भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालयमा विशेष छात्रावृत्ति दिने घोषणा

काठमाडौं। भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यस्तो घोषणा गरेको हो । स्थापनाको पहिलो वर्षमै विश्विद्यालयले विद्यार्थीहरुको मन जित्न सफल भैसकेको छ । हाल उक्त विश्वविद्यालयमा प्यारामेडिकल, बिएस्सी अप्टोमेट्री, रेडियोग्राफी, रेडियोथेरापी, अपरेशन थिएटर, मेडिकल ल्याब टेक्नोलोजी, बि. फार्मेसी, बि. फिजियोथेरापी, ईन्जिनियरिङ, आर्किटेक्चर (बि.टेक र एम.टेक) र व्यवस्थापन (बिबिए र एमबिए), हेल्थ एसिस्टेन्ट, बिएस्सी एग्रिकल्चर लगायतका दर्जनभन्दा बढि कोर्सहरु प्रदान गर्दै आएको छ । उक्त विश्वविद्यालयमा नेपालबाट समेत ५० भन्दा बढि विद्यार्थीहरु हाल अध्ययनरत रहेको विश्विद्यालयका चान्सलर डा. पुनित गोयलले जानकारी दिए । विश्वविद्यालय स्थापनाको एक वर्षमै विद्यार्थीको पहिलो रोजाईमा आफूहरुको विश्वविद्यालय परेको उनले विश्वास दिलाए । उनकाअनुसार विश्वविद्यालयले विदेशबाट आउने विद्यार्थीहरुलाई ध्यानमा राखेर होस्टेलको पनि सुविधा प्रदान गर्दै आएको उनले जनाए । विश्वविद्यालयले गुणस्तरीय शिक्षासमेत प्रदान गर्दै आएको र हाल जिमदेखि खेलकुदको पनि सुविधा प्रदान गरिएको गोयलले बताए । उनले भने,‘हामीसँग सबै पूर्वाधार छ ।’ विश्वविद्यालयले आफ्नै भवन परिसरमा सांस्कृतिक कार्यक्रमपनि सञ्चालन गर्दै आएको उनले सुनाए । विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउनेलाई विशेष छात्रावृद्धिपनि दिईँदै आएको डा. गोयलले जानकारी दिए । उनकाअनुसार हाल उक्त विश्विद्यालयमा २० भन्दा बढि राष्ट्रका विद्यार्थी छन् । भुटान, नेपाल, श्रीलंका, घाना, नाईजेरिया, मुजाम्बिक, केन्या, यमनलगायतका विद्यार्थीहरु अहिले अध्ययनरत रहेको उनले सुनाए । पत्रकार सम्मेलनमा विश्वविद्यालयका भाईस चान्सलर डा. देवेन्द्र पाठकले आफूहरुले विश्वस्तरीय अध्यापन गराउँदै आएको दाबी गरे । उनले भने,‘हाम्रो विश्वविद्यालय व्यवसायिक छ । स्मार्ट छ । अध्याधुनिक प्रविधि छ । नेपाली विद्यार्थीलाई सुहाउँदो कोर्शहरु पनि डिजाईन गरिएको छ । विश्वविद्यालयको अध्ययनपछि विद्यार्थीहरु उद्योग तथा व्यवसायमा जान सजिलो हुन्छ ।’ व्यवहारिक ज्ञान हाँसिल गर्नसमेत विश्वविद्यालयले सहयोग पुरयाउँदै आएको उनले जिकिर गरे । उनले थपे,‘हाम्रो विश्वविद्यालय र भारतका प्रतिष्ठित उद्योगबीच सहकार्य छ ।’ विश्वविद्यालयले कम्युनिकेशन स्किललाई पनि बढावा दिँदै आएको उनले विश्वास दिलाए । विद्यार्थीहरुलाई अनुभव साटासाटको लागि विभिन्न देशमा लैजाने गरेको र यस्ता कार्यक्रमले विद्यार्थीको भीजन ठूलो बनाउनको लागि मद्दत पुग्ने उनले विश्वास दिलाए । उनले थपे,‘हामीले ईन्टरप्रिनरसिप स्किल पनि सिकाउँछौं ।’ यो वर्षको शैक्षिक सत्रमा नेपालबाट करिब दुई सय जना विद्यार्थी भर्ना हुने आफूहरुको विश्वास रहेको पनि पाठकले स्पष्ट पारे । उक्त विश्वविद्यालयमा अहिले कुल तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

