प्रावि शिक्षकका लागि खुल्यो आवेदन

फाइल फोटो काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै १३ हजार ९३ पदका लागि विज्ञापन खुलाइएको जनाएको छ । इच्छुक उम्मेदवारले माघको १३ गतेसम्म तोकिएको दस्तुरमा र माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि नै शिक्षक सेवा आयोगले मावि र निमावि तहका लागि विज्ञापन खुलाइसकेको छ । निमावी तहका लागि २ हजार ५९८ शिक्षकका लागि आवेदन खुला गरिएको छ । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । यस्तैगरी माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । आयोगले मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिसकेको छ ।

प्रज्ञाभवनमा जुरेको व्यापार र सेवाको अवसर

काठमाडौं । कुनै पनि सभा तथा सम्मेलन केही मानिसका लागि एउटा खास अवसर बनिदिन्छ । धेरै मानिसको उपस्थिति । तिनका अनेकन रुचि र अनि चाहना । कसैका लागि व्यापारको थलो त कसैका लागि ज्ञानको भण्डार विस्तार गर्ने गन्तव्य । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन पनि यस्तै भएको छ केहीका लागि । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसर यतिबेला इन्द्रेणीको सात रङजस्तै विविधताको रङमा परिणत भएको छ । विशेषगरी जनयुद्धबाट खुला राजनीतिमा आएपछि माओवादीले ठूला–ठूला भेला आयोजना ग¥यो । कहिले जनपरिचालन ग¥यो त कहिले सङ्घर्षको बिगूल पनि बजायो । कहिले विचारको संश्लेषण पनि ग¥यो । त्यस्तै क्रममा माओवादी यतिबेला समाजवादी क्रान्तिको नयाँ मोडल स्थापित गर्न लागिपरेको छ । कमलादीमा संविधानले भनेजस्तै समाजवादोन्मुख व्यवस्थाको खोजीमा लागेको छ । यही मौकामा कमलादी परिसरमा अनेकन प्रवृत्तिका पात्रहरू पनि भेला भएका छन् । विशाल भेटघाटको यस अवसरमा भेटिएका वैज्ञानिक समाजवाद निर्माण अभियान प्रकाशनका सञ्चालक हरिशचन्द्र खड्का । उनी पुस्तकहरू बोकेर माओवादीका नेता तथा कार्यकर्ताको ज्ञान बढाउन आएका हुन । उनका साथमा अधिकांश माक्र्सवादी पुस्तक छन् । उनले २५ प्रकारका पुस्तक ल्याएका छन् । ‘सहयोगी समाज’ नामक पुस्तक सबैभन्दा बढी मन पराइएको छ । सोही पुस्तक नै सबैभन्दा बढी बिक्री भएको छ । माओवादीका नेता तथा कार्यकर्ता अध्ययनशील देखिएको उनको भनाइ छ । उनले भने, “मैले सोचेभन्दा राम्रो बिक्री भएको छ”, नेपालमा समाजवाद कस्तो र कसरी भन्ने पुस्तकको उत्तिकै माग बढेको छ । माओवादी कार्यकर्ताले विज्ञान र प्रविधिमा आधारित समाजवादसम्बन्धी पुस्तक बढी मात्रामा खोजी गरेको उनको भनाइ छ । उनले अगाडि भने, “कम्युनिष्ट दर्शनको सिद्धान्त धेरैले पढिसकेका छन्, अहिले जुन विज्ञान र प्रविधिमा आधारित समाजवाद भनिएको छ त्यसैले पनि पाठकले ग्लोबलाइजेशन र डिजिटलाइजेशनलाई व्याख्या गर्न सक्ने खालका पुस्तकको खोजी गरेका छन् ।” ‘विज्ञान संसार’ भन्ने नयाँ पुस्तक बजारमा आउँदै छ । अहिलेसम्म दुई दिनमा समाजवादको यात्रा नामक पुस्तक एक हजार प्रतिभन्दा बढी बिक्री भएको