हिमालय फाइनान्सको कर्जा असुलीको काम नेक्सजेन म्यानेजमेन्टले गर्ने

काठमाडौं । हिमालय फाइनान्स लिमिटेड लिक्विडेटर कार्यालयको कर्जा असुली तथा व्यवस्थापनको काम अब नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले गर्ने भएको छ । दुई संस्थाबीच हालै भएको सम्झौता पश्चात नेक्सजेन म्यानेजमेन्टले उक्त वित्तीय संस्थाको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुल तथा व्यवस्थापनको काम गर्ने भएको हो । यस सम्झौताले बैंकिङ तथा वित्तीय क्षेत्रलाई नयाँ विशेषज्ञता सेवा उपयोग गर्न प्रोत्साहन गर्दै साविकको पारम्परिक कामलाई मध्यस्थकर्ता मार्फत गराउने कार्यलाई बढवा दिने कम्पनीको विश्वास छ । साथै, यस्तो कार्यले बैंक तथा वित्तीय संस्था आफ्नो मौलिक कार्यमा केन्द्रित हुँदै नयाँ नयाँ बैंकिङ काम गर्न सजिलो हुने कम्पनीले अपेक्षा गरेको छ । पुनरावेदन अदालतको निर्णय बमोजिम हिमालय फाइनान्स कम्पनी खारेजीका लागि लिक्वडेटरको नियुक्ती भई खारेजी प्रक्रियामा रहेको छ । त्यस्तै, नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुली तथा व्यवस्थापनको लागि स्थापित विशेषज्ञ सेवा दिने कम्पनी हो ।

यूनिलिभरले प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिने, कहिले हुँदै छ वार्षिक साधारणसभा ?

काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीको आगामी साधारणसभा कात्तिक ६ गते बस्ने भएको छ । उक्त सभाले समितिको प्रस्तावित लाभांशलाई पारित गर्ने भएको छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख  रुपैयाँ रहेको छ । गत आवमा कम्पनीले ९९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । वार्षिक कारोबार ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंकद्धारा स्मार्ट बचत खाताको ग्राहकलाई बीमा रकम भुक्तानी

काठमाडौं । माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत ४३ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गरको छ । त्यातले ३ महिनाअघि माछापुच्छ्रे बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन् । ५ हजार रुपैयाँ न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र ५ हजार रुपैयाँसम्मको औषधी खर्च जस्ता सुविधाहरु निःशुल्क पाउँदै आएका छन् । स्मार्ट बचत खाता खोलेकी त्यातले अस्पताल भर्ना खर्चको दाबी गरी उक्त रकम प्राप्त गरेकी हुन् । त्यातले आफ्नो उपचार खर्च बैंकबाट फिर्ता पाएकोमा विश्वास नै नलागेको बताइन् । बैंकले अब बचत खातामा प्रदान गर्दै आएको ब्याजदर वृद्धि गरि ७ प्रतिशत पुर्याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५ प्रतिशतसम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ ।