काठमाडौं वर्ल्ड स्कूलले विशिष्ट श्रेणी कायम गरेकाे
काठमाडौं । काठमाडौं वर्ल्ड स्कूलले विशिष्ट श्रेणीकाे स्तर कायम गरेको छ । सुर्यविनायक नगरपालिकाले साे स्कुललाई विशिष्ट श्रेणीको स्तर कायम गर्न अनुमति दिएको हो । कक्षा १ देखि १२ सम्म पढाई हुने यस विद्यालय शहरको भिडभाड र कोलाहलबाट टाढा कोटेश्वर सल्लाघारी हुँदै भक्तपुरको सूर्यविनायक–७, गुण्डुस्थित शान्त मनोरम एवं चारैतिर हरियालीले सुशोभित रमणीय स्थानमा छ । करिब ठुलाे क्षेत्रफल स्थापना गरिएको काठमाडौं वर्ल्ड स्कूल आधारभूत सुविधाभित्रको उत्कृष्ठता र अतिरिक्त सुविधामा व्यापकता रहेको विद्यालय हो । शान्त र सुविधा सम्पन्न शिक्षण वातावरण, अनुभवि शिक्षक रहेकाे यस स्कुलमा लाइब्रेरीको व्यवस्था, अत्याधुनिक कम्युटर सहितको कम्युटर ल्याब, अत्याधुनिक प्रविधिसहितको साइन्स ल्याब, अनुभवी सेफ सहितको क्यानटिन, उपत्यकाभर कभरेज गर्ने यातायात सुविधा र दिवा आवासीय व्यवस्था जस्ता सुविधाहरु रहेका छन् । त्यतिमात्रै नभएर विद्यालयकाे आफ्नै स्विमिङ पुल, नृत्य, संगीत, मार्सल आर्ट, नाटक, फाइन आर्ट, फुटसल लगायतका अतिरिक्त क्रियाकलापका लागि भौतिक सुविधा समेत रहेकाे छ । हाल १५०० जना विद्यार्थी क्षमता भएको विद्यालयमा १६० विद्यार्थीका लागि पूर्ण आवासीय व्यवस्था रहेको छ ।
पहिलोपटक प्रधानाध्यापक परीक्षामार्फत छनोट
जाजरकाेट । पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा रु पाँच हजार जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ । नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रअ छनोट गरी भदौ २६ गते नियुक्ति दिन लागिएको छ । विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रअ छनोट गरिएको नगरप्रमुख विशाल शर्माले जानकारी दिए । सबै प्रअलाई पाँच वर्षका लागि करार सम्झौता हुने नगरप्रमुख शर्माले जानकारी दिनुभयो । सम्झौताअनुसार न्यूनतम काम नगरे बर्खासीको बाटो पनि खुलै राखिएको छ । प्रअले साविकको प्रअ भत्ताको २०० प्रतिशत थप भत्ता पाउनेछन् । प्रअ छनोट हुनेमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त भएकासमेत छन् । प्रअले नगरपालिकासित पहिलो चरणमा एक वर्षको करार सम्झौता गर्नेछन् । एक महिना, तीन महिना र एक वर्षमा गर्नुपर्ने काम उक्त सम्झौतामा उल्लेख हुनेछ । हरेक एक महिना, तीन महिना र १२ महिनामा गर्नुपर्ने काम नगरेको खण्डमा प्रअबाट हट्नुपर्ने र रु पाँच हजार जरिवाना तिर्नुपर्ने छ । विभिन्न मापदण्डका आधारमा नगरपालिकाले प्रअको कामको मूल्याङ्कन गर्ने छ । मूल्याङ्कनमा कम्तीमा ५० अङ्क ल्याउनुपर्ने छ । मूल्याङ्कनका आधारमा ८० प्रतिशत बढी नतिजा ल्याउने प्रअलाई ५० प्रतिशत भत्ता थप हुने छ । नगर शिक्षा नियमावली–२०७४ को दोस्रो संशोधन, २०७७ अनुसार प्रअ नियुक्तिको प्रक्रिया अघि बढाइएको नगरप्रमुख शर्माले बताए । नगर शिक्षा ऐनअनुसार प्रअ छनोट गरिएको भन्दै उनले सङ्घीय शिक्षा ऐनअनुसार मापदण्डका आधारमा प्रअको परीक्षा लिइएको जानकारी दिए । रासस
कक्षा १२ को परीक्षा कहिले ?
