिक बाल विकास कक्षा शिक्षकलाई सरकारले दिएको तलबमा महानगरपालिकाले मासिक थप १० हजार रुपैयाँ थप दिएको छ । कार्यक्रमका आधारमा बजेट थपेको छ । बाल विकासका एउटा कक्षामा २५ जनाभन्दा धेरै विद्यार्थी नराख्ने मापदण्डका आधारमा कक्षा सञ्चालन गरेको छ । महानगरपालिकाले शिक्षा नीतिमा समेटेर कार्यान्वयनमा ल्याउन खोजेका प्रयासहरू अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउन लागिएको जानकारी प्राप्त भयो । शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले भने, ‘यो भनेको, हामीले लिएको लक्ष्य समय सान्दर्भिक छ, भन्ने हो ।’ विद्यार्थीहरूलाई प्राकृतिक वातावरणमा अध्यापन गराउनु पर्छ । छलफलमा संयुक्त राज्य अमेरिकाको वल्र्ड फोरम फर अर्लि केयर एण्ड एजुकेसन निर्देशक किस्र्टन हगेनले भने, ‘प्राकृतिक वातावरण भएको ठाउँमा बन्द कोठा निर्माण गरेर अध्यापन गराउने अभ्यासमा परिमार्जन गर्नुपर्छ । सिकाइ भनेको स्थानीय परिवेशमा बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकास अनुकूल हुनुपर्छ ।’ छलफलका क्रममा पाकिस्तानका ह्युमन डिभलपमेन्ट फाउन्डेसनका निर्देशक ताइब जानले भने, ‘उपचार समाधान होइन । निरोगी हुनु दिगो समाधान हो । प्रारम्भिक बाल विकास कक्षा उपचार होइन, निरोगी हुने उपाय हो ।’ भारतको मोबाइल ट्रेसका कार्यकारी निर्देशक चिराश्री घोषले, अभिभावकको रोजगारीका कारण बालबालिकाको रेखदेख र हेरचाहमा कमजोरी हुन दिन नहुने कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । यस्तै भारतकै नेशनल फोर्सेस फर चाइल्ड केयरका संयोजक डा. अपराजिताले, काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको बुक फ्रि फ्राइडे कार्यक्रम सिकाइमा उपयोगी अभ्यास रहेको बताउँदै भने, ‘भारतमा अभ्यास गरिएको वुक फ्रि फ्राइडे क्रमशः स्पोर्टस डे बनेको थियो । यो स्पोट्सका लागि मात्र होइन । मर्मअनुसार सञ्चालन गर्न यसमा नियमित निगरानी चाहिन्छ ।’

संस्कार एकेडेमीका करिब १५० जना विद्यार्थी दीक्षित

काठमाडौं । संस्कार एकेडेमीले ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्षको ३ दिनको विशेष प्राक्टिकल कार्यशाला आयोजना सम्पन्न गरेको छ । एकेडेमीले अनलाइन प्रविधिबाट ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्ष अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूलाई दीक्षितसमेत गरेको छ । ’घरलाई स्वर्ग बनाउने यात्रा’ मा अगाडि बढेको संस्कार एकेडेमीले नेपालमा आधुनिक र वैज्ञानिक रूपमा काम गर्न सक्ने ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ तयार गर्दै आइरहेको छ । संस्कार एकेडेमी वास्तुबाहेक ज्योतिष, अंक ज्योतिष, हस्ताक्षर विश्लेषण, वैज्ञानिक लोगो तथा भिजिटिङ कार्ड डिजाइन, एनएलपी तथा हिप्नोसीसलगायत अन्य धेरै विधामा व्यावसायिक रूपमा काम गर्ने जनशक्ति उत्पादन गर्दै आइरहेको संस्था हो । आफ्ना विद्यार्थीहरूलाई अहिलेको समयअनुसार आधुनिक र वैज्ञानिक रूपमा वास्तुको काम गर्न सक्ने गरी योग्य बनाएर मात्रै बजारमा पठाउने गरेकोले अनलाइन अध्ययनपश्चात यस किसिमको प्राक्टिकल कार्यशाला राखी विद्यार्थीहरूलाई वास्तुको हरेक प्रकारको वैज्ञानिक र प्रभावकारी उपचार गर्न सक्षम बनाउने र वास्तुमा प्रयोग हुने प्रविधि र उपकरणहरूमा समेत दक्ष बनाउने उद्देश्यले संस्कार एकेडेमीले यस्तो कार्यक्रम गर्दै आइरहेको वरिष्ठ वास्तु गुरु आचार्य राजा बाबु शाहले बताए । डा. कुलबहादुर गुरुङले सहरीकरण गरेको कार्यक्रममा इञ्जिनियरहरू सुशील अमात्य, राजेन्द्र लिगल, श्रीराम श्रेष्ठ, सुशील श्रेष्ठ लगायतले वास्तुविद्लाई आवश्यक पर्ने इञ्जिनिएरिङको  व्यावहारिक ज्ञान दिएका थिए । आचार्य राजा बाबु शाहबाट योगा, ध्यान, अंक ज्योतिष, स्वर विज्ञानको थप सेसनमा अतिरक्त ज्ञान पाएपछि सहभागीहरूले खुशी प्रकट गरे । कार्यक्रममा कोच आशा शाहले ’ग्राफोलोजी र सिग्नेचर एनालाइसिस’ को मास्टर क्लास दिएका थिए । वास्तु र ज्योतिषको क्षेत्रमा काम गरिरहेकाहरुको अलावा इञ्जिनिएर, अर्किटेक्ट, इन्टेरिएर डिजाइनर, अधिवत्ता, ब्याङ्कर लगायत अन्य विविध पेशा र व्यवसायका मानिसहरू कार्यक्रमबाट दीक्षित भई अब प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट बनेका छन् । वास्तु धार्मिक विषय नभएर हरेक मानिसको घर र जीवन सग जोडिएको  उर्जा विज्ञान भएकोले यसप्रति सबैको रुचि बढदैछ । काभ्रे, धुलिखेलस्थित सारथी होटेलमा मङ्सिर १३ गते देखि ३ दिनसम्म चलेको कार्यक्रममा देशै भरीबाट वास्तु पढिरहेका सहभागीहरू दीक्षित हुन् पुगेका थिए । नेपालमा वास्तु सम्बन्धि यतिको ठुलो कार्यक्रम यस भन्दा अघि सायदै भएको थियो ।

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेजले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी मेलाको पाँचौं संस्करण बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने भएको हो । मेलामा ब्याचलरमा अध्ययनरत विद्यार्थीले बनाएका आईओटी, रोबोटिक्स, एआई, सफ्टवेयर लगायतका प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ । यस बाहेक मेलामा रोबो र्‍याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई-स्पोर्ट्स टुर्नामेन्ट लगायतका गतिविधि हुनेछन् । यसअघि आइसिटी मेलाको प्रि-इभेन्टको रूपमा रिल्स र युआईरयुएक्स प्रतियोगिता सम्पन्न भइसकेका छन् । आईटीमा रूची हुने सबैले मेलाको निःशुल्क अवलोकन गर्न सक्ने छन् । मेलामा मानिसको दैनिक जीवनलाई सहज बनाउने खालका नवीन आईटी परियोजनाहरू प्रदर्शनमा राखिने छन् । साथै, मेलामा आउने अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ ।