नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा गिरी

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको कायम मुकामय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अनिल गिरीलाई दिइएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गिरीलाई कामु सीईओ मुकरर गरेको हो। हाल कम्पनीको सीईओ पद रिक्त रहेको छ । गिरी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। उनलाई असार ११ गतेदेखि लागू हुने कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको छ ।

असार २६ गतेदेखि पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुन् ।  एकीकृत कारोबारका लागि डाटा माइग्रेसनलगायत प्राविधिक कार्य गर्नुपर्ने भएकाले असार २५ गते एक दिनका लागि दुवै संस्थाका केन्द्रीय कार्यालय तथा सबै शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ । मर्जरपछि समृद्धि फाइनान्सको अन्तिम दिनसम्म कायम रहेका सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य सम्भावित दायित्व पोखरा फाइनान्सले व्यहोर्नेछ । दुवै संस्था १:१ सेयर स्वाप अनुपातमा गाभिने भएकाले दुवै कम्पनीका सेयरधनीले समान अनुपातमा सेयर प्राप्त गर्नेछन् । मर्जरपश्चात् कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ । मर्जपछि सात सदस्यीय सञ्चालक समिति गठन हुनेछ । समितिमा समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन् ।  हालका अध्यक्ष अजय मिश्रले मर्जरपछिको संस्थाको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्ने स्रोतको भनाइ छ । यस्तै, मर्जरपछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको छ ।  मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ । एकीकृत संस्थाको शाखा सञ्जाल ३६ वटा पुग्नेछ भने कर्मचारी संख्या करिब ३०० रहनेछ । 

नेरुडे मिर्मिरे लघुवित्तबाट एकैपटक ७ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट एकैपटक ७ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । विभिन्न ७ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको कुल १ लाख ७२ हजार ६३४ कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् ।  लघुवित्त संस्थाका अनुसार बिनोदकुमार अग्रवालले ४४ हजार ६२३ कित्ता, कोपिला राईले १ लाख कित्ता, बासु खड्काले ५ हजार ३६० कित्ता, कुमार भट्टराईले ४४७ कित्ता, कुमारी शान्ता आचार्यले ९ हजार ३४८ कित्ता, भुवनसिंह तामाङले ८ हजार कित्ता र लक्ष्मी भण्डारीले ४ हजार ८५६ कित्ता संस्थाप सेयर बिक्रीमा राखेका हुन् ।  लघुवित्तको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय भित्र आवेदन नआए सर्वसाधारण लगानीकर्ताहरुका लागि उक्त सेयर बिक्रीमा गरिने लघुवित्तले जनाएको छ ।