आठ महिनामा ऊर्जा क्षेत्रमा ६४ अर्ब लगानी प्रतिवद्धता, कुल लगानी एक खर्ब १८ अर्ब
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी भएको छ । उक्त अवधिमा ऊर्जा क्षेत्रमा ६४ अर्ब ११ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांक छ । उक्त अवधिमा ऊर्जा क्षेत्रमा १४ वटा उद्योग दर्ता भएका छन् भने गएको वर्षको सोही अवधिमा १३ वटा उद्योग दर्ता भएका थिए । गएको वर्ष २०७२/७३ को दोस्रो चौमाससम्म ऊर्जा क्षेत्रमा १८ अर्ब ३४ करोड लगानी प्रतिवद्धता भएको थियो । चालु आवको सो अवधिमा भएको लगानी गएको आवको सोही अवधिको तुलनामा ४५ अर्ब ७७ करोडले बढी हो । ऊर्जा क्षेत्रमा लगानी गरेर प्रशस्त प्रतिफल प्राप्त गर्ने र सरकारबाट समेत सुविधा पाउने भएकाले यस क्षेत्रमा लगानी बृद्धि भएको हो । उक्त क्षेत्रमा भएको लगानी कुल लगानी प्रतिवद्धताको ५४.३१ प्रतिशत हो । चालु आवको दोस्रो चौमाससम्म उद्योग क्षेत्रमा एक खर्ब १८ अर्ब ३ करोड लगानी प्रतिवद्धता भएको छ । गएको वर्ष यस्तो प्रतिवद्धता ८४ अर्ब ७३ करोडमात्र थियो । चालु आवको यस समीक्षा अवधिसम्ममा लगानीकर्ताको लागि दोस्रो लगानीको क्षेत्र उत्पादनमूलक क्षेत्र बनेको छ । उद्योग दर्ता र लगानीको आधारमा विश्लेषण गर्दा चालु आवमा यस क्षेत्रको लगानी खस्किएको छ । उत्पादनमूलक क्षेत्रका यो अवधिमा २२ अर्ब ८ करोड लगानी भएको छ । गएको वर्षको सो अवधिमा यस क्षेत्रमा ५३ अर्ब ४८ करोड लगानी भएको थियो । गएको वर्षको तथ्यांकअनुसार चालु आवमा उत्पादनमूलक क्षेत्रमा खासै लगानी हुन सकेको देखिदैन । लगानी खस्कदो अवस्था रहेको विभागले जानकारी दिएको छ । यस वर्ष सेवा र पर्यटनमूलक दुबै उद्योगमा लगानी गएको आवको समीक्षा अवधिको तुलनामा लगानी बढेको छ । चालु आवमा सेवामूलक उद्योगमा १७ अर्ब १९ करोड लगानी भएको छ भने गएको वर्षको सो अवधिमा ६ अर्ब १० करोडमात्र लगानी भएको थियो । पर्यटनमूलक उद्योगमा क्रमशः १० अर्ब ५२ करोड र ६ अर्ब ३० करोड लगानी भएको उद्योग विभागको तथ्याङ्क छ । निर्माण क्षेत्रमा एउटैमात्र एक अर्ब लगानीको उद्योग दर्ता भएको छ । गएको आवमा पनि यस क्षेत्रमा खासै लगानी जुट्न सकिरहेको छैन । यस क्षेत्रमा कार्य सम्पादन गर्न अन्य उद्योगमाभन्दा झझण्ट बढी भएकाले पनि लगानी कर्ताको यस प्रति आकर्षण बढ्न नसकेको हो । गएको वर्ष यो क्षेत्रमा १४ करोडमात्र लगानी भएको छ । कृषि तथा वनजन्य क्षेत्रमा पनि यस वर्ष ३ अर्ब लगानी भएको छ । गएको वर्ष यस्तो लगानी ३४ करोडको मात्र थियो ।
संसारका धनीहरुको सूचि सार्वजनिक, माइक्रोसफ्टका विल गेट्सदेखि सेयर बजारका वारेन बफेट हुँदै फेसबुकका जुकर बर्गसम्म
काठमाडौं । फोब्र्स पत्रिकाले संसारकै धनीहरुको नयाँ सूचि सार्वजनिक गरेको छ । फोब्र्सले सन २०१७ का लागि संसारकै धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । यो सूचिमा फेरी पनि माइक्रोसफट्का मालिक बिल गेट्स एक नम्बरमै परेका छन् । ६१ बर्षिय अमेरिकी नागरिक गेट्सको सम्पति ८६ बिलियन अमेरिकी डलर पुगेको छ । बेर्कसायर हाथवेका मालिक अर्का अमेरिकी नागरिक वारेन बफेटको सम्पति ७५ दशमलब ६ बिलियन अमेरिकी डलर पुगेको छ । ८६ बर्षिय बफेट सेयर बजारका लगानी कर्ता हुन् । अर्का अमेरिकी नागरिक ५३ बर्षिय जेफ बेजोजको सम्पति ७२ दशमलब ८ बिलियन अमेरिकी डलर रहेको छ । चार नम्बरमा भने जारा कम्पनीका मालिक ८० बर्षिय स्पेनी उद्योगी इमान्सीओ ओर्गेगा परेका छन् । उनको सम्पति ७१ दशमलब ३ बिलियन अमेरिकी डलर पुगेको छ । फेसबुकका संस्थापक मार्क जुकरवर्ग पनि विश्वका धनाढ्यहरुको सूचिमा पाँचौ नम्बरमा परेका छन् । ३२ बर्षिय अमेरिकी नागरिक जुकरवर्गको सम्पति ५६ बिलियन अमेरिकी डलर पुगेको छ । मेक्सिकोका टेलिकम मालिक ७७ बर्षिय कार्लाेस स्लीम हेलुले ५४ दशमलब ५ बिलियन अमेरिकी डलर सम्पति जोडेर छैठौं स्थान सुरक्षित गरेका छन् । ७२ बर्षिय अर्का अमेरिकी सफ्टवेयर कम्पनीका मालिक ल्यारी इलिसनले ५२ दशमलब २ बिलियन अमेरिकी डलरका साथ सातौं स्थान सुरक्षित गरेका छन् । डाइभर्सिफाइड कम्पनीका मालिक ८१ बर्षिय चाल्र्स कोचले ४८ दशमलब ३ बिलियन अमेरिकी डलर सम्पति जोडेर ८ औं स्थानमा कब्जा जमाएका छन् । अर्का अमेरिक नागरिक डेभिड कोच पनि ४८ दशमलब ३ बिलियन अमेरिकी डलर सम्पतिसहित ८ औं नम्बरमै रहेका छन् । १० नम्बरमा पनि ब्ल्युमबर्गका मालिक माइकल ब्ल्युमबर्गले ४७ दशमलब ५ बिलियन अमेरिकी डलर सम्पति जोडेर १० औं नम्बर सुरक्षित गरेका हुन् । विश्वका १० धनाढ्यहरुमा ८ अमेरिकी उद्योगी परेका छन भने एक स्पेनी र एक मेक्सिन नागरिक परेका छन् । पछिल्लो २३ बर्षको सूचिमा १८ पटक विल गेट्सले एक नम्बर धनीका रुपमा उभ्याउन सफल भएका छन् । यसपालीको सूचिमा १९५ जना नयाँ धनीहरु थपिएका छन र ति अधिकांश चिनियाँ नागरिक रहेका छन् । २० बर्षिय अलेक्जेण्डर एन्डर्सनले दोश्रो पटक सबै भन्दा कम उमेरका धनाढ्यका रुपमा आफ्नो नाम सुरक्षित बनाउन सकेका छिन् । उनलाई उनका बुवाले १ दशमलब २ बिलियन सम्पति हस्तान्तरण गरेका थिए । सबै भन्दा कम उमेरमा आफ्नै कमाईले धनाढ्य बन्न सफल भएका छन २६ बर्षिय जोन कोलिजन उनको सम्पति १ दशमलब १ बिलियन रहेको छ ।
बैंक अफ काठमाण्डूमा संजय शाह र राधेश पन्तको पुनरागमन, शाह र पन्तको फाटेको मन अध्यक्ष श्रेष्ठले सिऊँन सक्लान् ?
