मञ्जुश्री फाइनान्सका ६४ प्रतिशत प्रमोटरले हकप्रद सेयर लिएनन, १० लाख कित्ता सेयर लिलामीमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले निश्काशन गरेको हकप्रद सेयरमा संस्थापक तर्फको ६४.१६ प्रतिशत हकप्रद बिक्री हुन सकेन । लगानी गर्न पैसाको नभएको कारण जनाउँदै संस्थाकहरुले हकप्रद सेयर नकिनेको फाइनान्सका प्रबन्धक विकास शाक्यले विकासन्युजलाई बताए । फाइनान्सले पुस मसान्तमा प्रकाशित गरेको वित्तीय विवरण अनुसार चुक्ता पुँजी २८ करोड ५७ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीमा ५१ प्रतिशत अर्थात १४ लाख ७५ हजार २८० कित्ता संस्थापक सेयर छ । कम्पनीले ९ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर बिक्री नभएको जनाउँदै बढाबढ बिक्रीमा राखेको छ  । लिलामीमा राखिएको संस्थापक सेयर हाल भएको कुल संस्थापक सेयरको ६४.१६ प्रतिशत हो । ‘केही संस्थापकले हकप्रद सेयरबाफत कत्ति पनि पैसा राख्न मान्नु भएन । केहीले ५० प्रतिशत मात्र राख्नुभयो, केहीले पुरै राख्न सक्नु भएन’ शाक्यले भने–‘वित्तीय क्षेत्रमा तरलता संकटले होला उहाँहरुले हकप्रद सेयर लिन पैसा जुटाउन सक्नु भएन ।’ कम्पनीले १ बराबर १.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । निष्काशन गरेको हकप्रद सेयरमध्ये ३५ प्रतिशत सेयरको लागि आवेदन नै परेन । आवेदन नपरेको १० लाख ४ हजार ९० कित्ता सेयरको कम्पनीले लिलामीमा राखेको छ । फाइनान्सले संस्थापक सेयर ९ लाख ३५ हजार ७४ कित्ता र सर्वसाधारण सेयर ६९ हजार १६ कित्ता बढाबढ मूल्यमा बिक्री आह्वान गरेको छ । फाइनान्सले लिलामीमा राखेको सेयर किन्न वैशाख ५ गतेसम्म आवेदन खुला गरेको छ । सेयर मूल्यमा ६९ प्रतिशत गिरावट चालु आर्थिक वर्षको ८ महिना भित्रमा मञ्जुश्री फाइनान्सको सेयर मूल्य ६९ प्रतिशतसम्मले घटेको छ । गत साउन ११ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७६ रुपैयाँ थियो । गत फागुन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४९ रुपैयाँमा कारोबार भयो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

स्वरूप बदल्दै ठमेल, सोलार र सीसी क्यामेरामै ६५ लाख खर्चदै, बार्षिक बजेट ८५ लाख पुग्याे