त्रिविको जागिर नातेदारलाई, अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ/संगठन र नेताका नातेदारहरूको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । त्रिविका कर्मचारी संघ(संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायतत्रिविकै विभिन्न निकायमा समेत उजुरी दिएका छन् । स्रोतका अनुसार त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरू परीक्षामा सफल भएका छन् । आयोग कार्यालयबाट प्राप्त एक सूचीमा अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको नाम शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा निस्केको छ । उनले भतिजीसहित भनसुनका आधारमा अन्य आफन्त र चिनजानका व्यक्तिको समेत नाम निकाल्न सफल भएको स्रोतको दाबी छ । त्यस्तै आयोगका प्रमुख कोइरालाकी छोरी नमिता अधिकृत पदमा पास भएकी छन् । आफ्ना नातागोता वा परिवारका सदस्यले परीक्षा दिने भए नीति(नियम, मर्यादा र परम्पराका हिसाबले सम्बन्धित पदाधिकारी सहभागी हुन मिल्दैन, त्रिविका एक प्राध्यापकले भने, सेवा आयोगका अध्यक्ष र प्रमुख नै परीक्षामा सहभागी हुनुहुन्छ, उहाँहरूका नातेदारले सक्षम भएरै नाम निकालेको भए पनि यो गैरकानुनी हुन्छ । आयोगका अर्का सदस्य चिन्तामणि पोखरेलले समेत पहुँचका आधारमा आफूनिकट उम्मेदवारलाई परीक्षामा उत्तीर्ण गराएको स्रोतको दाबी छ । त्रिविको प्राध्यापकदेखि कर्मचारीको छनोट र नियुक्तिमा पहुँच र पैसाको प्रतिस्पर्धा हुन थाल्यो, अर्का एक कर्मचारीले भने, लेनदेन गरेको प्रमाण नभेटिए पनि आफन्तको नाम धमाधम निस्कनुले यसको पुष्टि गर्छ । अध्यक्ष शर्मा नेकपानिकट हुन् भने प्रमुख कोइराला कांग्रेसनिकट । उनीहरूको सेटिङमा पूर्वएमाले, कांग्रेस र पूर्वमाओवादीनिकट पदाधिकारी तथा विद्यार्थी संगठनका नेताको सिफारिसमा नतिजा प्रकाशित भएको आशंका गरिएको छ । यसरी कम्तीमा ३५ जनाभन्दा बढीलाई उत्तीर्ण गराइएको स्रोतको दाबी छ । परीक्षामा सफल भएका उमेदवारको सूची हेर्दा पूर्वएमाले र कांग्रेस कोटामा ४०-४० प्रतिशत तथा पूर्वमाओवादीतर्फबाट करिब २० प्रतिशत उम्मेदवारको नाम निकालिएको छ,स्रोतले भन्यो, सर्वसाधारणका छोराछोरीको नाम कमै मात्र निस्केको छ, अन्तर्वार्ता बाँकी नै छ । त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्यकी छोरी कल्पना सहायक लेखा पदमा उत्तीर्ण भएकी छन् । पूर्वरजिस्ट्रार तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका छोरी र ज्वाइँसमेत प्रतिस्पर्धामा सफल भएका हुन् । पौडेल पूर्वमाओवादीनिकट हुन् । छोरी सन्ध्याको सहायक लेखा र ज्वाइँ प्रकाश थापाको मुख्य कार्यालय सहायकमा नाम निस्किएको हो । महाशाखा प्रमुख खनालकी बहिनी उषा पनि सफल भएकी छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