छ । दर्शन विश्वकोर्ष नामक पुस्तक पनि उत्तिकै बिक्री भएको छ रे उनका अनुसार । त्यस्तै महाधिवेशनस्थल प्रज्ञा भवनको हल बाहिर प्रारम्भिक जडीबुटी सहकारी संस्थाबाट सङ्कलित प्रशोधित जडीबुटी तथा औषधिजन्य वस्तु पनि उत्तिकै बिक्री भएको छ । जडीबुटीजन्य औधषिको बिक्री वितरण गरिरहेका ईश्वरी पाण्डेका अनुसार मानव स्वास्थ्य, माटो व्यवस्थापन र प्राकृतिक सम्पदाको लागि अतिउपयोगी ३८ प्रकारका जडीबुटीजन्य औषधि राखिएको छ । रुघा, खोकी र हाडजोर्नीसम्बन्धी औषधि बढी मात्रामा बिक्री भएको पाण्डेको भनाइ छ । नाफा नराखीकन प्रचारात्मकरूपमा औषधिमा ३३ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उनले भने, “समाजवादी अभ्यास गर्न समाजसँग जोडिएको स्थानीय उत्पादन मैले राखेको छु । प्राकृतिक दोहनलाई नियन्त्रण गर्दै पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो ।” उनी अनुसार माओवादीले समाजवादको कार्यक्रममात्रै होइन, कार्यदिशा पनि ल्याओस् भन्ने अपेक्षा गर्छन् । त्यसैको प्रचारका लागि पनि मैले यहाँ जडीबुटीको प्रचार गर्न खाजेको हुँ । जनस्वास्थ्यकर्मी महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष कानूनलाल चौधरीलाई पनि महाधिवेशनस्थलमा भ्याइनभ्याइ छ । उनका अनुसार महाधिवेशनस्थलमा स्वास्थ्य सेवासँगै प्रगोगशालाको पनि व्यवस्था गरिएको छ । औषधि पनि उत्तिकै उपलब्ध छन् । प्रज्ञा भवनको प्राङ्गणमा इसिजीलगायत सेवासहित आकस्मिक सेवाको पनि व्यवस्था छ । दुई दिनमा ५०० जनालाई स्वास्थ्य सेवा दिइएको छ । प्रतिनिधिहरूको स्वास्थ्य परीक्षणका लागि रगत सङ्कलन गरिएको छ । वरिष्ठ चिकित्सक, नर्स गरी करिब २०० स्वास्थ्यकर्मी महाधिवेशनमा परिचालित छन् । आकस्मिक उपचारका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र नेपाल निजामती अस्पतलालगायतसँग समन्वय र सहकार्य गरिएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासङ्घले महाधिवेशनमा सहभागी प्रतिनिधि र सहभागीलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न सल्लाह दिएको छ । यस्तै स्यानिटाइजरको प्रयोग नियमित गर्न, खोक्दा हाछ्यँु गर्दा नाक मुख छोप्न र भौतिक दूरी कायम गर्न पनि अनुरोध गरेको छ । प्रज्ञा भवनको प्राङ्गणमा जनयुद्धका क्रममा विभिन्न समयमा लिइएका तस्वीर प्रदर्शन गरिएको छ । यसले नेता तथा कार्यकर्तालाई इतिहासको स्मरण गराइरहेको छ । यस्तै क्रान्तिचेतसहितको चित्र पनि भवन परिसरमा राखिएको छ । त्यसमा माओवादी अध्यक्ष प्रचण्डलाई ट्र्याक्टर चालकका रूपमा प्रस्तुत गर्दै समाजवादी क्रान्तिको नायकका रूपमा उभ्याइएको छ । समाजवादी क्रान्तिका लागि ट्र्याक्टर अर्थात् आधुनिक खेती प्रणाली अगाडि बढाएर जानुपर्ने पेन्टिङको अर्थ छ । कलाकार केशवराज खनालले देशलाई समाजवादी युगमा लाने हो भने कृषि क्षेत्रको विकास गर्नुपर्ने सन्देश दिनका लागि उक्त चित्र तयार पारेका हुन। त्यसको शीर्षक छ– ‘औद्योगिक क्रान्ति र समाजवाद’ । रासस

