सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट सुरू, स्टार्टअप इकोसिस्टम विकासमा सहयोग गर्ने विश्वास
काठमाडौं । दुई दिने ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ इन एशोसिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तोटिकेट्स’ बिहीबारदेखि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरू भएको छ । लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा फेस्ट आयोजना गरिएको हो । शुक्रबारसम्म चल्ने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी भएका छन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई, रकेट तथा एयरोस्पेस सम्बन्धी उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएका छन् । फेस्टको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल उपस्थित थिइन् । उनले डिजिटल स्टार्टअप र इन्नोभेसन प्रवर्द्धनमा आइसिटी अवार्ड र स्टार्टअप एण्ड आईडिया फेस्टले विगतदेखि नै महत्वपूर्ण भूमिका खेलेको बताइन् । अर्यालले भनिन्, ‘पछिल्लो समय युवाहरूमा स्टार्टअप र इन्नोभेसनप्रतिको आकर्षण बढ्दै गएको छ । सरकारले पनि सूचना प्रविधि विकासका लागि पूर्वाधार र कानुनी सुधारमा जोड दिएको छ ।’ उनले एआई नीति र एआई सेन्टर स्थापना जस्ता पहललाई सरकारको नवीन प्रविधि–मैत्री दृष्टिकोणको प्रमाणका रूपमा उल्लेख गरिन् । कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, सहसचिव आदेश खड्का, औद्योगिक विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश गुप्ता, नेपाल चेम्बर अफ कमर्स आईटी कमिटीका अध्यक्ष विज्ञान श्रेष्ठ, नास आईटीका अध्यक्ष गौरव पाण्डे लगायत विशिष्ट अतिथिहरूको पनि उपस्थिति थियो । लिभिङ विथ आइसिटीका अध्यक्ष तथा फेस्ट संयोजक राजन लम्सालले नेपाली युवाले विकास गरेका स्टार्टअप र इन्नोभेसनहरूलाई विगत एक दशकदेखि प्रवर्द्धन गर्ने अभियान जारी रहेको बताए । ‘हामी देशमा स्टार्टअप र उद्यमशीलताको इकोसिस्टम विकासमा निरन्तर काम गरिरहेका छौं, नयाँ सोच र सम्भावनालाई प्लेटफर्म दिइरहेका छौं ।’ फेस्टमा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी भएका छन् । अवलोकनकर्ताले ती प्रडक्ट र इन्नोभेसनहरू प्रत्यक्ष अवलोकन गरी भोट गर्ने अवसर पाउने छ न्। स्टार्टअप र प्रडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रडक्ट डेमो र नेटवर्किङ सेसन पनि राखिएको छ । फेस्टमा उद्यमी, लगानीकर्ता, नीति निर्माता, सरकारी अधिकारी, कर्पोरेट लिडर र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। एआईमा केन्द्रित शिक्षाका लागि प्रसिद्ध सनवे कलेजले पनि फेस्टमा आफ्ना विभिन्न एआई प्रोजेक्टहरू प्रदर्शनीमा राखेको छ। त्यस्तै, एआई प्रडक्ट टिङटिङ र नेपाली स्टार्टअप सस्टोटिकेट्सले क्रमशः इन एशोशिएसन विथ र पावर्ड बाई स्पोन्सरको रूपमा सहकार्य गरेका छन् । आयोजकहरूका अनुसार फेस्टले नेपालको स्टार्टअप र इन्नोभेसन क्षेत्रको वर्तमान अवस्था बुझ्न र युवाहरूको सिर्जनशीलता प्रत्यक्ष अनुभव गर्न सहयोग पुर्याउनेछ। हाल आइसिटी अवार्ड २०२५ का लागि १५ विधामा छनोट प्रक्रिया जारी छ, जसका लागि ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ।
बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड
काठमाडौं । ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड २०२५ का पाँच विजेतामध्ये बेलायत–नेपालबीचको सीपसम्बन्धी साझेदारी पर्न सफल भएको छ । अवार्डको घोषणा अक्टोवर २८ मा लन्डनमा आयोजित गोइङ ग्लोवल २०२५ सम्मेलनमा गरिएको थियो । नेपाली साझेदारहरुको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि शर्माले अवार्ड ग्रहण गरेका थिए । यस साझेदारीमा बेलायतका चार वटा संस्था तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सहित नेपालका सार्वजनिक र निजी क्षेत्रका संस्थाहरु संलग्न छन् । ब्रिटिस काउन्सिलको सहयोगमा बेलायत–नेपाल साझेदारीले सबल सार्वजनिक–निजी साझेदारीको व्यवस्थित अवधारणा लागूू गर्दै नेपालमा हरित सीप (ग्रिन स्किल) को क्षेत्रमा देखा परेका कमीहरुलाई सम्वोधन गर्न सम्वन्धित निकायलाई सहयोग गरिरहेको छ । सार्वजनिक र निजी क्षेत्रका विभिन्न सरोकारवालालाई समेटेर यस साझेदारीले नेपालमा हरित सीपसम्बन्धी सल्लाहकार बोर्ड (ग्रिन स्किल एड्भाइजरी बोर्ड) स्थापनाका लागि नेपाल सरकारलाई सहयोग गरेको छ । यस बोर्डले थप समयानुकूल र दीगो शिक्षाका साथै रोजगारीका लागि समावेशी मार्ग निर्माण गर्ने लक्ष्यसहित हरित सीपको क्षेत्रमा काम गरिरहेको छ । बोर्डमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिटिइभिटी, एफएनसीसीआइ, नेपाल उद्योग परिसंघ (सिएनआइ) र नेपाल निर्माण व्यवसायी महासंघ (एफसिएएन) को प्रतिनिधित्व छ । अवार्ड जित्न सफल ५ वटा परियोजनाले आफ्नो तर्फबाट दीगो विकास लक्ष्यहरुमध्ये समावेशी शिक्षासम्बन्धी एक लक्ष्यका लागि दीर्घकालिन योगदान गर्न सक्ने विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए । अवार्ड विजेता अन्य साझेदारी पाकिस्तान, चीन, इजिप्ट र नाइजेरियाका थिए । अवार्ड समारोहपछि बोल्दै सचिव पौडेलले भने–’यो अवार्डले बेलायत र नेपालका विभिन्न संस्थाबीचको उत्कृष्ट साझेदारीलाई सम्मान गरेको छ, साझेदारीमार्फत सञ्चालित ग्रिन स्किल एड्भाइजरी बोर्डले नेपालमा अत्यावश्यक हरित सीप विकासका लाथि निकै महत्वपूर्ण योगदान गर्ने आशा मैले लिएको छु ।’ सो अवसरमा बोल्दै ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक (कन्ट्री डाइरेक्टर) रुस्तम मोदीले भने–’यो विश्वव्यापी अवार्डबाट बेलायत–नेपाल साझेदारी सम्मानित हुँदा हामी निकै हर्षित छौं, नेपालमा हरित सीपको मुुद्धा सम्वोधनमा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यबाट हामीले यो उपलव्धि हासिल गरेका हौं, यस साझेदारीमार्फत हामी थप दीगो, समावेशी र भविष्यका लागि भरपर्दो जनशक्ति निर्माण गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा सहयोग गर्न पाउँदा गर्व महसुुस गर्दछौं ।’ ब्रिटिस काउन्सिलका डेपुुटी चिफ एक्जिक्युटिभ केट इवार्ट बिग्सले अवार्ड हस्तान्तरण गरेका थिए भने ब्रिटिस काउन्सिलकी शिक्षासम्बन्धी ग्लोवल डाइरेक्टर मडलिन एनसलले माथि उल्लेखित परियोजनाहरुले शिक्षा क्षेत्र र दीगो विकासमा पार्ने महत्वपूर्ण प्रभावबारे धारणा राखेकी थिइन् ।
शैक्षिक सत्र सुरु भएको सात महिना बितिसक्दा पनि अधिकांश विद्यालयमा विषय शिक्षकको अभाव
काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकामा रहेको रुपादेवीका विद्यार्थीले शैक्षिकसत्र सुरु भएदेखि गणित विषय पढ्न पाएका छैनन् । गत जेठ महिनादेखि विद्यालयले शिक्षक खोज्दा पाउन सकेको छैन । संघीय सरकार अन्तर्गतको अनुदान कोटामा १८ पटक विज्ञापन गर्दा पनि शिक्षक नभेटिएको नरहरिनाथ गाउँपालिकाको शिक्षा शाखाका प्रमुख केशवराज खनालले बताए । पटक–पटक सूचना निकाल्दा पनि शिक्षक नपाउँदा विद्यार्थीले विषय पढ्न पाएका छैनन् । नरहरिनाथ गाउँपालिकाकै नन्दादेवी कोटबाडमा पनि समस्या उस्तै छ । विद्यालयले विज्ञान विषयको शिक्षकका लागि सूचना निकाल्दा पनि शिक्षक भेटिन मुस्किल परेको छ । सूचना देखेपछि कतिपयले फोन गरेर बुझे पनि दरखास्त दिएर परीक्षा दिन कोही नआएको विद्यालयले बताएको छ । पालिकाको अनुदान कोटामा शिक्षक खोजी गर्दा नभेटिएको खनालले बताए । उनी भन्छन्, ‘हाम्रो पालिकाका दुई विद्यालयमा यस्तो समस्या छ, अन्य पालिकाका विद्यालयमा पनि यस्तै समस्या सुनेको छ, धेरै विद्यालयमा शिक्षक नपाएर विद्यार्थीले नपढेरै परीक्षा दिनुपर्ने बाध्यता छ ।’ कुनै पनि विषयका लागि अहिले पनि विद्यार्थी शिक्षक र विद्यालयकै भरमा परिरहेका हुन्छ् । विद्यार्थीको सोच विद्यालय गएर शिक्षकले पढाएपछि मात्र पढ्ने भन्ने हुन्छ । शिक्षा शाखा प्रमुख खनाल यही सोचले पनि विद्यार्थी विद्यालय आउँदा खेलेर समय बिताउँछन् तर आफै पढ्ने प्रयास समेत नगर्ने बताउँछन् । गणित अंग्रेजी बाहेकका विषय विद्यार्थीले आफै पनि पढ्ने प्रयास गर्नुपर्ने उनको भनाइ छ । विद्यार्थीमा आफैले पनि पढ्नुपर्छ भन्ने भावना छैन । स्कुलमा आएर त्यो पनि शिक्षकले पढाएर मात्र पढ्नुपर्छ भन्ने सोच विद्यार्थीको छ,’ उनी भन्छन्, ‘फेरि विज्ञान र गणित विषय शिक्षकले नबुझाएर विद्यार्थीले बुझ्न पनि सक्दैनन्, यो समस्या समाधान भएन भने विद्यार्थीले नपढेरै परीक्षा दिनुपर्ने बाध्यता हुने देखिन्छ ।’ शिक्षककै भरमा केन्द्रित हुने भएकाले विषयगत शिक्षक नहुँदा विद्यार्थीको पढाइमा समस्या हुने उनी बताउँछन् । किन पाइँदैनन् शिक्षक ? नेपालमा विशेषगरी विज्ञान, गणित, अंग्रेजी विषयका शिक्षक ग्रामीण क्षेत्रमा पाउन गाह्रो पर्छ । शहरी क्षेत्रमा अन्य काम गर्दै एक घण्टाको लागि पढाइ दिने शिक्षक भेटिए पनि गाउँमा यस्तो व्यवस्था छैन । विद्यालयहरुका अनुसार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म