ईस्टू काठमाडौं जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयन
काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन ईस्टू काठमाडौं जिल्ला समन्वय समितिको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित समितिको अध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रामनरेश राय, उपाध्यक्षमा नेत्रमणि रेग्मी, महिला उपाध्यक्षमा स्वर्णलता गुरुङ, सचिवमा सरोज श्रेष्ठ तथा कोषाध्यक्षमा सुजना अर्याल कोइराला निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए । अध्यक्ष गौतमका अनुसार समितिका सदस्यहरूमा किशोरमणि आचार्य, लक्ष्मी देउला र लक्ष्मी घिमिरे क्षेत्री चयन भएका छन् । रेनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा ईस्टू राष्ट्रिय समितिका अध्यक्ष होमकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी रहेको गौतमले जानकारी दिए । गौतमका अनुसार कार्यक्रममा ईस्टूका प्रमुख संरक्षक मुकुन्द गौतम विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए । अधिवेशनमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीका हकहित, पेशागत सुरक्षा, संगठन विस्तार तथा आगामी कार्ययोजनाबारे समेत छलफल भएको अध्यक्ष गौतमले बताए । नवगठित समितिले शिक्षकहरूको पेशागत अधिकार संरक्षण, संगठन सुदृढीकरण तथा शैक्षिक क्षेत्रका साझा मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष गौतमले जानकारी दिए ।
भूकम्पले क्षति पुर्याएको जनप्रिय आधारभूत विद्यालयलाई सिद्धार्थ बैंकले बनाइदियो नयाँ भवन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकको आर्थिक सहयोगमा सानीभेरी गाउँपालिका–१, भण्डारवनमा रहेको विद्यालयको नयाँ भवन तथा सुलभ पहुँचयुक्त शौचालय निर्माण सम्पन्न भएपछि आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवन उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक हंसा बहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालयको भवन पुनर्निर्माणपछि विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण पाउने अपेक्षा गरिएको छ । हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्कालगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवन निर्माणलाई केवल भौतिक संरचना निर्माणका रूपमा नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गरे । उनले विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि भएकाले समयसापेक्ष, गुणस्तरीय र समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भवन निर्माण कार्य सम्पन्न गरेको बताए । बैंकका अनुसार नवनिर्मित भवनले विद्यार्थीहरूलाई सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच दिलाउनुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन, नियमित पठनपाठनलाई निरन्तरता दिन र समग्र शैक्षिक वातावरण सुदृढ बनाउन सहयोग पुग्नेछ । सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन
काठमाडौं । ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदका लागि १ सय १३ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले दरखास्त आह्वान गरेसँगै १ सय १३ जनाले आवेदन दिएका हुन् । ६ वटा प्रतिष्ठानमध्ये सबैभन्दा बढी आवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ भने सबैभन्दा कम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २६ जनाले आवेदन दिएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २४ जनाको, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ जनाको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ जनाको, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जनाको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा कम ११ जनाको आवेदन परेको छ ।