एउटै विद्यालयमा ३१ अक्षयकोष स्थापना
गलकोट । बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा शुभेच्छुकले रु १५ लाख १७ हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । बागलुङ नगरपालिकाभित्र यती धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ । विद्यालयको समग्र शैक्षिक गुणस्तरमाथि उठाउन, विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न र विभिन्न छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न व्यक्तिले अक्षयकोष स्थापना गरी सहयोग गरेको सो विद्यालयका प्रधानाध्यापक गोपालकुमार शर्माले जानकारी दिएका छन् । शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न जरुरी भएको र त्यसका लागि कोषले महत्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ छ । “आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ”, उनले भने, “विद्यालयमा स्थापना गरिएका अक्षयकोषले कयौँ विद्यार्थीको अध्ययनमा सहयोग पुर्याएको छ ।” प्रधानाध्यापक शर्माका अनुसार अक्षयकोषले विद्यार्थीलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ । यसले विद्यार्थीलाई अध्ययन गर्न ठूलो सहयोग पुग्नेछ । विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । विभिन्न समय र सन्दर्भ पारेर अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले सहयोग गर्ने क्रम बढेपछि विद्यार्थी र अभिभावक पनि उत्साहित देखिएका छन् । अध्यक्ष खड्काका अनुसार, विद्यालयमा रु तीन हजारदेखि दुई लाख २२ हजारसम्मका अक्षयकोष स्थापना भएका छन् । विद्यालयलको शैक्षिक विकासका लागि स्वतस्र्फूत रूपमा पूर्वशिक्षक, समाजसेवी, शिक्षाप्रेमीलगायतले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गरिएको छ । भौतिक पूर्वाधारमा सम्पन्न देखिने यस विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म अध्ययन, अध्यापन भइरहेको छ । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधि शिक्षाको गुणस्तर सुधारमा सक्रिय छन् । विसं २०११ मा स्थापना भएको विद्यालयमा विसं २०४५ देखि हालसम्म ३१ अक्षयकोष स्थापना भएका हुन् । विद्यालयमा कूल ३२० विद्यार्थी अध्ययनरत छन् । रासस
म्याग्दीमा चौध विद्यार्थी एसइई दिनबाट वञ्चित
म्याग्दी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीका १४ जना विद्यार्थी सहभागी हुनबाट वञ्चित भएका छन् । कक्षा ९ मा परीक्षा फारम भरेका तर तोकिएको हाजिरी नपुगेका १४ जना विद्यार्थी एसइईमा सहभागी हुनबाट वञ्चित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नौ जना छात्रा र पाँचजना छात्र एसइई परीक्षामा सहभागी हुनका लागि अयोग्य पहिचान भएका एकाइका प्रमुख दलबहादुर थापाले बताए । एसइईमा सहभागी हुन कक्षामा ७५ प्रतिशत हाजिर भएको हुनुपर्ने नियम छ । गतवर्ष हाजिरी नपुगेर एसइईमा सहभागी हुन अयोग्य भएका विद्यार्थी सङ्ख्या ३१ जना थियो । विवाह, वैदेशिक रोजगार, पारिवारिक र आर्थिक कारणले पढाइलाई निरन्तरता दिन तथा नियमित विद्यालय आउन नसकेका कारण उनीहरु एसइई परीक्षामा सहभागी हुनबाट वञ्चित भएका हुन् । यसवर्ष म्याग्दीका एक हजार ११० जना छात्रा र एक हजार ८७ जना छात्र गरी कूल दुई हजार १९७ जना विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् । एक वटा खुल्ला विद्यालयसहित ७१ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् । हेम मावि शिवाङ, जनप्रिय मावि दरवाङ, मङ्गला मावि बाबियाचौर, धवलागिरि मावि सिङ्गा, बेनी सामुदायिक मावि, प्रकाश मावि, न्यु वेष्ट पोइन्ट आवासीय मावि, मुक्तिधाम मावि र मुक्तिमार्ग माविमा परीक्षा केन्द्र तोकिएको छ । बेनी सामुदायिक मावि र न्यु वेष्ट आवासीय माविबाहेकका विद्यालयमा सम्बन्धित विद्यालयका प्रअलाई नै केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा केन्द्राध्यक्ष नियुक्त गरेर उत्तरपुस्तिका पठाइसकिएको र प्रश्नपत्र पनि आजसम्म परीक्षा केन्द्रमा पुर्याउने तयारी छ । यसैगरी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माविको दृष्टिबिहीन स्रोत कक्षाका प्रेम विश्वकर्मा मुक्तिधाम मावि भगवती केन्द्रबाट परीक्षामा सहभागी हुँदैछन् । साधारणतर्फ चैत ६ देखि १४ गतेसम्म र प्राविधिकतर्फको १७ गतेसम्म एसइई परीक्षा सञ्चालन हुदैछ । रासस
प्रदेश–२ मा एसइई परीक्षाको तयारी पूरा
वीरगञ्ज । प्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा व्यवस्था अति कडा पारिने निर्देशनालयका निर्देशक चुडामणि फुयाँलले बताए । उनले भने,“प्रश्नपत्र भण्डारण गर्ने ठाउँ सुरक्षा घेराभित्र रहने, टिनको बाकसभित्र प्रश्नपत्र राखिने तथा त्यसको साँचो सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखसँग रहने व्यवस्था मिलाइएको छ ।” निर्देशक फुयाँलले उत्तरपुस्तिका प्रदेश नम्बर–२ का सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने प्रश्नपत्रहरु आजदेखि परीक्षा केन्द्रमा रहेका सुरक्षा निकायको जिम्मा लगाउने बताए। यसवर्ष प्रदेश–२ को आठ जिल्लामा ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुनेछन् । आठवटै जिल्लामा २६७ परीक्षा केन्द्र तोकिएको छ, यसवर्ष सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५ परीक्षार्थीहरुको सहभागिता रहने छ । प्रदेश–२ को राजधानी जनकपुरस्थित शिक्षा विकास निर्देशनालयका अनुसार यसवर्ष सप्तरीबाट नौ हजार १४० सिराहाबाट १० हजार १३१, धनुषाबाट ११ हजार ३९३, महोत्तरीबाट आठ हजार ३२९, सर्लाहीबाट १० हजार ५८, बाराबाट आठ हजार २४, रौतहटबाट सात हजार ७०५ र पर्साबाट आठ हजार ५९ परीक्षार्थीको सहभागिता रहने छ । यसैगरी सप्तरीमा ३४, सिराहामा ३९, धनुषामा ४३ , महोत्तरीमा ३०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३२ र पर्सामा २४ परीक्षाकेन्द्र तोकिएको छ । यसवर्षको एसइई परीक्षालाई मर्यादित बनाउन सबै परीक्षाकेन्द्रलाई पत्राचार गरिएको छ र कुनै केन्द्रले अमर्यादित रुपमा परीक्षा सञ्चालन गरेको पाइएमा त्यस्ता केन्द्रका केन्द्राध्यक्ष र परीक्षा केन्द्रमा खटिने कर्मचारीलाई कडा कारवाही गरिने निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष परीक्षा अगावै दुई विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ मा २ विषयको पुनःपरीक्षा लिइएको थियो । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदेश–२ मा विद्यार्थीले प्रदर्शन गर्दै सार्वजनिक सम्पत्ति तोडफोड समेत गरेका थिए । रासस