आईसिएफसी फाइनान्सको नाफा साढे २६ करोड, कर्जा १०.८९ प्रतिशत बढ्यो
काठमाडौं । आईसिएफसी फाइनान्सको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा २१ प्रतिशत घटेर २६ करोड ४२ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा फाइनान्सले ३३ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशत बढेर ६४ करोड ५४ लाख २१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४३ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सले ११ करोड ५ लाख २० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ८० करोड ६९ लाख ३९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, ३७ करोड ५१ लाख १५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अपधिमा १२ करोड ३३ लाख १४ हजार रुपैयाँ शुल्क, ८१ करोड १३ लाख २७ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ४७ करोड ४७ लाख ९२ हजार रुपैयाँ सञ्चालन नाफा थियो । फाइनान्स कम्पनीको वितरणयोग्य नाफा १४ करोड १७ लाख ३२ हजार रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ११.९८ प्रतिशत रहेको छ । १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९१ करोड ५३ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म फाइनान्सले २२ अर्ब २३ करोड २७ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ६९ करोड ५६ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ अर्ब ९९ करोड २ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १६ अर्ब ८५ करोड ९१ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्ष कम्पनीको निक्षेप ११.२१ प्रतिशत र कर्जा १०.८९ प्रतिशत बढेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी २८.१४ रुपैयाँबाट घटेर २२.३३ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा २६.३८ गुणा मूल्य आम्दानी अनुपात छ भने १८९.३२ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ । कम्पनीले गत वर्ष खराब कर्जा घटाएको छ । अघिल्लो वर्ष १.८४ प्रपिशत खराब कर्जा रहेकोमा गत वर्ष १.५५ प्रतिशतमा झारेको छ ।
प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सन्तोष प्रसाईंले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ प्रसाईंले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्षभन्दा राम्रो वृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित लगायतलाई धन्यवाद व्यक्त गरे । उनले आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसला समेत प्रदान गरे । कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरू, सेल्स एक्जुकेटिभ गरी देशैभरिबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट काम गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतलाई विशेष सम्मानसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) किशोर प्रसाद लामिछानेले कम्पनीले आगामी दिनमा अझ ठूला सफलता प्राप्त गर्न विगतका अनुभवबाट सिकेर सुधार गर्दै अगाडि जानु पर्ने बताए ।
आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६ सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६’ सम्पन्न भएको छ। अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, कम्पनीको उच्च व्यवस्थापन र अन्य सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्नु पारेका थिए । साथै उनले कम्पनीको बारेमा बोल्दै कम्पनीले गरेको उल्लेख्य प्रगतिमा अभिकर्ताको मेहेनत र प्रविधिको प्रयोग मुख्य रहेको र अभिकर्ताको मेहेनतलाई साथ दिन कम्पनीलाई आगामी दिनहरुमा उच्चतम प्रविधिको प्रयोग गर्ने दायित्व रहेको बताए । आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला ८ वर्षको अवधिमा कम्पनीले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरूको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरी सहयोग गरिरहने बताए । यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सो कार्यक्रममा सहभागी भएका अभिकर्ताहरुलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८२।८३ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मुख्य भूमिका रहेकोमा दुईमत नरहेको बताए । उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनाहरु प्रस्तुत गरेको, कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै आएको र आगामी दिनमा कम्पनीका डिजिटल सेवा प्रवाहलाई थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गरेका, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट अभिकर्ताहरुलाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा निर्देशकहरु, विनोद केसी, उषा ढकाल, सुनीलकुमार पोखरेल, सन्दीप अग्रवाललगायतले अवार्ड वितरण गरेका थिए । अभिकर्ताहरूको सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो । आईएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रूपमा गर्ने गर्दछ ।