यी हुन् विद्यालय खोल्नुअघि पुरा गर्नुपर्ने सरकारको मापदण्ड

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको बैठकले भौतिक रुपमा विद्यालय खोल्नुअघि गर्नुपर्ने कार्यहरुको नियम बनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सम्बन्धित सबै सरोकारवालासँग बसेको बैठकले यस्तो नियम बनाएको मन्त्रालयका प्रवक्त डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा कोभिड क्राइसिस म्यानेजमेन्टका प्रमुख तारानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, अभिभावक संघ, प्याबसन र एनप्याबसनको उपस्थिती रहेको पौडेलले बताए । ‘बैठकले विद्यालयलाई खोल्नुभन्दा अगाडी विद्यालयलाई नजिकैको स्वास्थ्य संस्था र स्थानिय निकायसँग समन्वय गरी त्यहाँ परीक्षण, उपचार र ट्रेसिङको सम्पुर्ण व्यवस्था मिलाई र विद्यालय रहेको पालिकाको कोभिड-१९ को जोखिम आकलन गर्ने जुन जिल्लास्थित सिसिएमसीले सिफारिस गर्छ, पाैडेलले भने, ‘त्यसको आधारमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले कोभिड-१९ बेला विद्यालय संचालन सम्बन्धी जारी गरेको कार्यढाँचा २०७७ को पुर्ण पालना गरी अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई कोभिड १९ सम्बन्धी अभिमुखीकरण गरेर मात्र निकट भविष्यमा विद्यालय संचालन गर्ने हिसाबले तयारी गर्न अनुरोध गरेको छ ।’ विद्यालयहरु सुचारु राख्ने नराख्ने निर्णय त्यहाँको स्थानिय सरकारले जोखिम अनुसार गर्नेहुँदा विद्यालय खोल्ने निर्णय गर्नुअघि सबै पुर्वतयारी पुरा गरी विद्यालयमा रहने कर्मचारी विद्यार्थी र शिक्षकहरु सबैको स्वास्थ्य सुरक्षामा ध्यान दिई शिक्षा मन्त्रालयले विद्यालय संचालन सम्बन्धी जारी गरेको कार्यढाँचा २०७७ काे नियम पालन गर्नुपर्ने उनले बताए । देशमा संक्रमण घटे पनि जोखिम नघटिसकेको र देशभरका सबै पालिका र सबै विद्यालयमा एउटै अवस्था नरहेको भन्दै मन्त्रालयले सबै निकायलाई यस विषयमा संवेदनशिल रहन आग्रह गरेको छ । यसअघि उपत्यकाको ३ सिडिओको बैठकले असोज १ गतेबाट सबै विद्यालहरु पालिकाले अनुमति दिए भौतिक रुपमा खोल्न पाउने निर्णय गरेको थियो ।

आजदेखि कक्षा १२ को परीक्षा, ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदै

फाइल फाेटाे काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारदेखि सञ्चालन हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ । यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदै छ। होम सेन्टर मार्फत हुने परीक्षामा ३ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदैछन् भने ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा बोर्डका अनुसार धेरैजसो विद्यार्थीले कोरोनाविरुद्ध खोप लगाइसकेको र संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो।

ललितपुरका विद्यालय असोज १ गतेबाट खाेल्न पाइने

काठमाडाैं । ललितपुर महानगरपालिकामा असोज १ गतेबाट विद्यालहरु खाेल्न पाइने भएकाे छ । महानगरपालिकाले विज्ञप्ति जारी गर्दै असोज १ गतेबाट विद्यालय खाेल्न दिने निर्णय गरेकाे जनाएकाे छ । स्वास्थ्य मापदण्ड पालना गरी महानगरपालिकामा विद्यालय खाेल्न पाइने छ । ‘विद्यालय संचालन गर्नुपुर्व पुर्वतयारी गरी कार्यढाँचा तथा स्वास्थ्य मापदण्डकाे सम्बन्धमा अभिभावक, शिक्षक विद्यार्थी तथा सराेकारवालाहरु अभिमुखीकरण गर्न र साे काे जानकारी महानगरपालिकामा पेश गर्नहाेला, विज्ञप्तिमा भनिएकाे छ । यसअघि काेभिडकाे कारण विद्यालयहरु लामाे समय भाैतिक रुपमा बन्द रहेका छन् ।