त्रिभुवन विश्वविद्यालयकाे रेक्टरमा डा.भूसाल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिविकाे शिक्षाध्यक्ष (रेक्टर)मा डा. शिवलाल भुसाललाई नियुक्त गरेकाे छ । तीन वर्ष अगाडिदेखि त्रिभुवन विश्वविद्यालयमा नै डीनको रुपमा कार्यरत डा.भूसाल गत पुस महिनादेखि निमित्त शिक्षाध्यक्षको रुपमा रहेका थिए । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. भूसाललाई सो पदमा नियुक्त गरेको त्रिविले जनाएको छ । अर्थशास्त्रमा विद्यावारधी गरेका भुसाल लामो समय पाल्पाको त्रिभुवन क्याम्पसमा अध्यापन गरेका थिए ।
सेन्ट जेभियर्सकाे कक्षा १ को भर्ना परीक्षाको नतिजा स्थगित
काठमाडौं । सेन्ट जेभियर्स स्कुलले शैक्षिक शत्र २०७७/०७८ सालको लागि लिएका कक्षा १ को भर्ना परीक्षाको नतिजा स्थगित गरेकाे छ । सारेको छ । विद्यालयले शनिबार एक सूचना सार्वजनिक गर्दै परीक्षाकाे नतिजा स्थगित गरेकाे हाे । कोभिड १९ को संभावित प्रकोपलाई नजर राख्दै स्कुलले नतिजा स्थगित गरेकाे बताएकाे हाे । चैत ५ गते लिइएको कक्षा १ को परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरेको विज्ञप्ती मार्फत जनाएको छ । याेभन्दा अगाडि सरकारले सेन्ट जेभियर्स स्कुललाई प्रवेश परीक्षाको नतिजा रोक्न निर्देशन दिएको थियाे । शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले नतिजा रोक्न निर्देशन दिइसकेको जानकारी थिए। सेन्ट जेभियर्स स्कुलले सरकारको निर्देशन विपरीत कक्षा १ मा छात्र तथा छात्राको भर्नाका लागि प्रवेश प्ररीक्षा लिइएको थियो । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्रदेखि विश्वविद्यालयमा कुनै पनि शैक्षिक गतिविधि नगर्ने निर्देशन दिएको थियो । साेही निर्देशनकाे पालना गर्दै स्कुलले परीक्षाकाे नतिजा स्थगित गरेकाे हाे ।
प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभु बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो । कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए । बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउँदै उनले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिए । जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रुपमा सबल बन्दै गएको तथा बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृदि हुँदै गएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए । धनपैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न उनले आग्रह गरेका छन् । कार्यक्रममा प्रभू बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँ गाउँमा बैंक विस्तार गरिसकेकाले पनि सवैमा वित्तिय साक्षरता बढाउँदै जानुपर्ने बताए । उनले सुगममा मात्र नभएर दुर्गम क्षेत्रमा पनि बैकिङ्ग सेवा विस्तार गरिसकेकाले सर्वसाधारणलाई यसबाट लाभ लिन आग्रह गरेका छन् । कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतमले ग्रामिण क्षेत्रमा सहकारी तथा वित्तीय क्षेत्रमार्फत करोडौंको आर्थिक कारोबार हुने तर उत्पादनमूलक क्षेत्रमा लगानी नहुने, कारोबारबारे महिलानै स्पष्ट नहुने भएकाले वित्तीय साक्षरता सञ्चालन गरिएको बताए । आफ्नो पुँजीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न उनले महिलालाई आग्रह गरेका छन् । कार्यक्रममा झन्डै ४० जनाको सहभागिता रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाकै अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए । महिलालाई घरदेखि बाह्य आर्थिक कारोबारमा सक्रिय बनाउने, सहजै हिसाबकिताब राख्न सक्ने, आफ्नो बचत र ऋण सही ठाउँमा उपयोग गर्ने लगायतका विषयमा कार्यक्रममा जानकारी दिइएको थियो ।