अब डाक्टरले जस्तै इञ्जिनियरले पनि परीक्षा पास गरेर मात्र लाईसेन्स पाउने

काठमाडौं । अब इञ्जिनियरहरुले पनि लाईसेन्स परीक्षा पास गरेर मात्र काम गर्न पाउने भएका छन् । नेपाल काउन्सिलले ल्याउन लागेको व्यवस्था अनुसार अब डाक्टरहरुले जस्तै लाईसेन्सको लागि परीक्षा दिएर मात्र सम्बन्धित क्षेत्रमा काम गर्न पाउने भएका हुन् । हाल मेडिकल काउन्सिल, नेपाल बार काउन्सिल तथा चार्टर्ड एकाउण्टेन्टहरुलाई नेपाल चार्टर्ड अकाउन्टेन्ट (आईक्यान) संस्था लगायतले मात्रै यसरी परीक्षा लिएर लाईसेन्स दिने व्यवस्था छ । नेपाल इञ्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण नेरौलाले नयाँ व्यवस्थासँगै इञ्जिनियरिङ शिक्षा र कामको गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गरे । ‘हाल नेपालको इञ्जिनियरिङ शिक्षाको अवस्था दयानीय छ, इञ्जिनियरिङ शिक्षा सकेर काममा लागेकाहरुकोउत्पादकत्व राम्रो छैन नयाँ व्यवस्था पछी त्यस्तो अवस्था अन्त्य हुनसक्छ’– अध्यक्ष नेरौलाले भने । मेडिकल काउन्सिलबाट सम्बन्ध प्राप्त गरेपछी मात्रै काम गर्ने व्यवस्थाका कारण नेपालको मेडिकल क्षेत्रलाई दक्षिण एसियामै उत्कृष्ट मानिन्छ । काउन्सिलले उक्त प्रावधान लागु गर्ने भएसँगै नेपाली इञ्जिनियरिङका विद्यार्थी तथा कलेजहरुलाई गुणस्तर सुधारमा थप दबाब पर्ने भएको छ । हाल सम्म काउन्सिलले त्रिभुवन विश्वविद्यालयमा मात्र इञ्जिनियरिङ बिषयमा उत्तीर्ण गरेका वा त्रिबि बाहेक अन्य विश्वविद्यालका विद्यार्थीको हकमा समकक्षता प्रमाण पत्रको सिफारिसको आधारमा लाईसेन्स दिने गर्दै आएको थियो । हाल नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय र मध्य पश्चिमाञ्चल विश्वविद्यालयलाई काउन्सिलले मान्यता दिँदै आएको छ। काउन्सिलले यस सँगै भारतको २३३, चिनको ४९, रसियाको ३७, अमेरिकाको ६५, बेलायतको २२ सँगै अन्य धेरै देशबाट इञ्जिनियरिङ पढेर आउनेलाई मान्यता दिँदै आएको छ । यदी कुनै पनि विद्यार्थी पढेको विश्वविद्यालय काउन्सिलको लिस्टिङमा नभएको खण्डमा काउन्सिलको बिषयगत समितिले सिफारिस गरेर बोर्डले पास गरेको अवस्थामा विद्यार्थीले लाईसेन्स पाउने व्यवस्था रहेको छ। नेपालमा हाल ५० हजार रजिस्टर्ड ईन्जिनियर रहेका छन्। नेपाल बाहेक भारत, बाङ्लादेश, चिन, रसियबाट ईन्जिनियरिङ्ग पढेर आउने विद्यार्थीको संख्या बढी रहेको छ। सबै इञ्जिनियरिङ कलेजको एउटै पाठ्यक्रम नेपाल इञ्जिनियरिङ काउन्सिलले सबै विश्वविद्यालयमा एउटै पाठ्यक्रम ल्याउन लागेको काउन्सिलका अध्यक्ष नेरौलालेले बताए । वर्तमान अवस्थामा नेपालका ५ वटा विश्वविद्यालयको आ-आफ्नै पाठ्यक्रम रहेको छ। शिक्षा र सिकाईको प्रणालीको एकरुपतामा ल्याउन यो कदम चाल्न लागेको उनले जानकारी दिए।