भक्तपुरमा हप्ताको दुई दिन विद्यालय विदा नहुने
काठमाडौं । भक्तपुर नगरपालिकाका विद्यालयमा हप्तामा दुई दिन विदा नहुने भएको छ । नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै अर्को सुचना जारी नभएसम्म सबै विद्यालयलाई पहिलाकै जस्तै विद्यालय शनिबार मात्र विदा दिन आदेश दिएको हो । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा सुरु गरेको छ । विभिन्न शैक्षिक संस्थाहरुले यसको विरोध गर्दै आएका छन् ।
दुई दिन बिदा दिने निर्णय फिर्ता लिन एनप्याबसनको आग्रह
काठमाडौं । नेशनल प्याब्सनले सरकारले दिने भनेको दुई दिन बिदा प्रति आपत्ति जनाएको छ ।नेशनल प्याब्सनले शुक्रबार राती विज्ञप्ति जारी गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । कोभिडको कारण पठनपाठन दुई वर्षदेखि लयमा आउन नसकिरहेको बेला सरकारले विद्यालय दुई दिन बिदा दिने निर्णय गर्दा अझ धेरै अस्तव्यस्त हुने विज्ञप्तिमा उल्लेख छ । सरकारले एकल रुपमा घोषणा गरेको बिदाले विद्यार्थीमा थप भार पर्ने बताउँदै नेशनल प्याब्सनले छिटोभन्दा छिटो निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी सबै क्षेत्रमा दुई दिन बिदा अनिवार्य गरेकाे छ ।
शैक्षिक संस्थामा हिउँदे, वर्षे र स्थानीय विदा नहुने
काठमाडौं । शैक्षिक संस्थामा हिउँदे, वर्षे र स्थानीय विदा नहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था कटौती गर्ने निर्णय गरेको हो । मन्त्रालयको अनुसार सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको हो ।