साढे २ अर्ब खर्चेर बन्दैछ राष्ट्र बैंकको नयाँ भवन, केन्द्रीय कार्यालय माघ २३ गते भत्काइने

काठमाडौं, २० मंसिर । महाभूकम्पले भत्किएको नेपाल राष्ट्र बैंकको भवन दुई अर्ब ५० करोड भन्दा बढी खर्चेर बनाइने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनःनिर्माणको जिम्मा लिएको राष्ट्र बैंकको केन्द्रिय कार्यालयको पुरानो भवन र थापाथली स्थित बैकिङ कार्यालयको भवन बनाउन सो रकम खर्च गर्न लागिएको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय रहेको भवन बनाउन एक अर्ब ५० करोड लाग्नेछ भने थापाथलीको भवन बनाउन एक अर्ब लाग्ने बताइएको छ । यी दुबै भवनको निर्माण पुनर्निर्माण प्राधिकरणले गर्नेछ भने खर्च राष्ट्र बैंकले व्यहोर्ने राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । महाभुकम्पका कारण केन्द्रिय बैंक भत्केपछि चाइनाको केन्द्रिय बैंकले भवन बनाउने प्रस्ताव गरेको थियो । त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि बनाइदिनको लागि प्रस्ताव मागेको थियो । तर तत्कालिन सरकारले आफैं बनाउने अडान कसेपछि यी निकाय पछि हटेका थिए । नयाँ भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केन्द्रिय बैंकको पुरानो भवन माघ २३ गते भत्काउने तालिका सार्वजनिक गरेको छ । भूकम्प गएको डेढ वर्षपछि मात्र पुननिर्माण प्राधिकरणले केन्द्रिय बैंक बनाउनका लागि भत्काउने काम प्रारम्भ गर्न लागेको हो । प्राधिकरणले सो भवनको नापजाँच गरिसकेको र अव काम सुरु गर्ने बताएको छ । केन्द्रिय बैंकको थापाथली शाखा पुनर्निर्माणका लागि गरिने सम्पुर्ण प्रकृया पनि पुरा भईसकेको छ । सो भवनको डिजाइन पनि फाइनल भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । केन्द्रिय कार्यालयको भवन कस्तो हुन्छ भन्ने चाही अहिलेसम्म फाइनल भएको छैन ।

एनसीसी र चारवटा विकास बैंक मर्ज हुन नेपाल राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति

काठमाडौं, १९ मंसिर । एनसीसी बैंकसँग चार वटा विकास बैंक मर्ज गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । आइतबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले एनसीसी, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकको मर्जरलाई प्रक्रियालार्इ अन्तिम स्वीकृति दिएको राष्ट बैंक स्राेतले बतायाे । यी बैंकहरुले गत साउन १७ गते मर्जरका लागि अनुमति माग्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिएका थिए । कात्तिक एक गतेदेखि नै संयुक्त कारोबार गर्ने लक्ष्यसहित अघि बढेको भएपनि नेपाल राष्ट्र बैंकले मर्जरका लागि अनुमति नदिएपछि ढिला हुँदै आएको थियो । मर्जपछि बैंकको नाम नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंक नै रहनेछ भने लोगो परिवर्तन गरिनेछ । । मर्जपछि एनसीसी बैंकबाट ४ जना, चारवटा विकास बैंकबाट एक/एक जना र एक जना विज्ञ सञ्चालक नियुक्त हुनेछन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा चार वटा विकास बैंक मर्ज हुँदा चुँक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।

सुन जस्तै धातुको ल्याब रिपोर्ट तीन दिन भित्रै, स्थानीयले सुनका गहना लगाई सकेः शेर्पा

काठमाडौं, १९ मंसिर । गत बिहिबार मेलम्ची खानेपानी आयोजनाको मुहान नजिकै फेला परेको पहेलो धातुको ल्याब रिपोर्ट तीन दिनपछि मात्रै आउने भएको छ । खानी तथा भुगर्भ विभागले तीन दिन लगाएर परिक्षण गरेपछि मात्रै सुन जस्तै देखिएको धातुको वास्तविकता पत्ता लगाउन सकिने बताएको छ । ‘ढिक्का थियो भने एक छिनमै तथ्य पत्ता लगाउन सकिन्थ्यो, तर परिक्षणका लागि प्राप्त नमुनामा चट्टान रहेछ, तीन दिनपछि मात्रै रिपोर्ट दिन सक्छौं’, खानी तथा भुगर्भ विभागका निमित्त महानिर्देशक राम प्रसाद घिमिरेले भने । आइतबार मेलम्ची खानेपानी आयोजना सरोकार समितिका पदाधिकारीहरुको उपस्थितीमा सुन जस्तै देखिने धातुको नमुना सार्वजनिक गरिएको हो । गाउँलेले सुनका गहना लगाई सके : शेर्पा मेलम्ची खानेपानी आयोजना सरोकार समितिका अध्यक्ष भालु शेर्पाले मेलम्चीका स्थानिय जनताले खानीबाट निस्किएको पहले धातु पगालेर गहना लगाईसकेको दावी गरे ।‘गाउँका सुनारले खानीबाट निस्केको धातु पगालेर सुनका गहना लगाईसकेका छन्’, आइतबार खानी विभागमा ल्याब परिक्षणका लागि नमुना बोकेर पुगेका शेर्पाले भने । विभागले भने ल्याब परिक्षण बिना केहि भन्न नसकिने स्पष्ट पारेको छ । विभागको ल्याबका प्रमुख शैलेश कुमार झाले भने–‘यो टेक्निकल कुरा हो, अनुमानका भरमा केहि भन्न सक्दैनौं, हामी ल्याब परिक्षण गरेपछि के हो पत्ता लगाउनेछौं ।’