विद्यालयमै बस्ने शिक्षक खोज्न तलब पुग्दैन । एकातिर कम पारिश्रमिक हुँदा भएका व्यक्ति पनि इच्छुक देखिदैनन् भने अर्कोतिर विषय केही महिना वा वर्षका लागि मागिएका कोटामा काम गर्न इच्छु हुँदैनन् । विज्ञान, गाणित, अंग्रेजी पढेका व्यक्ति धेरै भएपनि शहर बढी प्राथमिकतामा पर्दा ग्रामिण क्षेत्र रोजाइमा पर्न सक्दैनन् । विषयविज्ञ प्रयाप्त भए पनि करारको कोटामा गएर काम गर्न अनिच्छुक हुँदा समस्या भएको शिक्षकहरू बताउँछन् । ‘पालिकाले अनुदानमा राखेका शिक्षकको तलब १५ देखि २५ हजार छ । यो तलबमा विषय विज्ञ शिक्षकहरू पाउन गाह्रो हुन्छ । बाजुराको पशुपती माविका शिक्षक तुला थापा भन्छन्, ‘पढाउँदा घोक्रो सुकाइ पढाउनुपर्छ, पैसा पेटभरी खान आउँदैन यस्तो अवस्थामा गाउँमा बसेर पढाउन कोही इच्छुक हुँदैन ।’ करारको कोटामा केही समयको लागि किन काम गर्ने भन्ने मनसायले पनि योग्य व्यक्तिको रुचि यतातिर जान नसकेको उनी बताउँछन् । के गर्दैछ मन्त्रालय ? नेपालको शिक्षा क्षेत्र कस्तो छ, विद्यार्थी पढ्न पाइरहेका छन् वा छैनन् हेर्ने अधिकार शिक्षा मन्त्रालयको हो । विषय विज्ञ शिक्षक नहुँदा विद्यार्थी पढाइबाट बञ्चित रहेको विषयमा मन्त्रालय र मन्त्री पनि जानकार छन् । तर, कुनै पहल शिक्षा मन्त्रालयले पनि चाल्न सकेको छैन । दरबन्दी अनुसारका शिक्षक नहुँदा पढाइ प्रभावित हुँदै गएको विषय अहिलेको होइन । शिक्षा मन्त्रालय भने विद्यार्थीको पढाइलाई मध्यनजर गर्दै मन्त्रालयले काम गरिरहेको प्रतिक्रिया दिन्छ । शिक्षक अपुग भएका ठाउँमा अनुदानमा भए पनि कोटा छुट्याउने कामदेखि पढाइको गुणस्तर सुधारका लागि मन्त्रालयले आफै पढाउने कार्यक्रम गरिरहेको बताएको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत एकदिनमा पाँच घण्टा शैक्षिक कार्यक्रम सुरु गरिरहेको बताएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख हरी निरौला विद्यार्थीलाई मध्यनजर गर्दै श्रव्य र दृश्यका सामग्रीहरू प्रसारण गरिरहेको बताउँछन् । ‘नेपाल टेलिभिजन र रेडियो नेपालबाट विद्यार्थी केन्द्रित सिकाइ कार्यक्रम जारी राखेका छौं यो अहिलेमात्र होइन विगतका विर्षदेखि गर्दै आएका छौं, उनी भन्छन्,‘ बिहान र साँझको समयमा समसामयिक विषयमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छौं विद्यार्थीले यो कार्यक्रम नबिराइ हेर्ने र सुन्नेहो भनेपनि धेरै कुरा सिक्न सक्नुहुन्छ ।’ समग्र शिक्षामा कसरी लेख्ने भन्ने विषयमा विज्ञहरूले सिकाइरहेको सबै कक्षाको सबै पाठहरू युट्युवमा पनि राखेको भन्दै विद्यार्थीले हेर्न सक्ने निरौला बताउँछन् । निरौलाका अनुसार सिकाइ चौतारी एप सरकारले ल्याएको छ । त्यो एप डाउनलोड गरेरपनि त्यसमा धेरै कुरा हेर्नसक्ने उनको भनाइ छ । शिक्षकहरू भने मन्त्रालय शिक्षाका लागि गतिलो कदम चाल्नुपर्ने बताउँछन् । उनीहरू सरकारले आफ्नो जिम्मेवारी पूरा गरी गुणस्तरको जिम्मा शिक्षकलाई दिनुपर्ने बताउँछन् । शिक्षाको