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जनाए । उनले कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गरे । उनले बोर्डले दिने सुझाव अध्ययन गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ रोकथाम तथा नियन्त्रण केन्द्र (सिसिएमसी) ले परीक्षा सञ्चालनका विधि र मितिबारे बाधा अड्काउफुकाउसहित निर्णय गर्ने बताए । बोर्डले कोभिड–१९ को जोखिम बढिरहेको र कक्षा १२ को परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा १० र ११ का जस्तो आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रियस्तरको परीक्षा गर्न सुझाव तयार गरेको छ । विद्यालय तहका सबै विद्यार्थी अनलाइन सिकाइमा समावेश हुन नसकिरहेको अवस्थामा अनलाइनबाट कक्षा १२ परीक्षा सञ्चालन गर्न वा कोरोना जोखिम नभएका ठाउँमा परीक्षा सञ्चालन गरेर अन्य जिल्लामा फरक फरक मितिमा परीक्षा लिन सकिने प्रतिवेदनमा उल्लेख छ । चरणबद्ध परीक्षा भएमा पनि परीक्षाफल एकै समयमा हुने अध्यक्ष पौडेलले जानकारी दिए । गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा बन्दाबन्दीका कारण स्थगन भएको थियो । अध्यक्ष पौडेलले भने, “पाठ्यक्रम र मूल्याङ्कन प्रणाली बोर्डले नभई पाठ्यक्रम मूल्याङ्कन विकास परिषद्ले तय गर्ने भएकाले निर्धारित पाठ्यक्रम र सरकारले दिएको परीक्षासम्बन्धी नीतिभन्दा बाहिर हामीले केही गर्न सक्दैनौँ । विषम परिस्थितिमा सरकारको निर्णयलाई आधार मानेर काम गर्नेछौँ ।” शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले स्वास्थ्य जोखिमलाई ध्यान दिएर कक्षा १० र ११ को परीक्षाको निकास दिइसकेकाले कक्षा १२ का सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का सहअध्यक्ष डिके ढुङ्गानाले कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा हुने भएकाले यसलाई व्यवस्थित र मर्यादित हुने गरी सञ्चालन गर्नुपर्ने बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) का महासचिव सुवास न्यौपानेले छ महिना बितिसक्दा पनि परीक्षार्थीहरु अन्योलमा रही मानसिक तनावमा पर्नु दुःखद भएको बताए । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान)का सचिव रामहरि सिलवालले समयमै विभिन्न विकल्प सहितको योजना तर्जुमा नहुँदा हालसम्म परीक्षाबारे विद्यार्थी र अभिभावकमा अन्योल देखिएको जनाउँदै कक्षा १० र ११ लाई सस्तो रुपमा आन्तरिक मूूल्याङ्कन नगराउन आग्रह गरे । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका कर्णाली प्रदेश संयोजक गोविन्द कोइरालाले लामो समयसम्म अन्योल राख्न नहुने जनाउँदै स्थानीय तह र विद्यालयलाई जिम्मेवार बनाउनुपर्ने बताए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका काठमाडौँ जिल्ला अध्यक्ष विष्णु पनेरुले कक्षा १२ को परीक्षालाई मर्यादित रुपमा सञ्चालनका लागि स्थानीय तहलाई जिम्मेवार बनाई केन्द्र निर्धारण वा अनलाइन विधिबाट सञ्चालन गर्न सकिने सुझाव दिए । शिक्षा अभियन्ता बिके श्रेष्ठले निरन्तर सिकाइ उपलब्धिलाई जोडेर गुणस्तरीय शिक्षाको सुनिश्चितता हुन नसकेमा दिगो विकास लक्ष्य अनुसारको जीवनोपयोगी शिक्षाको लक्ष्य परिपूर्ति नहुने बताउँदै खुल्ला पुस्तक परीक्षा प्रणालीमा पनि जान सकिने उपाय सुझाए । तत्कालीन उच्चमाध्यामिक शिक्षा परिषद्का पूर्वसदस्यसचिव भीमलाल गुरुङले व्यवस्थापन गर्न गाह्रो भए पनि कक्षा १२ को परीक्षाका लागि सबै विकल्पमा जान सकिने जनाए । कार्यक्रममा विभिन्न प्रदेशबाट प्रधानाध्यापक, शिक्षक, अभिभावक र सञ्चारकर्मीको सहभागिता थियो । रासस