हिमपातले वार्षिक परीक्षा मनाङमा नहुँदै विद्यालय बन्द

मनाङ । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ । चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन । आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । तर यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए । ‘हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडो अघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं’, उनले भने । हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ । ‘कोरोना सङ्क्रमण्ले यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नुपर्याे । गत वर्ष चैतबाट सुरु हुन्थ्यो,’ उनले भने, ‘कोरोनाले शैक्षिक सत्र नै फेर्नुपर्याे ।’ आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ । यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताए । ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसएिको बताउनुभयो । पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । ‘मङ्सिर १७/१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुपर्याे भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाल्नुभयो । विद्यार्थीलाई रोक्न सकेनौं र हामीले परीक्षा रोक्न बाध्य भयौं’, उनले भने । उनका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा १–७ सम्मको आधारभूत, एउटा कक्षा १–३ सम्मको आधारभूत र चार वटा कक्षा १–५ सम्मको आधारभूत विद्यालय छन् । उनले भने, ‘हिउँदे बिदा माघ १५ गतेसम्मको लागि गरिएको छ । त्यसपछि विद्यालय खुल्छ ।'[ स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरेपनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदा बाहेक विकल्प नभएको उहाँले बताउनुभयो । विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन् । नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताए । उनले भने, ‘गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौं ।’ उनका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्दछ । सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताउनुभयो । गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । ‘कोभिडले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिराले विद्यालय भवन बगाउदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं । बाढीपहिराले जलविद्युत् बगाउदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,’ प्रधानाध्यापक कोइराला भन्छन्, ‘बल्ल–बल्ल तीन महिना जति पढायौं । फेरि यहाँको चिसोले बन्द गर्नुपर्याे ।’ उनका अनुसार कक्षा ८, ९ र १० को परीक्षा शनिबारदेखि सकिँदैछ । आधारभूत तहको परीक्षा यसअघि नै सकिएको छ । ‘तीन महिना जति पढाए पनि परीक्षा भने अर्धवार्षिक तरिकाले ४० पूर्णाङ्कको लिएका छौं । नतिजा सार्वजनिक गरेर विद्यालय बन्द गर्ने तयारी गरेका छौं’, उनले भने । उनका अनुसार पिउने पानी र सडकमा पानी जमेर बरफ बनेको छ । मनाङमा जनजीवन कष्टकर बनेको छ । ‘केही हुन्छ कि भनेर अलि अलि ढिला गर्याैं । तर साना बच्चाको प्रस्तुतिले कतै हामीले बालबालिकालाई सजाय त दिएनौं भन्ने सोचर आवासमा बस्ने बालबालिकालाई पनि समस्या हुनसक्ने भएकाले छिटोछिटो परीक्षा गर्याें’, उनले भने । चामे गाउँपालिका शिक्षा तथा खेलकूद शाखा संयोजक इन्द्रजङग गुरुङका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म हिउँदे बिदा गरिएको छ । पुस १५ मा विद्यालयले अर्धवार्षिक परीक्षा सक्ने उनले बताए । ‘हिमपातले असर गरेन भने माघ १६ गतेबाटै खुला गर्छौं । हिमपातले असर गर्न थाल्यो भने फागुन १ गतेबाट जसरी पनि विद्यालय खुलाउनु पर्ने हुन्छ’, उनले भने । नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले जाडो बिदा पुस १५ गतेबाट हुने बताए । उनले भने, ‘जाडो बिदा खासगरी ११ गतेबाट हुन्छ । स्थानीय बिदा ५ दिन जोडेर १६ गतेबाट लागू हुने गरी जाडो बिदा तोकेका छौं ।’ उनका अनुसार फागुन १ गतेबाट पठनपाठन सुरु हुनेछ । अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका गरिएको बताए । चामे र नासोंमा परीक्षा अन्तिम अन्तिममा पुगेको र विद्यालय बन्द हुने क्रममा रहेको उनले बताए । उनले भने, ‘हिमपातसँगै चिसो बढ्न थालेको छ । चिसोले बस्न नसक्ने अवस्था भएपछि परीक्षा सकाएर स्थानीय तहले जाडो बिदा दिएको छ ।’ शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ । यसमा ५ दिन स्थानीय बिदा लिने व्यवस्था अनुसार बिदा बढाइएको छ । तर, विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यस मातहतमा रहेकाले शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत निर्णय गर्ने गरेका छन् । मनाङमा चार माध्यमिक, नौ आधारभूत र १३ प्राथमिक (आधारभूत) गरी कूल २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउने/जाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समय समेत थप गरी मनाङको पढाइ प्रभावित हुँदै आएको छ । रासस