ओझाको संयोजकत्वमा बीमा क्षेत्र सुधारका लागि अध्ययन समिति गठन
काठमाडौं। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन् । समितिलाई बीमा क्षेत्रको समग्र अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन ९० दिनभित्र पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।
जीवन बीमा कम्पनीको नयाँ व्यापार चम्कियो, एक वर्षमा ४९ अर्बमाथि संकलन
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापारमा उत्साहजनक प्रगति देखिएको छ । नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले एक वर्षमा ४९ अर्ब ४० करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन् । अघिल्लो आव २०८१/८२ मा कम्पनीहरूले ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नयाँ व्यापार २२.९७ प्रतिशतले बढेको छ । १ वर्षको अवधिमा सबैभन्दा धेरै नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले एक वर्षमा १३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २४.६२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १० अर्ब ४९ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षको अवधिमा ६ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार १८.७३ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षमा ३ अर्ब ७४ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार २२.०४ प्रतिशतले बढेको छ । त्यसैगरी, १ वर्षमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) ले ३ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब १० करोड ७७ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब ९३ करोड २६ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब ७१ करोड ० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले २ अर्ब २७ करोड ३८ लाख रुपैयाँ नयाँ बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा एलआईसी नेपालको नयाँ व्यापार १६.४३ प्रतिशत, सिटिजन लाइफको ४२.२७ प्रतिशत, हिमालयन लाइफको ४.६० प्रतिशत, आइएमई लाइफको ६४.९८ प्रतिशत, एसियन लाइफको २६.५२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १९.८६ प्रतिशत र रिलायबल नेपाल लाइफको ३८.७४ प्रतिशत नयाँ व्यापार बढेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफले २ अर्ब १५ करोड २० लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ६४ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ३७ करोड ६ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ७९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा प्रभु महालक्ष्मी लाइफको नयाँ व्यापार ३४.६१ प्रतिशत, मेट लाइफको १३.१७ प्रतिशत र सन नेपाल लाइफको १७.७४ प्रतिशतले बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको भने नयाँ व्यापार २६.२६ प्रतिशतले घटेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीले रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा साउन १७ गते आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक अध्ययन सामग्री हस्तान्तरण गरेको हो । शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरू प्रत्यक्ष सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले शिक्षा समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताइन् । आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरिन् । कार्यक्रममा रोटरी क्लब अफ हिमालयन गल्फर्सका पदाधिकारी, नेत्रहीन महिला संघ नेपालका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । अध्ययन सामग्री प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको समग्र विकासलाई प्राथमिकतामा राख्दै विगतदेखि नै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।