एनसीसी बैंक र नेपाल इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
मृतक ग्राहक सदस्यको ऋण साधनाले गर्यो मिनाह
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लि. मकवानपुर बज्रबराही शाखाले आफ्ना ग्राहक सदस्यको निधन पश्चात ऋण कर्जा मिनाह गरेको छ । शाखा कार्यालय बज्रबराहीद्वारा प्रवद्घित केन्द्र नं ७०, नागदह साधना महिना विकास केन्द्रकी स्व. सुकुमाया स्याङ्गतान माघ २० गते निधन भएकामा स्व. स्याङ्गतानले वित्तीय संस्थावाट लिएको कर्जाको तिर्न बाँकी सावा र सो सावाले हुन आउने ब्याज रकम गरी ७२ हजार १ सय ९१ रुपैयाँ मिनाहा गरिएको हो । संस्थाले आइतबार स्याङ्गतान कै घर नजिक रहेको नागदह प्राविको प्राङ्गगडमा कर्जा मिनाह कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा कर्जा मिनाह पत्र र बचत ६ हजार १ सय ३० रुपैयाँ मृतकका श्रीमान् सानुकान्छा घलानलाई प्रदान गरिएको थियो । थाहा नपा वडा नं ११ का वडा अध्यक्ष किरण वल र वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यवस्थापन विभाग प्रमुख रामप्रसाद लामिछानेले सो रकम प्रदान गरेका र्थि । गर्नुभएको थियो । कार्यक्रममा वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यावस्थापन विभागका लामिछानेले वित्तीय संस्थाले ग्रामिण भेगका जनतालाई लक्षित गरी विभिन्न किसिमका वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै आएको जानकारी गराए ।
बैंकले निःशुल्क बीमा गराउँदा बीमा कम्पनीलाई सकस, कहिलेसम्म पाइन्छ सित्तैमा बीमा ?
काठमाडौ । नबिल बैकले आफ्ना ग्राहकलाई निःशुल्क बीमा सेवा दिएको जनाएको छ । एउटा बचत खाता सम्बन्धि योजनामा बैंकले भनेको छ–‘निःशुल्क बीमा अब बचत खाताबाटै, बिना कुनै बिल र बीना झन्झन्ट ।’ बैंकको यस योजनामा दुईटा कुरा बढो प्रष्ट रुपमा लेखिएको छ । पहिलो, बीमा निःशुल्क हुन्छ । दोस्रो, बैंकमा भएको कारोबारको बील हुँदैन । उपभोक्ताको नजरमा नबिल बैंकले उत्कृष्ट काम गरेको छ । तर नियम, संस्थागत अभ्यास र संस्कारको दृष्टिले उसको काममा केही प्रश्न उठेका छन् । के बीमा सित्तैमा पाइने सेवा हो ? के बैंकले दिने व्यवसायिक सेवामा बील वा अन्य प्रमाणित कागज हुँदैन ? यस विषयमा हामीले नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसँग कुरा गर्न धेरै प्रयास गर्यौं तर शाहले कुरा गर्न मानेनन् । नबिल बैंकले ग्राहकलाई लोभ्याउन प्रयोग गरेको प्रचारशैली गलत भएको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई बताए । ‘कुनै पनि बैकले बीमा योजनाको प्रचारमा निःशुल्क शब्द प्रयोग गर्नु गलत हो, त्यो भ्रम फैलाउने काम हो’ चापागाईले भने–‘बीमा सेवा निःशुल्क हुनै सक्दैन ।’ अध्यक्ष चापागाईँका अनुसार बीमा समितिले धेरै बीमामा शुल्क तोकेको हुन्छ । त्यसमा कसलाई कति छुट दिन सकिन्छ भनेर पनि स्पष्ट रुपमा लेखेको हुन्छ । त्यसबाट दायावायाँ कसैले पनि गर्न मिल्दैन । साथै, कुनै पनि बीमा कम्पनीले बीमा समितिसँग स्वीकृत नलिई बीमा लेख (इन्स्योरेन्स पोलिसी) बेच्न पाउँदैनन् । अहिलेसम्म कुनै पनि बीमा कम्पनीले यस्तो पोलिसी लिएका छैनन् । बीमा कम्पनीले दिन नसक्ने बीमा सेवा कुनै पनि बैंकले दिन सक्दैन । ‘कुनै पनि बैकले बीमा योजनाको प्रचारमा निःशुल्क शब्द प्रयोग गर्नु गलत हो, त्यो भ्रम फैलाउने काम हो । बीमा सेवा निःशुल्क हुनै सक्दैन ।’ -चिरञ्जीवि चापागाई पछिल्लो समय बैंकहरुले बीमा कम्पनीको संस्थागत अभिकर्ता भएर बीमा सेवा पनि दिईरहेका छन् । बैंकहरु पनि बीमा सेवा प्रदान गर्ने कार्यमा संलग्न भएपछि बीमाको पहुँच पनि बढेको छ । दुई वर्षअघि बीमाको पहुँच १० प्रतिशतभन्दा कम रहेकोमा अहिले १७ प्रतिशतभन्दा माथि पुगेको तथ्याङ्कले देखाउँछ । ‘बैंक र बीमा कम्पनी मिलेर बैंकास्योरेन्सको काम हुनु असाध्यै राम्रो काम हो । तर बैंकहरुले बीमा सेवा निःशुल्क भनेर प्रचार प्रसार गर्दा त्यसले भोलिका दिनमा बीमा कम्पनीहरुलाई व्याकफाएर गर्ने स्थिति आउँछ’ अध्यक्ष चापागाई विकासन्युजसँग भने । बैंकहरुले बीमालाई निःशुल्क भनेर प्रचार प्रसार गरेपछि बीमा कम्पनीहरुलाई बजारीकरण गर्न कठिन भएको सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमले भने । ‘बैंकहरुले घातक रोगको उपाचार समेत निःशुल्क भनेर प्रचारप्रसार गरेपछि बीमा कम्पनीहरुले शुल्क लिएर कसरी बीमा गराउन सकिन्छ ?’ गौतमले गम्भिर प्रश्न उठाए । पछिल्लो समय बैंकमा निक्षेप राख्दा वा बैंकबाट कर्जा लिँदा बीमा सित्तैमा हुन्छ भन्ने सन्देश बजारमा गएको र बीमा कम्पनीहरुले सर्बसाधारणलाई बीमा गर्नुपर्छ भन्दा पनि सित्तैमा गर्ने भए मात्र बीमा गर्छु भन्ने तर्क गर्न थालेका बीमकहरुको भनाई छ । सन नेपाल लाइफ इन्स्योरेन्सकाे याेजनामा बीमा शुल्क प्रष्ट लेखिएकाे छ । बैकहरुको नियमक नेपाल राष्ट्र बैक र बीमा कम्पनीको नियामक बीमा समिति भएकाले दुवै निकायले यो विषयमा गम्भीर भई सुधारको काम गर्नु पर्ने देखिएको समितिका अध्यक्ष चापागाईले बताए । ‘तपाईले उठाउनु भएको विषय गम्भिर छ । बीमा सित्तैमा हुनै सक्दैन । निःशुल्क बीमा भनेर प्रचार प्रसार गर्ने कार्य बन्द गर्नुपर्छ’ चापागाईँले भने–‘बैकहरुले निःशुल्क शब्द राख्नुभन्दा ‘रक्षाकवच’ भन्ने शब्द प्रयोग गर्दा उचित हुन्छ ।’ जहाँ प्रिमियम तिरिदैन, त्यहाँ बीमा नहुने अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको भनाई छ । ‘बैकहरु आफैले प्रिमियम तिर्ने भएकाले निःशुल्क भनिएको होला । तर यसमा निःशुल्क शब्द राख्नुको औचित्य छैन’ खत्रीले भने–बैंकहरुको यस्तो अभ्यासले निर्जीवन बीमाको क्षेत्रमा ठूलो असर नपरे पनि जीवन बीमाको क्षेत्रका लागि नकारात्मक असर पर्न सक्छ । बैंकर्सको फरक मत बैंकले बीमा गर्दा सेवाग्राहीसँग शुल्क नलिए पनि बीमा कम्पनीलाई बीमा शुल्क तिरेर नै बीमा गरिएको हुने बैंकर्सहरुको भनाई छ । एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको भन्छन् –‘बैकले एकै ठाउँबाट ग्राहकलाई बैकिङ र बीमाको सुविधा दिएका छन् । बैंकले ग्राहकसँग बीमा शुल्क भनेर नलिए पनि बीमा कम्पनीलाई शुल्क तिरेको हुन्छ । यसले ग्राहक वर्गलाई दोहोरो सुविधा भएको छ ।’ निःशुल्क बीमा भनेपनि प्रिमियम बैकले नै तिर्ने भएकाले यो योजनालाई ग्राहकलाई दिने सुविधाको रुपमा बुझ्न आवश्यक रहेको उनको भनाई छ । जीवनमा जोखिम हुने भएकाले बैकले आफ्ना प्रडक्ट तयार गर्दा बीमा सेवालाई पनि समावेश गरेको जनाउँदै यस्तो सेवाले बीमा तथा बैक दुवैको व्यापारमा सुधार हुदै जाने, ग्राहकलाई पनि सेवा सुविधा राम्रो हुने उनले बताए । कस्ता छन् बैंकका योजना ? नबिल बैकले आफ्नो प्रचार सामाग्रीमा लेखेको छ–‘निःशुल्क बीमा अब बचत खाताबाटै, बीना कुनै बील र बीना कुनै झन्झट’ बैकले व्यक्तिगत बचत खातामा २५ हजार रुपैयाँ वा बढी जम्मा गर्ने ग्राहकलाई ३ लाख सम्मको बीमा निःशुल्क हुने बताएको छ । १३ वटा प्राण घातक रोगका लागि बैकले यो बीमा सुविधा दिने जनाएको छ । साथै, ७५ हजार रुपैयाँ मृत्यु लाभ बीमा सुविधा हुनेछ । त्यस्तै, माछापूच्छ्रे बैकले ल्याएको स्मार्ट बचत योजनामा खातावालको दुर्घट्नामा परि निधन महिनाभरीको असौत वचतको पाँच गुणा वा बढीमा ५ लाख रुपैयाँको बीमा हुने छ । त्यस्तै, एनएमबी बैक र सनराईज बैंकले बचतकर्ताको १० लाखसम्मको बीमा हुने योजना ल्याएका छन् । सरकारको प्रत्यक्ष निर्देशनमा नेपाल बैंकर्स संघले निक्षेपको अधिकतम व्याजदर सीमा तोकेपछि बैंकहरुले बीमा सेवा निःशुल्क भन्दै ग्राहक आकर्षित गर्ने प्रयास गरिरहेका छन् । तर उनीहरूकाे प्रयासले बीमा व्यवसायीहरूकाे लागि जटिल समस्या निम्त्याउँदैछ ।