काठमाडौं । ८ वर्षपछि संजयबहादुर शाह र राधेश पन्त बैंक अफ काठमाण्डूमा फर्किएका छन् । ८ वर्षअघि आपसी झगडामा फसेर उनीहरु बाध्य भई बैंकबाट बाहिरीएका थिए । ८ वर्षपछि चुनावी प्रतिस्पर्धाबाट दुबै जना बैंकको सञ्चालकमा चुनिएका छन् । त्यतिबेला शाह बैंकको अध्यक्ष थिए भने पन्त प्रमुख कार्यकारी अधिकृत । दुबै जना बैंकका डोमिनेन्ट प्रमोटर सेयर होल्डर पनि हुन् । अध्यक्ष शाहले पन्तलाई प्रमुख कार्यकारी अधिकृत पदबाट हटाउने निर्णय बोर्डबाट गराए । पन्तले प्रतिकार गरे र राष्ट्र बैंकलाई गुहारे । त्यतिबेला पन्त नेपाल बैंकर्स संघको अध्यक्ष पनि थिए । त्यतिबेला राष्ट्र बैंकमा गभर्नर दीपेन्द्रवहादुर क्षेत्री थिए । उनले पन्तलाई हटाउने निर्णय उल्ट्याएर मिलाप गर्न आग्रह गरे तर शाह र पन्तबीच मिलाप भएन । पन्तलाई हटाउनुको कारणबारे राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई स्पष्टीकरण सोध्यो । अध्यक्ष शाहले ‘प्रमुख कार्यकारी अधिकृत नियुक्ती वा हटाउने विषय सञ्चालक समितिको अधिकार भएको’ जवाफ दिए । पुरानो घट्ना सम्झदै दीपेन्द्रवहादुर क्षेत्री भन्छन्–हटाउनु भन्दा केही समयअघि मात्र पन्तले उत्कृष्ट बैकर्स अवार्ड पाएका थिए । सीईओले गल्ती विराम गरेकोबारे केही बताइएन । मेरो लगानी हो, मैले जे निर्णय पनि गर्न सक्छु भन्ने दम्भ देखियो । संस्थागत सुशाशन, कार्य सम्पादन मूल्याङकन केही पनि देखिएन । त्यसपछि कारवाहीको निर्णयमा पुग्यौ । गभर्नर क्षेत्रीले बैंक अफ काठमाण्डूको सञ्चालक समिति भंग गरिदिएँ । विशेष साधारणसभा गरी नयाँ सञ्चालक समिति चयन गर्ने मुख्य जिम्मेवारीसहित राष्ट्र बैंकबाट सञ्चालक समिति खटियो बैंक अफ काठमाडौंमा । झगडिया सञ्चालकलाई उम्मेदवार बन्न नपाइने व्यवस्थासहित निर्वाचत भयो र नयाँ सञ्चालक समिति बन्यो । त्यसपछिको दुईवटा सञ्चालक समितिमा शाह र पन्तले प्रवेश पाएनन् । पन्त तत्काल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भए । पछि त्यहाँबाट राजीनामा गरेर लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भए । चैत ३ गते सम्पन्न साधारणसभाले पुन शाह र पन्तलाई सञ्चालकमा निर्वाचित गर्यो । निर्वाचनमा संस्थापक सेयरधनीको तर्फबाट शाह, पन्त, शान्तराज सिंह थापा, प्रकाश श्रेष्ठ, केदारनाथ गौतम र रामकाजी कोने प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा थापा र कोने पराजित भए । श्रेष्ठ र गौतम मर्जपूर्व लुम्बिनी बैंकका प्रवद्र्धक हुन् । श्रेष्ठ अध्यक्ष भएका छन् । उनी पर्यटन क्षेत्रमा स्थापित व्यवसायी हुन् । गौतम कर्मचारी संचयकोषको प्रतिनिधि हुन्, उनी नागरिक लगानी कोषसहितको समर्थनमा चुनिएका हुन् । सर्बसाधारण सेयरधनी समूहको तर्फबाट डा हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा, सौरभ केसी, मदनलाल जोशी निर्वाचित भएका छन् । सञ्चालक समितिमा निर्वाचित मध्ये शाह र पन्तबीचको सम्बन्धबारे धेरैको मनमा खुल्दुली छ । उनीहरुबीच फाटेको मन अध्यक्ष प्रकाश श्रेष्ठले सिऊँन सक्छन् कि सक्दैनन ? क्षमताको हिसावले दुबै जना बैंक सञ्चालक बन्न अब्बल मान्छे हुन्, इगो समस्या आयो भने बैंक फेरी सफल नहुन सक्छ ।