स्वायत्तता जोगाउन बीमा समिति संघर्षमा, बीमा क्षेत्रको विकास र सुशासन मै चुनाैति

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले समितिको स्वायत्तता जोगाउन संघर्ष गर्ने घोषणा गरेका छन् । बीमा समिति कर्मचारी युनियनको दशैं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक २०७५ मा समितिको स्वायत्तता खोसिएको बताएका हुन् । उनले खोसिएको स्वायत्तता जोगाउन कर्मचारी युनियनले समेत सहयोग गर्नुपर्ने धारणा राखे छन् । ‘अर्थमन्त्रालयले संसदमा पठाएको बिधेयक देख्नु भएकै छ, सानो सानो काम गर्न पनि मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ, समितिको स्वायत्तता पुरै खोसेको छ, अब हामीले स्वायत्तता फर्काउन एकिकृत पहल गर्नु पर्नेछ, संघर्ष गर्नुपर्नेछ’, अध्यक्ष चापागाईँले भने । उनले बीमा समितिप्रति अर्थमन्त्रालय अनुदार देखिएको संकेत समेत गरेका थिए । बीमा ऐन २०४९ ले दिएको अधिकार समेत खोसेको चापागाईँले आरोप लगाए । ‘हामीले हाल प्राप्त गरिएको भन्दा पनि धेरै स्वायत्तता खोजेका थियौं तर बिधेयकले अहिलेका अधिकार समेत घटाएको छ, यसले बीमा क्षेत्रको विकास र सुशासनमै कमी आउन सक्छ’, अध्यक्ष चापागाईँले भने । उनले बीमा समितिको नियामकिय क्षमतामा उल्लेख्य सुधार भैरहेको, बीमा क्षेत्रको वृद्धि विकासमा पनि बढोत्तरी भएको बताएका थिए । ‘अहिले बीमा क्षेत्रको वृद्धि विकासले एउटा गति लिएको छ, हामी त्यसको उचित नियमनको प्रयास गरिरहेका छौं तर प्रस्तावित ऐनको बिधेयकले हाम्रो मनोबल उच्च बनाउने देखिएको छैन’, अध्यक्ष चापागाइँले कर्मचारीहरुसँग भने । उनले दशैं सकिए लगत्तै समितिको स्वायत्तताका लागि संघर्ष सुरु हुने धारणा पनि राखे । बीमा समितिका सबै कर्मचारी सहभागी रहेको शुभकामना आदान प्रदान कार्यक्रममा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि शुभकामना दिएका थिए । कर्मचारी युनियनका अध्यक्ष पदम सोडारीले स्वायत्तता प्राप्तिका लागि समितिको नेतृत्वले चाल्ने हरेक कदममा युनियनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

एनआइबिएल एस क्यापिटलको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडले १५ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न क्यापिटलको छैटौँ साधारण सभाले संस्थाको प्रस्तावित लाभांशलाई पारित गरेको हो । साथै, उक्त अवसरमा संस्थाले “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

स्वदेशी लघुवित्तको सीईओमा चापागाई नियुक्त, मंसिर १ गतेदेखि लागू हुने

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गोबिन्द चापागाई नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई आगामी चार वर्षसम्म लागू हुने गरी लघुवित्तको सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ चापागाईले करार सेवा अनुसार आगामी मंसिर १ गतेदेखि २०७९ साल कात्तिक ३० गतेसम्म संस्थाको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने कम्पनी सचिव अशोक सुवेदीले बताएका छन् ।