आइजीआई र भरपर्दो कृषक सहकारीबीच विधार्थी बीमा सम्बन्धी सम्झौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड(आइजीआई) र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइजीआई विद्यार्थी बीमालेख मार्फत सेवा लिने दिने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे । सम्झौता पश्चात सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने गरी यो संझौता भएको छ । उक्त अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थी ग्राहक महानुभावहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क समेत साथै निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने गरी नेपालमा नै पहिलो पटक जारी भएको बीमालेख मार्फत सेवा प्रदान गर्न इच्छुक भई संझौता गरेकोमा संस्थाका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । उक्त कार्यक्रममा भरपर्दो कृषक सहकारी संस्था लि. का अध्यक्ष  तिमल्सिनाले आफ्नो संस्थासंग आवद्ध विद्यार्थीहरुलाई निशुल्क यो सेवा प्रदान गर्न पाउंदा खुशी लागेको र आइएमई जनरल इन्स्योरेनस लिमिटेडसंगको सहकार्यमा आफूले आफना ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्न पाएकोमा आइजीआई परिवारलाई धन्यवाद दिए ।

अजोड इन्स्योरेन्स लिमिटेडको बिराटनगर शाखा उद्घाटन

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको बिराटनगर शाखा कार्यालयको उद्घाटन भएको छ । योजना आयोग प्रदेश नं. १ का उपाध्यक्ष सुवोधराज प्याकुरेल तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टबाट उद्घाटन भएको हो । उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का क्षेत्रीय शाखा प्रबन्धक तथा बिराटनगर शाखा प्रमुख केदारबहादुर खत्री र नेपाल पत्रकार महा संघ १ नं. प्रदेश समिति अध्यक्ष विक्रम लुइटेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको बताए ।

भारतको मैसुरमा कुमारी बैंक लिमिटेड पुरस्कृत

काठमाडौँ । भारतको मैसुरमा सम्पन्न Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिले सम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो । आफ्नो कोर बैंकिङ्ग सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रृजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ । Infosys Finacle को उक्त समारोहको यस संस्करणमा  “Accelerated Transformation” विधामा कुमारी बैंक विजेता भएको हो । सोही विधामा अरु बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा ICICI Bank, Andhra Bank र Emirates NDB (UAE)  उपविजेता भएका छन् । अन्र्तराष्ट्रिय मञ्चमा नवीन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भए पश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।