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेल सुधार गरेर यसको छवि परिवर्तन हुने भएको छ । सधै फोहोर, साँघुरो बाटो, हकरको तानातान, सुरक्षा नहुने र बेलुकाको समयमा बत्ति नहुने गुनासो बढ्ने गरेको ठमेल सुधारतर्फ उन्मुख भएको छ । ठमेल क्षेत्रको सुधारका गर्न ठमेल पर्यटन विकास परिषद्को समन्वयमा आधा दर्जन योजना अगाडि बढिरहेका छन् । परिषद्का अध्यक्ष समिर गुरुङका अनुसार तत्कालै ६५ लाख रुपैयाँ खर्च गरेर ठमेल सुधाको काम अगाडि बढाइदै छ । यो रकम सोलार बत्ति र सीसी क्यामेरामा मात्रै खर्च हुने भएको छ । उनका अनुसार अब ठमेल क्षेत्रको निगरानी ४५ वटा सीसी क्यामेराबाट हुने भएको छ । हाल १९ वटा क्यामेरा आवश्यक मर्मतसहित सञ्चालनमा रहेको र एक महिनाभित्रमै थप हुनेसहितको क्यामेरा गरी ४५ वटा पुग्ने गुरुङले जानकारी दिए । उनका अनुसार ठमेल क्षेत्रको सुरक्षा निगरानीका लागि महानगर, प्रहरी, पर्यटन विभाग सहितका विभिन्न निकायको समन्वयमा यो सुविधा दिइएको हो । ठमेलको क्षेत्रको विकास गर्न गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति आएपछि यसले पुरानै योजनालाई कार्यान्वयन गर्ने क्रममा ठमेल सुधारको काम अगाडि बढेको उनको भनाइ छ ।  नेपाल आएका ८० प्रतिशत पर्यटक पुग्ने ठमेलको सुधार र विकास आवश्य छ । विदेशमा हेर्ने हो भने यस्तै क्षेत्र निकै व्यवस्थित र भव्य पर्यटकीय गन्तव्य भैसकेको छ । नेपालमा भने काठमाडौंको एउटै मात्र पर्यटकीय क्षेत्र ठमेल विकास गर्न पनि दशकौ देखिके प्रयास अझै पूरा हुन सकेको छैन, गुरुङले भने । यो काम गुरुङ आएपछि मात्रै भएको भने हैन, यस अघि भएको योजना र कार्यक्रमलाई निरन्तरता दिने र अधुरा काम पूरा गर्ने नीति अनुसार काम गर्दा आफ्नो समयमा कार्यान्वयन हुन पुगेको गुरुङको भनाइ छ । गुरुङका अनुसार ठमेल क्षेत्रको सुधारका लागि सीसी क्यामेर र सोलार मात्रै नभएर बाटो, ढल, व्यवस्थित सवारी, सरसफाइका काम पनि काम अगाडि बढेको छ । अब साँझ पर्ने वित्तिकै ठमेलमा अन्धाकार हुँदैन, गुरुङले भने । बाटो मर्मतमा पनि ३५ प्रतिशत रकम स्थानियको र ६५ प्रतिशत रकम सरकारी निकायका गरेर काम सुरु भइरहेको पनि उनले जानकारी दिए । ‘ठमेलको विकासमा एउटा टोली र टिमले गरेर मात्रै हुँदैन, यसका लागि विभिन्न निकायको समन्वय आवश्यक पर्छ’, ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष रामशरण थपलियाले भने । उनका अनुसार ठमेलको विकासमा काम नहुने हैन समन्वयमा कमजोरी भएको छ । ५० हजार रुपैयाँमा हुने ठमेलको बजेट अहिले सरकारी निकायबाट विनियोजन हुने नै ८५ लाख पुगेको छ । यो रकमको उचित सदुपयोग गर्न सकिए ठमेलको स्वरूप साच्चै बदलिदैँ जाने पनि थपलियाको भनाइ छ । थपलियाका अनुसार यहाँको विकास निर्माण नुहुनुमा पनि एसीयाली विकास बैंक (एडिवी) सहयोग लाई स्वीकार गरेर कार्यान्वयन गर्न नसक्नु हो उनले भने । राजनीतिक स्वार्थ नहुने, समन्वय हुने र व्यक्तिगत स्वार्थ नहुने हो भने ठमेलको सुधार सहजै हुने पनि थपलियाको भनाइ छ ।

सेजको पूर्वाधारमा लगानी गर्न चिनियाँ र भारतीय उद्योगीको प्रस्ताव

काठमाडौं । बिशेष आर्थिक क्षेत्र(सेज) बनाउन चिनियाँ र भारतीय उद्योगीले प्रस्ताव गरेका छन् । सेज विकास समितिका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार चीन र भारतका उद्योगीहरुले सेज बनाउने प्रस्ताव पेश गरेका छन तर सेज नियमावलीको अभावमा अनुमति दिन सकिएको छैन् ।‘चीन र भारतका उद्योगीले हामी सेज बनाउँछौं, जमिन दिनुस भनेका छन, हामीसँग न नियमावली छ न त जमिन नै छ’, सेजका कार्यकारी निर्देशक भट्टले भने । सेज ऐनले निजी क्षेत्रले सेजको स्थापना, सञ्चालन तथा पुर्वाधार निर्माण गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थामा टेकेर चिनियाँ र भारतीयले सेज बनाउने प्रस्ताव गरेका हुन् । तर कार्यान्वयनका लागि सेज नियमावली आवश्यक हुन्छ । ऐन कार्यान्वयनमा आएको भएपनि हालसम्म नियमावली बनिसकेको छैन् । ‘विदेशीलाई सेज निर्माणका लागि अनुमति दिन सेज नियमावली आवश्यक पर्छ, हामी त्यसको मस्यौदा बनाईरहेका छौं’, भट्टले भने । उनले सेज नियमावलीको ८० प्रतिशत भन्दा बढि काम सम्पन्न भैसकेको पनि जानकारी दिए । भैरहवामा तयार भएको सेजमा उद्योग सञ्चालनका लागि १९ वटा उद्योगसँग सम्झौता भैसकेको पनि उनले जानकारी दिए । सिमरा सेज र पाँचखाल सेजका लागि जमिन प्राप्त गरेर पुर्वाधार निर्माणको काम अघि बढाएको भट्टले बताए । पुर्व घोषित १४ सेजमध्ये अन्य क्षेत्रमा भने हालसम्म जमिन नै नपाएको गुनासो पनि उनको छ । सेजमा स्थापना हुने उद्योगमा विद्युत आपुर्ति सहज बनाउनुपर्नेमा उनले जोड दिए । सेज ऐनका अनुसार सेजमा स्थापना भएका उद्योगहरुले उत्पादनको २५ प्रतिशत मात्रै आन्तरिक बजारमा बिक्रि गर्न पाउनेछन् । उत्पादनको ७५ प्रतिशत भने निर्यात गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ ।