काठमाडौं विश्वविद्यालयको आयोजनामा आर्किटेक्चर एक्स्पो
काठमाडौं । काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा विहीबार एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको प्रारम्भ आर्किटेक्चर एक्स्पोमा विभिन्न निर्माण सामग्रीका स्टलहरू राखिएका छन् । एस्पोको अवसरमा अन्तर कलेज आर्किटेक्चरल स्टल डिजाइन प्रतियोगिता भएको थियो । साथै, लाइभ आर्ट एण्ड डिजाइन प्रतियोगिता प्रोजेक्ट डिस्प्ले गरिएको थियो । एक्स्पोमा सहभागी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले एक्स्पोमा आफूहरूसहित धेरै स्टलहरु रहेको जनाए । आर्किटेक्चरका विद्यार्थीहरूमा वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगबारे जनचेतना दिने उद्देश्यले एक्स्पोमा आफूहरू सहभागी भएको उनले बताए ।
अब शैक्षिक संस्था पनि सातामा २ दिन विदा
काठमाडौं । विद्यालय तथा क्याम्पस पनि अब सातामा दुई दिन विदा हुने भएको छ । सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय सार्वजनिक गरेसँगै उक्त निर्णय शैक्षिक क्षेत्रमा समेत कार्यान्वयन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । उक्त निर्णय शैक्षिक क्षेत्रमा समेत लागू हुने शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अब सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुनेछन् । यसअघि आईतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म विद्यालय सञ्चालन हुँदै आएको थियो । सरकारले परीक्षणका रुपमा मात्रै सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको उनले बताए । सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णयसँगै दैनिक कार्यालय समय थप गर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै आगामी जेठ १ गतेदेखि कार्यालय समय बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ ।
आजदेखि एसईई परीक्षा
फाइल फाेटाे काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । कोरोना महामारीका कारण २ वर्षदेखि आन्तरिक मूल्यांकनबाटै सम्पन्न गरिएको एसईई यस वर्ष भने भौतिक उपस्थितिमै सुरु भएको हो । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा बिहान ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिरहेको परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । बोर्डले यस वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी रहेको जनाएको छ । नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ जना , प्राविधिक तर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी छन् ।