एक सय शय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउँछः मन्त्री पौडेल
चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे । आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन् । अन्यको हकमा भने छलफल भइरहेको मन्त्री पौडेलको भनाइ थियो । मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिँदै उनले पिसिएल नर्सिङ्को अध्ययन विसं २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बनाए । रासस
जुम्लामा एमबिबिएस कक्षा सुरु
काठमाडौं । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने ध्येयले विसं २०६८ मा जुम्ला सदरमुकमास्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो । चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो । साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये आइतबार १५ जना भर्ना भएका छन् । तीमध्ये छात्रा पनि रहेका जनाइएको छ । उनीहरु प्रतिष्ठानद्वारा आइतबार नै आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए । पहिलो नम्बरमा भर्ना भएका छात्र ओमकुमार यादवले भने,“ जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुशी छु । ”अर्का छात्रा अपेक्षा पराजुलीले प्रतिष्ठानका शिक्षक, प्रयोगशाला तथा उपकरण राम्रो भएकाले आफू एमबिबिएस अध्ययन गर्न आएको जानकारी दिईन । प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ । सो तहमा भक्तपुरका डा रहिस कोजु, काठमाडौँ निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत रहेका छन् । यसैगरी दार्चुला (हाल धनगढी) निवासी डा ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका डा मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी),, नर्सिङ पनि अध्यापन पनि सुरुआत गरेको छ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा विएनएस मिडवाइफ्रि र विपिएच पनि अध्यापन सुरु भइसकेको छ । प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष ९आइसीयू० र चार शय्याको शल्यक्रिया कक्ष छ । “जुम्लामा एमबिबिएस कक्षा सुरुआत भएसँगै समग्र कर्णालीको स्वास्थ्य सेवा र शिक्षाले ऐतिहासिक फड्को मार्ने छ । विपन्न जनताको पहुँचमा स्वास्थ्य सेवालाई स्थापित गर्न कोशेढुङ्गाको काम गर्नेछ । ” प्रतिष्ठानका एक पदाधिकारीले भने । चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत रहेका जनाइएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले घरआँगनमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कर्णालीमा मेघावी छात्रछात्राको सपना पुरा भएको बताए । उनले भने, “कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालनभएसँगै यहाँको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा र सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।” शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद समेत दिए । “स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो”, उनले भने, “अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ । ”
निवन्ध प्रतियोगिता गर्दै बीमा समिति, विद्याथीहरु सहभागी हुन पाउने, विजेतालाई नगद पुरस्कार
काठमाडौं । बीमा समितिले विद्यालय तथा विश्वद्यिालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा बीमाको महत्व शीर्षकमा विद्यालयस्तरीय र जोखिम व्यवस्थापनमा बीमाको भूमिका शीर्षकमा विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको हो । समितिले मंसिर १६ गते एक सूचना जारी गर्दै उक्त प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो । यससँगै निवन्ध प्रतियोगितामा सहभागी हुन चाहने विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले सूचना प्रकाशित भएको तीन महिनाभित्रमा समितिमा बुझाउनुपर्ने हुन्छ । को को सहभागि हुन पाउँछन् ? उक्त विद्यालयस्तरीय निवन्ध प्रतियोगिताका लागि कक्षा ५ देखि कक्षा १२ मा अध्ययनरत तथा कक्षा १२ को परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरुले सहभागी जनाउन पाउने छन् । उनीहरले बीमाको महत्व शीर्षकमा कम्तीमा २ हजार शब्दको निवन्ध लेख्नुपर्ने समितिले जनाएको छ । त्यस्तै, विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिताका लागि कक्षा १२ भन्दा माथिल्लो कक्षामा अध्ययनरत तथा परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । उनीहरुले जोखिम व्यवस्थापनमा बीमाको भूमिका शीर्षकमा कम्तीमा ३ हजार शब्दको निवन्ध लेख्नु पर्ने हुन्छ । विजेतालाई नगद पुरस्कार, कसले कति पाउँछन् ? दुई विधामा छुट्याईएको भिन्नै शीर्षकको निवन्ध प्रतियोगितामा प्रतियोगीमध्ये दुई जना प्रथम छानिने छन् । त्यस्तै दोश्रो र तेश्रोमा पनि दुई दुई जना विद्यार्थीहरु छानिनेछन् । प्रतियोगिताका विजयीले न्यूनतम ७ हजारदेखि २५ हजार रुपैयाँसम्म पाउँछन् । जसमध्ये विद्यालयस्तरीय प्रतियोगिताको पहिलोले २० हजार रुपैयाँ र विश्वविद्यालयस्तरीय प्रतियोगिताको पहिलो विजेताले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र समेत पाउने छन् । त्यस्तै, विद्यालयस्तरीय तर्फको दोश्रोले १२ हजार रुपैयाँ र तेश्रोले ७ हजार रुपैयाँ बराबरको नगद पुरस्कार पाउने छन् । उता विश्वविद्यालयस्तरीयका दोश्रो र तेश्रो विजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ तथा प्रमाणपत्र पाउने समितिले जनाएको छ । समितिले बीमा क्षेत्रको विकास तथा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि यो प्रतियोगिता योजना गर्न लागेको हो ।