माछापुच्छ्रे बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने
काठमाडौँ । माछापुच्छ्रे बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माछापुच्छ्रे बैंक लि.ले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।
सनराइज बैंकको १० लाख युनिट ऋणपत्र बिक्री खुला
काठमाडौँ । सनराइज बैंकले बुधबारदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले चैत १ गते ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । ऋणपत्र बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक लगानीकर्ताले सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । छिटोमा चैत २५ गते र उक्त अवधिमा बिक्री नभएकोमा बैशाख १९ गतेसम्म आवेदन गर्न सक्ने प्रभु क्यापिटलले जनाएको छ । मेरो शेयरबाट पनि ऋणपत्र आवेदन भर्न सकिनेछ। प्रभु क्यापिटलका अनुसार न्यूनतम २५ कित्ता युनिटको एक हजार रुपैयाँ दरले २५ हजार रुपैयाँदेखि ४ लाख कित्ता युनिट बराबरको ४० करोड रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । यता, बैंकका अनुसार पाँच वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने छ । कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिएको बैंकले जनाएको छ । बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने छ।
सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा बैशाख १२ गते, बुक क्लोज कहिले ?
काठमाठौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा बैशाख १२ गते हुने भएको छ । मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । बैंकको साधारण सभा र लाभांश प्रयोजनका लागि चैत २९ गतेदेखि २०७६ बैशाख १२ गतेसम्म बैंकको शेयर दाखिल खारेज बन्द(बुक क्लोज) रहने जनाइएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा चैत २९ गतेभन्दा अगाडि भएका कारोबारहरु सोको ७ कार्यदिन भित्र बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड काठमाडौँमा प्राप्त भइसक्नु पर्नेछ । बैंकले प्रस्तावित गरेको हालको चुक्ता पूँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको २ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश(कर सहित) लाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएको र साधारण सभाबाट पारित गर्ने कार्यतालिका रहेको छ ।