विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा

काठमाडौँ । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । देशको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मास्टर्स पढिरहेका विद्यार्थी आ–आफ्ना डेरा छोडेर बिहीबार साँझ खुला चौरमा आएका थिए । उनीहरूमध्ये केही खाना पनि त्यहीँ खाँदै थिए । कोही कम्बल ओढेर लाइनमा सुतिरहेका थिए । सरकारले अनलाइन प्रणालीबाटै परीक्षा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरे पनि आवश्यक जानकारी नहुँदा युवाहरू यसअघिका वर्षहरूमा जस्तै रातभर लाइनमा लागेका छन् । इसेवा, आइएमई पेलगायत माध्यमबाट सहजै परीक्षा शुल्क भुक्तानी गर्न सकिन्छ । तर, अगाडि फारम भरे परीक्षा पनि अगाडि हुने र परिणाम पनि छिटो हुने विश्वासमा उनीहरू यसरी बैंक खुल्नुभन्दा १२ घन्टाअघि नै लाइन लागेका हुन् । परीक्षार्थीले नबुझेर लाइनमा लागेको हुन सक्ने इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालको भनाइ छ । ‘हामीले बैंकबाहेक अनलाइनबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने र फारम भर्न सकिने सूचना यसअघि नै निकालेका छौँ । हाम्रो वेबसाइटमा मात्रै होइन, भाषा सिकाउने संस्थामा पनि यो विषयको जानकारी गराएको हौँ,’ उनले भने, ‘बिहीबार राति १२ बजेपछि घरबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने बनाइएको छ । ग्लोबल आइएमई बैंकको अनलाइन बैंकिङबाट पनि रकम भुक्तानी गर्न सकिन्छ । बैंकमा लाइन लागेर भोलिपल्ट १० बजेपछि मात्रै रकम जम्मा गर्न सकिन्छ । यसरी लाइन लागिरहन आवश्यक छैन ।’ परीक्षा फारम ८ देखि १७ चैतसम्म बुझाउन सकिनेछ । परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन हुने इपिएस भाषा परीक्षा आगामी २५ र २६ जेठका लागि तोकिएको छ । पोखराबाट २० हजारले मात्रै आवेदन फारम भर्न सक्नेछन् । परीक्षाको नतिजा इपिएस कोरियाको अनलाइनमा १३ असारमा प्रकाशित हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मेडिकल कलेजको ठगी शृंखला, नेसनल मेडिकलद्वारा छात्रवृत्तिकै विद्यार्थीबाट चर्को ब्याज

काठमाडौं। एकपछि अर्को मेडिकल कलेजको ठगी धन्दा सार्वजनिक भइरहेको बेला वीरगन्जस्थित नेसनल मेडिकल कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट समेत चर्को रूपमा ब्याज लिने गरेको पाइएको छ । प्राप्त कागजातअनुसार कलेजले समयमा वार्षिक शुल्क नबुझाएको भन्दै छात्रवृत्ति प्राप्त विद्यार्थीबाट चर्को ब्याज लिएको पाइएको हो । वार्षिक शुल्क र होस्टेल शुल्कस्वरूप संयुक्त रूपमा सो कलेजले ती विद्यार्थीबाट मनोमानी ढंगले शुल्क असुल्दै आएको छ । शुल्क ढिलो तिर्ने विद्यार्थीबाट ब्याज शीर्षकमा १२ हजार ६ सय रुपैयाँ लिएको छ । कलेजले १२ जना विद्यार्थीबाट प्रतिविद्यार्थी २ लाख ३३ हजार रुपैयाँका दरले रकम असुलेको छ । यस्तै, परीक्षा शुल्क शीर्षकमा ३५ हजार रुपैयाँ, छात्राबास शुल्क शीर्षकमा ६४ हजार, मेस चार्जअन्तर्गत ७३ हजार ६ सय र अन्य शीर्षकमा ४० हजार रुपैयाँ लिएको पाइएको छ । कलेजले एक विद्यार्थीबाट २ लाख २५ हजार ५ सय रुपैयाँ लिएको छ । सो कलेजको १६औं ब्याजमा १२ जना विद्यार्थीले सरकारबाट छात्रवृत्ति पाएर अध्ययन गरिरहेका छन् । यसरी हेर्दा सो कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट प्रतिवर्ष १० लाख रुपैयाँका दरले असुलेको छ । स्रोतका अनुसार सो नेसनल मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्दै आएका विद्यार्थीबाट प्रतिविद्यार्थी ६१ लाख ३६ हजार रुपैयाँ लिँदै आएको छ । सरकारले उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्कबापत तोकेको छ । बढी शुल्कबारे कुरा उठाउने अभिभावकहरूलाई कलेज प्रशासनले धम्क्याउने गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

काठमाडौँ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ । जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिविका उपकुलपति डा तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिबीच आज सिंहदरबारमा वार्ता भएको थियो । सो विषयमा कारवाही नभएको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मङ्गलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए । गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दबाब दिएको विषय कानूनी कारवाहीको सवाल भएकाले तालाबन्दी खुलेपनि पीडित विद्यार्थीले मुद्दा फिर्ता नलिने जनाएका छन् ।