गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको ५ प्रतिशत नगद लाभांश पारित, संचालकमा ५ जना नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको ५.२६ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न फाइनान्सको १७औँ वार्षिक साधारण सभाले संस्थाको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्ने छ । साथै, संस्थाको संचालक पदमा संस्थापक सेयरधनी तर्फबाट श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ र रोशनी कसजु तथा सर्वसाधारण तर्फबाट डा.रेश्मा श्रेष्ठ र राजेश मानन्धर र्निविरोध निर्वाचित भएका छन् । हाल संस्थाको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ । गत असोज मसान्त सम्ममा निक्षेप ३ अर्ब १६ करोड रुपैयाँ तथा कर्जा २ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकले सो अवधिमा १ करोड ८२ लाख रुपैयाँ संचालन मुनाफा कमाउन सफल भएको कम्पनीले जारी विज्ञप्तीमा उल्लेख छ ।

अजोड इन्स्योरेन्सका ग्राहकले नेपाल मेडीसिटी अस्पतालमा छुट पाउने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका ग्राहकले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । बिहीबार दुई कम्पनीबीच मेडीसिटीमा इन्स्योरेन्सका ग्राहकलाई नगदरहित सेवा दिने सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यासलेस अर्थात नगदरहीत सेवा ग्राहकले उपचारका लागि भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् । स्वास्थ्य सबैको पहुचमा पुग्ने भएकोले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले बताएका छन् । त्यस्तै, अजोड इन्स्योरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना वृद्धि गर्दै जाने उद्धेश्यले उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ ।

एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत हकप्रद निष्कासन गर्दै, बुक क्लोज कहिले ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत अर्थात १ः१.०५ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहलाई सो मात्रा अर्थात १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी कात्तिक २७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख रुपैयाँ रहेको छ । १०५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई गत वैशाख १ गते बसेको इन्स्योरेन्सको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।