कोरोनाभाइरसकाे प्रभावले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय ) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो । चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ । माघको पहलो साता नै निर्माण सम्पन्न भइसकेको स्कुल प्रकोप नियन्त्रण भई मानिस आवतजावतमा सहज भएसँगै नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ । आवरणमा पुरानै ‘दरबार हाइस्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी माघको पहिलो साता नै निर्माण सम्पन्न भइसकेको थियो । निर्माण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एकपटक अनुगमन गर्नुपर्ने र उहाँहरू कहीले आउने भन्ने विषय यकिन नभएकाले हस्तान्तरणको विषय अन्योलमा परेको हो । अनुगमन टोली माघको तेस्रो साता आउने कार्यतालिका रहे पनि कोरोनाभाइरस प्रकोपका कारण अन्योलमा परेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य पनि सकिसकेको छ । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । शुरुको समयदेखि १९ महिनामा सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरी सम्पन्न गरेका हुन् । ८५ करोड रूपैयाँको लागतमा नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ । उक्त भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउनुुभयो । “कोरोनाभाइरस प्रकोप सकिएपछि सरकारलाई हस्तान्तरण हुन्छ”, उनले भने । विसं २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको उक्त हाइस्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्दति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । दरबार हाइस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताए । भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थिए । हाल ती दुवै विद्यालयमा गरी ३ सय मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सा पासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे । पछिल्लो समय सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याका आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात सो विद्यालयमा पनि कम छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ । चिनियाँ सरकारसँग भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका एक/एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको थियो । रासस
लायन्स क्लबको दुई करोड सहयोगमा सम्पन्न विद्यालय भवनकाे उद्घाटन
दमौली । लायन्स क्लब इन्टरनेशनलको सहयोगमा तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । रु दुई करोड सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण भएको हो । गत वर्ष फागुन ७ गते शिलान्यास भएको उक्त भवनको बिहीबार लायन्स क्लब अफ नेपाल ३२५ का एरिया लिडर बालकृष्ण बुर्लाकोटी र क्लबका डिष्ट्रिक गभर्नर इन्दु लम्सालले उद्घाटन गरे । विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन निर्माणका लागि लायन्स क्लब इन्टरनेशनले आर्थिक सहयोग गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित भण्डारीले नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहजता हुने जानकारी दिए । लायन्स क्लबले अपाङ्गता भएकालाई ह्विलचियर, न्यून दृष्टियुक्त व्यक्तिलाई सेतो छडी र बहिरा व्यक्तिलाई श्रवणयन्त्र वितरणसमेत गरिरहेको छ । यसअघि लायन्स क्लबकै सक्रियतामा व्यास –१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशालाका लागि रु एक करोड आर्थिक सहयोग र दमौली अस्पताललाई रु १६ लाख बराबरको उपकरण हस्तान्तरण भएको थियो । सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना भीमाद नगरपालिका–८ कोखेस्थित हिमालयन माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ पोखरा ग्रिन हिल र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि ग्रिनहिल र मोनाराम फाउण्डेशनले रु एक लाख ५० हजार सहयोग गरेका छन् । पुस्तकालयमा रु ५० हजार बराबरको पुस्तक सहयोग गरिएको छ भने थप पुस्तक खरिद र पुस्तकालयको स्तरोन्नतिका लागि रु एक लाख बराबरको अक्षयकोष स्थापना गरिएको लायन्स क्लब अफ पोखरा ग्रिनहिलका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार अक्षयकोषबाट प्राप्त हुने व्याजबाट पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तक खरिद गर्न सकिनेछ । उक्त पुस्तकालयको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गरे । सो अवसरमा उनले पुस्तकले मानिसलाई अध्ययनशील बनाउने भएकाले विद्यालयमा स्थापना गरिएको पुस्तकालयको सदुपयोग गर्न आग्रह गरे । पुस्तकालयमा विद्यार्थी, शिक्षक तथा सर्वसाधारणलाई मध्यनजर गरी विभिन्न ज्ञानमूलक पुस्तक राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद शर्माले जानकारी दिए । विद्यालयमा २५० विद्यार्थी, २० शिक्षक तथा कर्मचारी छन् । रासस
विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन नेपथ्यको सांगीतिक कार्यक्रम गरिँदै
काठमाडौं । चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौँमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ‘शिक्षाकालागि संगीत’ नाम दिइएको सो कार्यक्रम भृकुटी मण्डप बगैंचामा आयोजना गरिने छ । सन् २०१५ मा आएको विध्वंशकारी भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माणमा सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ । यस हेल्प नेपालले सन् २०१५ यता सिन्धुपाल्चोकको ठोकर्पा मावि लगायत विभिन्न जिल्लाका विद्यालय भवनहरु पुनर्निर्माण गर्न सघाएको छ । भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माण शुरु भइसकेको र सो पुनर्निर्माणको काम सम्पन्न गर्न सहयोग जुटाउन चर्चित व्याण्ड नेपथ्यसँगको सहकार्यमा यो सांगीतिक साँझ आयोजना गर्न लागेको हो । कार्यक्रममा चर्चित गायक अमृत गुरुङले प्रस्तुति दिनेछन् अहिले टिकटको मूल्य ९ सय रुपैयाँ राखिएको छ। कार्यक्रमको दिन भने टिकटको मूल्य प्रति व्यक्ति रु १ हजार २ सय ५० राखिएको आयोजकहरुले जनाएका छन् । इ सेवामा गएर कार्यक्रमको टिकट किन्न सकिन्छ । ‘मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर’ भन्ने आह्वान गर्दै २० वर्ष अघि बेलायतमा सो नेटवर्क स्थापना गरिएको थियो। हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।