गुणस्तर हामी बनाउँछौं एकातिर विषयविज्ञ शिक्षक नहुनु र अर्कोतिर विद्यार्थीले पढाइबाट बञ्चित भइरहेको बेला शिक्षकहरू भने शिक्षा मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताइरहेका छन् । शिक्षाको गुणस्तरका लागि सबैभन्दा पहिले शिक्षकको व्यवस्थापन र शिक्षकलाई तालिमको आवश्यकता रहेको बताउँछन् । कपिलवस्तुको जनज्योति माविका शिक्षक विष्णुप्रसाद भण्डारी कक्षा कोठाभित्र जाने शिक्षकलाई सरकारले खुसी पार्न नसक्दा शिक्षा कमजोर भएको बताउँछन् । २०६० सालदेखि शिक्षकको पदोन्नती नभएको, बालविकासका शिक्षकले न्यूनतम पारिश्रमिक नपाइरहेको अवस्थामा शिक्षा गुणस्तर हुन नसक्ने बताउँछन् । विज्ञान, कम्प्युटर विज्ञान पढाइ हुने विद्यालयमा ल्याबको व्यवस्था कम्प्युटरको व्यवस्था छैन, बेलाबेला शिक्षकहरूलाई तालिम, प्रशिक्षणको व्यवस्था छैन । सरकारले यति मात्र गर्नसक्यो भने पनि नेपालको शिक्षा सोचेभन्दा राम्रो हुने उनको भनाइ छ । उनी राम्रो गर्ने शिक्षकलाई पुरस्कारको व्यवस्था र गलत गर्ने दण्डित गर्ने व्यवस्था पनि गर्नुपर्ने बताउँछन् । ४०÷४१ वर्षसम्म आफ्नो विषयमा राम्रो नतिजा ल्याइरहेका धेरै शिक्षक हुँदा पनि सरकारले कुनै कार्यक्रममा सम्मानित गर्न नसकेको भन्दै सरकारले रिवार्ड र पनसिमेन्टको कार्यक्रम ल्याउनुपर्ने बताए । ‘शिक्षाको क्षेत्रमा मन्त्रालयले यति काममात्र गरिदिने हो भने शिक्षाको गुणस्तर कस्तो बनाउनपर्छ भन्ने कुरा शिक्षकले देखाउछन्,’ उनी भन्छन्, ‘शिक्षालाई गुणस्तर बनाउन सरकार, शिक्षक, अभिभावक र विद्यार्थी सबैले लाग्नुपर्छ ।’ उनी शिक्षकले भनेका कुरा सबैकुरा गरिसकेपछि शिक्षाको गुणस्तरको जिम्मा शिक्षकलाई दिनुपर्ने उनी बताउँछन् । चिन्तामा विद्यार्थी शिक्षामा सरकार र शिक्षकबीच एक किसिमको द्वन्द्व जस्तै छ । पटक–पटक विद्यालयको पढाइ छोड्दै सडकमा आएका शिक्षक र उनीहरूका माग पूरा गर्न पन्छिदै आएको सरकारको दोहोरो टकरावले विद्यार्थीहरू मारमा परेका छन् । विगतका वर्षका नतिजाले आलोचना खेपेको सरकारले एक वर्षमा नतिजा सुधार गर्ने प्रतिवद्धता गरेसँगै गएको वर्ष केही नतिजा सुधार भएको थियो । अघिल्लो वर्ष ४८ प्रतिशत विद्यार्थी एसईई पास भएकोमा गत वर्ष ६२ प्रतिशत विद्यार्थी एसईई पास भएका थिए । तर यो पटक भने नतिजा खसक्ने डरमा शिक्षा क्षेत्रमा सरोकार राख्नेहरू बताउँछन् । शिक्षक आन्दोलन करिब दुई सातादेखि सुरु भएको पढाइ कार्यक्रमबीचमा दशैं तिहार र जेनजी आन्दोलनले केही प्रभावित भए । अहिले सुरु भएका विद्यालयमा पढाइ आधा जस्तो पनि भएको छैन । फागुन २१ गते निर्वाचन गराउने पक्षमा अहिलेको अन्तरिम सरकार लागेको छ । चुनावले पनि केही दिन पढाइ प्रभावित हुने देखिन्छ । निर्वाचनमा खटिने कर्मचारी अधिकांश शिक्षक र निर्वाचन हुने ठाउँ पनि विद्यालय नै तोकिने भएकाले पढाइ प्रभावित हुने निश्चित छ । पटक–पटक देशमा हुने आन्दोलनको प्रभाव विद्यार्थी र समग्र शिक्षामा परेको देखिन्छ ।