माछापुच्छ्रे एसआईपी योजनाको इकाई कारोबार सुरु
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले सञ्चालन गरेको खुलामुखी सामूहिक लगानी कोष योजना ‘माछापुच्छ्रे एसआइपी योजना (एमएसआईपी)’ को इकाई खरिद, पुनर्खरिद तथा बिक्री सेवा सुरु भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार प्रारम्भिक निष्काशनमा जारी गरिएका इकाईहरूको निष्काशन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिना भित्र इकाई खरिद–बिक्री गर्न मिल्ने व्यवस्था रहे बमोजिम उक्त सेवा आइतबारदेखि सुरु गरिएको हो । उक्त योजनाको इकाई खरिद, पुनर्खरीद तथा बिक्रीका साथै एसआईपीमा सहभागी हुनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय जेडिए कम्प्लेक्स, बागदरबार, काठमाडौंका साथै माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । यसका साथै अनलाइनमार्फत लगइन गरी डिजिटल भुक्तानी सेवा प्रदायकहरू जस्तै ईसेवा, खल्ती तथा कनेक्ट आईपीएस मार्फत भुक्तानी गरी सहजै कारोबार गर्न सकिने व्यवस्था समेत रहेको छ । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित माछापुच्छ्रे एसआईपी योजना पहिलो खुलामुखी योजना हो, जसको कुल स्वीकृत आकार ५,००,००,००० (पाँच करोड) इकाई रहेको छ । पहिलो चरणमा उक्त योजनाको प्रति इकाई रु। १० अंकित दरका २,००,००,००० (दुई करोड) इकाईहरू मिति २०८२/०८/१४ देखि २०८२/०८/१७ गतेसम्म सार्वजनिक रूपमा निष्कासन तथा बिक्री खुला गरिएको थियो। उक्त अवधिमा ५१,७४७ जना आवेदकहरूबाट जम्मा ३,१९,३६,७७० इकाई खरिदका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो भने आवेदन गर्ने सबैलाई मिति २०८२/०९/०१ गते इकाई बाँडफाँड गरिएको थियो । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोष सम्बन्धी विविध मर्चेन्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
काठमाडौं । पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा ३१ लाख रुपैयाँभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा ३१ लाख १० हजार रुपैयाँ भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ । फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौं भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
हिमालयन लाइफको डिजिटल छलाङ, अब एजेन्सी मेनेजर नै ‘डिजिटल अण्डरराइटर’
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरूलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेश गर्न सहज बनाउने उद्देश्यले यस प्रकारको पहुँच दिएको हो । एजेन्सी मेनेजरहरुले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफूले गरेको बीमा प्रस्ताव स्वीकृतीको लागि कम्पनीमा पेश गर्न सकिने व्यवस्था मिलाएको छ । एजेन्सी मेनेजरले बीमा प्रस्तावको लागि तोकिएका कागजात तथा विवरणहरू एजेन्सी पोर्टलमा पेश गरे पछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रकृया पुरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने प्रवन्ध गरिएको छ । एजेन्सी मेनेजरलाई दिईएको यो सुविधाले बीमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको आफ्नै कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको छ । कम्पनीले एजेन्सी मेनेजरलाई दिएको सुविधाको कारण बीमा प्रस्ताव स्वीकृती छिटो, छरितो र सहज रुपमा हुने भएको छ । कम्पनीले एजेन्सी मेनेजरहरूलाई अण्डरराइटरको हिस्सा बनाउने अभिप्रायबाट यस प्रकारको सुविधाको व्यवस्था गरिएको र निश्चित शर्तहरू पुरा गरे पछि एजेन्सी मेनेजरहरूलाई यो सुविधामा पहुँच दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिलकुमार दाहालले जानकारी गराए । कम्पनीले एजेन्सी मेनेजरलाई पहुँच दिइएको एजेन्सी पोर्टलबाट व्यवसाय सम्बन्धी रिपोर्ट लगायतका विवरणहरू जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । आगामी दिनमा यस प्रकारको सुविधालाई बिस्तार गरी कम्पनीको सेवालाई प्रविधिमैत्री बनाउँदै लैजान प्रयास भइरहेको पनि कम्पनीले जनाएको छ ।