नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबारे अनुगमन हुने
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका छन् । समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ । नवीकरणकरणका लागि सबै शिक्षण संस्थाले निवेदन पेश गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुनसकेको छैन ।
निमावि शिक्षकका लागि खुल्यो विज्ञापन
फाइल फोटो काठमाडौं । सरकारले निम्न माध्यमिक तहका लागि शिक्षकको विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगले बुधबार निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो जसमा २ हजार ५९८ शिक्षकका लागि आवेदन खुला गरिएको छ । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । यस्तै, मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।
शिक्षामन्त्रीको निर्देशन: निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल थाल्नुहोस्
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार आयोगका पदाधिकारीहरुको छलफलमा उनले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन । ‘देशभरका विद्यालयमा शिक्षकहरुको अभाव छ,’ उनले भने, ‘यसै साता निम्नमाध्यमिक र त्यसको केहीसमयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।’ शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै शिक्षकको आन्तरिक बढुवा एवम् अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आयोगलाई मन्त्रीले निर्देशन दिएका हुन् । ‘५ बर्षदेखि आन्तरिक शिक्षकको बढुवा रोकिएको थियो,’ मन्त्री पौडेलले भने, ‘नियमावली पास भएको छ, शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्नुहोस् ।’ १३ हजार ९३ प्राविमा शिक्षकको पदपूर्ति गर्नुपर्ने बताउँदै १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न मन्त्रीले पौडेलले आग्रह गरे । नियमावली संशोधन भइसकेकाले अब ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ । छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्नमाध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी गराए । ‘हामीले माविको १ हजार ५ पाँच सय ६५ पदका लागि विज्ञापन गरिसकेका छौं,’ अध्यक्ष रेग्मीले भने, ‘ यसै साता निम्नमाध्यमिक विद्यालयमा रिक्त २ हजार पाँच सय ९८ पदका लागि विज्ञापन गछौं ।’