त्रिविको जग्गा मिच्नेहरूलाई कारबाही हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा मुख्य सचिव एकनारायण अर्यालसहित जग्गा खोजबिन समितिका पदाधिकारीहरू पनि सहभागी थिए । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया के–के भयो भनेर जिज्ञासा राखेकी थिइन् । त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए । गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफैँ अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रूपमा सीआईबीलगायत निकायमा जाहेरी दिनुपर्ने बताए । जग्गा अपचलनमा सीआईबीको विशेषज्ञता र अनुभव पनि रहेकाले कारबाही अघि बढाउन तयार रहेको उनको भनाइ थियो । मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैँले गर्न सक्ने बताए । सबै कामका लागि सरकारको मुख ताक्न नहुने उनको धारणा थियो । शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र यसका लागि सबै सरोकारवाला निकायहरूको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राखे । प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन् । साथै यसमा जो–जो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनुपर्ने उनको निर्देशन छ ।
त्रिवि परिसरमा निर्माण कार्यमा अवरोध, दोषीलाई कारबाही गर्न व्यवसायी संघको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, किर्तिपुरमा विभिन्न संघ–संगठनको नाममा केही व्यक्तिहरूले निर्माण व्यवसायीहरूलाई डर, त्रास देखाउँदै निर्माण कार्यमा अवरोध सिर्जना गरेको विषयमा कीर्तिपुर निर्माण व्यवसायी संघले आपत्ति जनाएको छ । संघले सोमबार बिहान त्रिविका उपकुलपति प्राडा दीपक अर्याललाई ज्ञापन पत्र बुझाउँदै त्रिवि रजिष्ट्रारको कार्यालयद्वारा आह्वान गरिएको बोलपत्र अनुसार चमेना गृह भवनको निर्माण कार्य भइरहँदा विभिन्न समूहबाट अवरोध सिर्जना गरिएको बताएको हो । ज्ञापन पत्रमा संघले निर्माण व्यवसायीहरूलाई डर र त्रास देखाई निर्माण कार्यमा बाधा पुर्याउने व्यक्तिहरूलाई तत्काल कडा कारबाही गर्न माग गर्दै निर्माण कार्य सहज रूपमा सञ्चालन हुन सक्ने वातावरण बनाउनुपर्ने बताएको छ । 'त्रिवि स्थापनाकालदेखि योगदान गरेका कीर्तिपुरवासीलाई हरेक संरचना निर्माणमा पहिलो प्राथमिकतामा राख्ने विगतको सम्झौता कार्यान्वयन गरिनुपर्छ, ' ज्ञापन पत्रमा भनिएको छ । संघले आफ्नो मागको सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
कक्षा १२ को पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी पास
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड सुधार) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बैठक आइतबार बसेर नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार यस वर्षको पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते सञ्चालन गरिएको उक्त परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ जनाको परीक्षाफल रद्द गरिएको छ । यसअघि गत असार ११ गते सार्वजनिक गरिएको नियमित परीक्षाको नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । विद्यार्थीहरूले आफ्नो नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस पठाएर हेर्न सक्ने व्यवस्था गरिएको छ ।